भर्खरै :

चेपाङहरूको स्वास्थ्य सेवा सुविधा कटौती किन ?

चेपाङहरूको स्वास्थ्य सेवा सुविधा कटौती किन ?

प्रजा (चेपाङ) जातिलाई भरतपुर सरकारी अस्पतालले दिँदै आएको सेवा सुविधा कटौती गरेको छ । साउन १ गतेदेखि लागु हुने गरी अस्पताल प्रशासनले जातको आधारमा भन्दा पनि बिरामीको आर्थिक अवस्था बुझेर, पालिकाको सिफारिसअनुसार स्वास्थ्य उपचारमा सेवा सुविधा दिने भनिएको हो ।
चेपाङ जाति चितवन, मकवानपुर, धादिङ, गोर्खा र तनहुँका एक आपसमा जोडिएका सिमानाहरूमा बसोबास गर्छन् । राज्यको पहुँचबाट यो जाति अझै टाढा छन् । रैथाने जातिको रूपमा चिनिने चेपाङ जाति शिक्षा, स्वास्थ्यबाट अझै टाढा छन् । बिरामी पर्दा अस्पताल जानुपर्छ भन्ने ज्ञान उनीहरुमा त्यति छैन । पैसा खर्च गरेर स्वास्थ्य उपचार गराउने क्षमता उनीहरुमा हुँदैन । भिरपाखामा खोरिया बारी खोस्रेर उब्जाएको अन्नबालीले तीन चार महिनालाई धान्न धौ धौ हुन्छ । बाँकी दिनहरू कुल्ली, ज्यामी काम गरेर उनीहरुले आफ्नो परिवार जेनतेन चलाउनुपर्छ । यस्तो अवस्थाको चेपाङ जातिलाई राज्यले दिँदै आएको स्वास्थ्य सेवा सुविधा भरतपुर अस्पतालले कटौती गर्नु भनेको अपराध गर्नुसरह हो । सरकार भनेको निमुखा गरिब जनताप्रति बढी उत्तरदायी बन्नुपर्दछ । चेपाङ जाति सिमान्तकृत समुदायअन्तर्गत पनि पर्दछ ।
अलि पैसा भएका चेपाङहरूले त बिरामी पर्दा निजी अस्पतालमा नै गएर उपचार गर्लान् । बल्लतल्ल अस्पतालसम्म आइपुग्न सक्ने चेपाङहरूलाई भरतपुर अस्पतालले निः शुल्करूपमा स्वास्थ्य उपचार गराउनुपर्दछ ।
यो एक महिनाको अवधिमा धेरै चेपाङहरूले आर्थिक समस्याको कारण स्वास्थ्य उपचार पाउन सकेका छैनन् । अस्पतालको यो निर्णयले बिरामी पर्दा धेरै पैसा खर्च हुनेछ । बिरामी पर्दा पैसा छैन भनी रोगलाई पालेर राख्न गरिब चेपाङहरू बाध्य हुनेछन् । चेपाङ जातिलाई उसको चिनारीको आधारमा सरकारी अस्पतालले उपचारमा सेवा सुविधा दिनुपर्ने चितवनका सचेत नागरिकहरूको बुझाइ रहेको छ । पहिले पाइरहेको स्वास्थ्य सुविधा चेपाङ जातिले सजिलैसँग पाउनुपर्दछ । सम्पूर्ण गरिब निमुखा बिरामीहरूले स्वास्थ्य उपचार निः शुल्करूपमा पाउनुपर्दछ । ठुलठुला धनी पँुजीपतिहरूले बिरामी पर्दा विदेशमा गएर भए पनि उपचार गराइहाल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *