विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
केही दिनअघि शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा सांसद सुनिल शर्मा पक्राउ परेपछि भूपु प्रधानमन्त्री केपी ओलीले पाकिस्तानमा इमरान खानलाई भ्रष्टाचारको आरोपमा जेल हालेकोे सन्दर्भ उल्लेख गरेर राजनीतिक प्रतिशोध भएको टिप्पणी गरेपछि धेरै सर्वसाधारण जनताको मनमा प्रश्न उठेको छ, के कुनै अपराधी राजनीतिज्ञलाई कारबाही गर्नु राजनीतिक प्रतिशोध हुन्छ ? कुनै पहुँच नभएका सर्वसाधारण जनतामात्र कारबाहीमा पर्ने हो त ?
सरकारबाट बाहिरिएपछि राजनीतिक व्यक्तित्वहरूलाई गलत काम गरेको आरोपमा सरकारले कारबाही गरेमा राजनीतिक प्रतिशोध भयो भनेर विपक्षले अर्को आरोप लगाउँछ । यता सर्वसाधारण जनता साँच्चै गलत काम गरेर कारबाही गरेको वा राजनीतिक प्रतिशोध नै हो भनेर बुझ्न अर्को माथापच्ची गर्नुपर्ने हुन्छ । सर्वसाधारण जनतालाई यस्तो रनभुल्लमा पार्न अदालतको मुख्य भूमिका हुन्छ । यदि अदालतले निष्पक्ष फैसला गरेको पृष्ठभूमि भएको भए जनताले पनि अदालतले गरेको फैसलामा पूर्ण सहमति जनाउँछन् । तर, अदालतका न्यायाधीशहरू सरकारको कार्यकर्ता जसरी सरकारकै पक्षमा फैसला सुनाउने र ‘बेन्च सपिङ’ को नामले बदनाम भएका न्यायाधीशहरूले भ्रष्टाचार गरेर फैसला सुनाउने चलन बनेको छ । हो, यस्तै कारणले यो राजनीतिक प्रतिशोध शब्दको प्रयोग हुन्छ ।
पाकिस्तानमा के भएको थियो ?
इस्लामावादको एक अदालतले पाकिस्तानका भूपू प्रधानमन्त्री इमरान खानले सत्तामा रहँदा विदेशी गन्यमान्य व्यक्ति र राष्ट्र प्रमुखहरूबाट प्राप्त उपहारबाट प्राप्त आम्दानी सरकारी ढुकुटीमा दाखिल नगरेको आरोप लगायो । केही उपहारमा साउदी युवराज सलमानले उनलाई दिएको एन्टिक घडी पनि समावेश थियो । पाकिस्तानमा नेताहरूले सत्ता छोडेपछि त्यस्ता उपहारहरू राख्नको निम्ति मूल्यको एक अंश तिर्नुपर्ने हुन्छ । खानले ती उपहारहरूमध्ये केही बेचे । तर, ती कमाइ गत वर्ष पाकिस्तानको निर्वाचन आयोगलाई दिएको प्रतिवेदनमा उल्लेख गर्न चुकाए । अदालतले खानलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनायो र उनलाई झन्डै ३५० डलर जरिवाना गर्नुका साथै पाँच वर्षको लागि राजनीतिबाट अयोग्य ठहरिएको सजाय सुनायो । उनले सबै आरोप अस्वीकार गर्दै आफू ‘राजनीतिक प्रतिशोध’ को सिकार भएको दाबी गरे । उनको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले वर्तमान सेनाप्रमुख र पूर्वप्रधानमन्त्री नवाज शरीफलाई उनीविरुद्ध राजनीतिक प्रतिशोध बनाएको आरोप लगाएको छ । कतिपय मानिसहरूले उहाँको भ्रष्टाचारविरोधी अडान र सैन्य प्रतिष्ठानको आलोचनाका कारण राजनीतिक प्रतिशोधमा परेको भनेका छन् । त्यसैगरी, सन् २०२२ मा युक्रेनविरुद्ध रुसी आक्रमणमा खानको तटस्थ अडानका कारण अमेरिकाकै पहलमा खानविरुद्धको अविश्वास प्रस्ताव आएको भनिन्छ । एक गोप्य सूचनाअनुसार एकजना पाकिस्तानी अधिकारी र दुई अमेरिकी विदेश विभागका अधिकारीहरू बिचको कुराकानीमा पाकिस्तानमा नेतृत्व परिवर्तनले दुई देशबिचको सम्बन्धमा सुधार ल्याउने उल्लेख थियो । समाचारले सन् २०२२ को फेब्रुअरीमा पाकिस्तान र रुसबिचको न्यानो सम्बन्धको सङ्केतको रूपमा हेरिएको खानको रुस भ्रमणबाट अमेरिका असन्तुष्ट भएको जनाएको थियो । खान आफैँले बारम्बार अमेरिकालाई पाकिस्तानको शक्तिशाली सैन्य प्रतिष्ठान र उनका राजनीतिक प्रतिद्वन्द्वीहरूसँग मिलेर सत्ताबाट हटाउने षड्यन्त्र गरेको आरोप लगाएका थिए । संसारभर प्रजातन्त्रको वकालत गर्ने संरा अमेरिका इमरान खानमािथको राजनीतिक प्रतिशोधबारे चुप हुनुबाट पनि यो कुरा पुष्टि हुन्छ । सामान्य हेराइबाट हेर्दा प्राविधिक गल्तीका कारण सजाय भोग्नुपरेका इमरान खानविरुद्ध कुनै ठोस मुद्दा थिएन । यी उल्लेखित तथ्यको आधारमा इमरान खानको गिरफ्तारी राजनीतिक प्रतिशोध नै हो भनेर किटान गर्न सकिन्छ । पाकिस्तानी भूपू प्रधानमन्त्री इमरान खानको यो सन्दर्भलाई जोडेर केपी ओलीले एकजना नक्कली प्रमाणपत्रधारी व्यक्तिलाई पक्रेको घटनालाई राजनीतिक प्रतिशोध भन्न हतार गर्नु उनको पदीय गरिमासँग मेल खाँदैन ।
के हो राजनीतिक प्रतिशोध ?
राजनीतिक प्रतिशोध भन्नाले आफ्नो राजनीतिक प्रतिद्वन्द्वी वा आलोचकहरूलाई लक्षित गरी हानि पु¥याउन व्यक्ति वा समूहद्वारा राजनीतिक प्रभावको दुरूपयोगलाई जनाउँछ । यसमा आफ्नै स्वार्थको लागि खतराको रूपमा हेरिनेहरूविरुद्ध सरकारी संस्थाहरू, कानुनी संयन्त्रको जानाजानी अनुचित प्रयोगको अभ्यास गरेको हुन्छ । यसमा राजनैतिक संवद्धताको आधारमा आफ्ना प्रतिद्वन्द्वीलाई कानुनी कारबाही र अनुसन्धान गरिन्छ । गलत कामको वस्तुगत प्रमाणको सट्टा राजनीतिक प्रतिशोधले राजनीतिक प्रतिद्वन्द्वीहरूको प्रतिष्ठालाई धमिलो पार्न आधारहीन मुद्दा, झूटा आरोप वा पक्षपातपूर्ण अनुसन्धानजस्ता कानुनी संयन्त्रहरूको प्रयोगको अभ्यास गरिन्छ । राजनैतिक प्रतिशोधमा संलग्न व्यक्तिहरूले आफ्नो निर्णयको आलोचना गर्नेहरूविरुद्ध आफ्नो शक्ति प्रयोग गरेर बदला लिन्छन् । यही व्याख्याको आधारमा अहिले सुनिल शर्माले प्रचण्डलगायत अन्य माओवादी नेताहरूलाई इङ्गित गरी सुनकाण्डको छानबिन हुनुपर्ने माग गरेकोले उनलाई यसरी फसाएको हुनसक्ने गाइँगुइँ पनि छ तर अर्कोतिर सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्रधारी मेडिकल माफिया हो भने ठोकुवा गर्ने पनि छन् । यसो हेर्दा एकजना घ्यु बेचुवा र अर्को तरबार बेचुवाको कथाको पात्रजस्ता छन्, यिनीहरू ।
राजनीतिक प्रतिशोधको अवधारणा व्यक्तिपरक पनि हुनसक्छ । राजनीतिक सन्दर्भ र व्याख्याको आधारमा भिन्न हुनसक्छ । एक पक्षले गलत कार्यविरुद्धको वैध कार्यको रूपमा हेरेको कुरालाई अर्को पक्षले राजनीतिकरूपमा प्रेरित आक्रमणको रूपमा हेर्न सक्छ । राजनीतिक प्रतिशोधले लोकतन्त्र, विधिको शासन र संस्थाहरूको कार्यप्रणालीमा प्रभाव पर्दा निष्पक्ष र न्यायपूर्ण शासन कमजोर बन्ने वास्तविकता पनि छ ।
इटालीको एउटा लोककथाको सानो अंश यो सन्दर्भसँग मिल्न आउँछ । राजा एउटी केटीलाई खुब मन पराउँछन् तर केटी अर्को केटालाई मन पराउँछिन् । पछि, केटीले मनपराएको केटा एक नुन व्यापारी भएको कुरा राजालाई थाहा हुन्छ । त्यसपछि ती केटाविरुद्ध राजनीतिक प्रतिशोध बनाउँदै राजाले नुनको व्यापारमाथि नै प्रतिबन्ध लगाउँछन् ।
अन्तमा, नेपालको सन्दर्भमा पालैपालो सरकारमा गएका राजनीतिक पार्टीका मान्छेहरूको आपराधिक प्रवृत्तिबाट आजित भएका हामी नेपाली जनतालाई त यिनीहरूबिच एकले अर्काेलाई कारबाही गर्दै गरेको देख्दा मन आनन्द हुन्छ चाहे कथित ‘राजनीतिक प्रतिशोध’ नै किन नहोस् । किनकि, यिनीहरू अपराधी हुन् भन्ने कुरा अदालतको निम्ति यथेष्ट प्रमाण नपुगे पनि नेपाली जनताको नजरमा अपराधी भइसकेका छन् ।
Leave a Reply