वडा नं. ५ मा सुझाव सङ्कलन
- जेष्ठ १३, २०८३
भक्तपुर, ३१ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री हेमराज राईले आज भेट गर्नुभयो । भक्तपुरको विकास मोडल अध्ययन गर्ने सिलसिलामा भक्तपुर आउनुभएका सांसद राईसहितको टोलीले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्था, ख्वप अस्पताल, फोहोर व्यवस्थापन, सुशासन, शान्ति सुरक्षा आदिको विषयमा भइरहेको गतिविधिबारे नगर प्रमुखबाट जानकारी लिनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले टोलीलाई सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै भक्तपुर नगरपालिकाले संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको बताउनुभयो ।
भक्तपुरमा एनजीओ÷ आइएनजीओबाट हुने कामलाई न्यून गर्दै लगिएको बताउँदै उहाँले जनता र उच्चपदस्थ व्यक्तिहरूको मानसिकता बिगार्ने काम यी संस्थाहरूबाट हुँदै आएको बताउनुभयो ।
राजनीतिक पार्टीहरू सिद्धान्त र विचारको आधारमा चल्नुपर्ने धारणा राख्दै उहाँले इमानदारीता र नैतिकता नै राजनीतिक नेतृत्वको प्रमुख विशेषता हुनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले जीत हासिल गरेका स्थानीय तहहरूमा निर्वाचित प्रतिनिधिहरूले जनताको पक्षमा काम गर्दै आएको बताउँदै उहाँले विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न रु. ५ लाखसम्मका शैक्षिक ऋणको व्यवस्था, वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्ति तथा भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र, तर्कशास्त्र र नेपालभाषा पढ्ने नगरवासी विद्यार्थीहरूलाई पीएचडीसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएको विषय अवगत गराउनुभयो । “गरिबीको कारण कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुनुपर्ने छैन,” उहाँले भन्नुभयो ।
भेटमा भक्तपुरको विकास मोडलबारे धेरै सुनेको हुँदा यहाँको विकास र प्रगति प्रत्यक्षरूपमा हेर्ने उद्देश्यले भक्तपुर भ्रमणमा आएको उहाँले बताउनुभयो ।
शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत विषयलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले गर्दै आएको कामको प्रशंसा गर्दैै उहाँले स्थानीय तहहरू अधिकार सम्पन्न भए स्थानीय विकासमा धेरै टेवा पुग्ने बताउनुभयो ।
भेटमा नेकपा (एमाले) का केन्द्रीय सदस्य हरिबहादुर राई, भोजपुर–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष फुर्वा नेन्जिङ शेर्पालगायतको उपस्थिति थियो । प्रमुख प्रजापतिले सभासद् राईलाई भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो । तत्पश्चात् उहाँहरूले भक्तपुर नपाबाट सञ्चालित कलेज र अस्पतालको स्थलगत अवलोकन गर्नुभएको थियो ।
Leave a Reply