भर्खरै :

बादशाहको नयाँ लुगा (२)

बादशाहको नयाँ लुगा (२)

(चीनका एक प्रभावशाली लेखक यि शेङताओ (Ye Shengtao) को जन्म सन् १८९४ अक्टोबर २८ मा र निधन सन् १९८८ फेब्रुअरी १६ मा भएको थियो । उनी चीनको मई ४ को आन्दोलनताका स्थापित पहिलो साहित्य अध्ययन सङ्घका एक संस्थापक थिए ।
साहित्य जीवनको लागि (Literature is for Life) भन्ने दृढ मान्यता राख्ने शेङताओका विभिन्न पुस्तक प्रकाशित छन् । नाम चलेका शिक्षाविद् र प्रकाशक रहेका शेङताओ जनगणतन्त्र चीनका संस्कृति उपमन्त्री पनि भइसकेका थिए । यिनले एन्डरसनको ‘बादशाहको नयाँ लुगा’ मा थपेको कथा । सं.)
ह्यान्स एन्डरसनद्वारा लिखित ‘बादशाहको नयाँ लुगा’ भन्ने कथा धेरैले पढेको हुनुपर्दछ । कथामा सधैँ नयाँ नयाँ लुगा लगाउन मन पराउने त्यस बादशाहलाई दुई जना ठगहरूले ठगेका थिए । कुनै पनि मूर्ख व्यक्ति वा आफ्नो पदको निम्ति अयोग्य व्यक्तिले नदेख्ने चमत्कारपूर्ण लुगा बुन्न जानेको कुरा ती जुलाहा भनाउँदा ठगहरूले दाबी गरेका थिए । बादशाहबाट तुरुन्तै आफ्नो लागि त्यो नयाँ लुगा बनाउने हुकुम भयो । ती ठगहरूले कपडा बुन्ने, काट्ने र सिउने काम सुरु गरेजस्तो गरे । दुई तीन पटक बादशाहले आफ्ना मन्त्रीहरूलाई उक्त कार्यको प्रगतिबारे बुझ्न पठाए र तिनीहरूले बादशाहसमक्ष त्यो पोशाक साँच्चि नै राम्रो भएको कुरा बताए किनभने तिनीहरूले आफूलाई मूर्ख कहलाउने र आफ्नो पदमा अयोग्य ठान्न लगाउने खतरा मोल्ने साहस गरेनन् ।
लुगा तयार हुने दिनमा एउटा ठूलो उत्सव मनाई लुगा लगाउने बादशाहबाट इच्छा जाहेर भयो । लुगा तयार भयो । ती ठगहरूले बादशाहलाई आफ्नो पोशाक फुकाल्न बिन्ती गरे । अनि तिनीहरूले उनलाई त्यो नयाँ लुगा लगाउन साथ पनि दिए । मूर्ख र आफ्नो पदबाट अयोग्य भन्न लगाउन नचाहने बादशाहका सेवाहरूले त्यो लुगाको ठूलो प्रशंसा गरे । बादशाहले पनि आफ्नो सन्तुष्टिको सहमति जनाए र नाङ्गै यात्रा सुरु गर्न थाले ।
सडकमा बसिरहेका मानिसहरूबाट पनि बादशाहको त्यो नयाँ लुगाको खुबै प्रशंसा भयो । मानौँ, तिनीहरूले त्यो लुगा प्रस्टसितै देखेका थिए । किनकि, तिनीहरू पनि माथि भनिएझैँ मूर्ख कहलाउन चाहेका थिएनन् । एकजना निर्दोष केटोले झट्ट बोलिहाल्यो, “किन त्यो मानिसले केही लुगा नलगाएको ?”
यो कुरा हुलमा फैलिन थाल्यो । सबै मानिसहरू हाँस्दै ठूलो स्वरले कराउन थाले, ‘साँच्चिकै बादशाहले आफ्नो आङमा कुनै लुगा लगाएको छैन ।” यस कोलाहलबाट आफू ठगिएको कुरा बादशाहले चाल पाए । तर, उत्सव यात्रा हुँदै गरेको कारणले त्यसलाई रोक्न सकेनन् । तसर्थ, बादशाहले उत्सव यात्राको क्रमलाई जारी राख्न हुकुम दिए ।
त्यसपछि के भयो ? ह्यान्स एन्डरसनले बताएका थिएनन्, तर वास्तवमा कथामा अझ अरू धेरै कुरा बाँकी छ ।
केही नभएको जस्तो पारी बादशाहले उत्सव यात्रालाई अगाडि बढाउँदै लगे । त्यस प्रदर्शनीमा आफू पनि हास्यपात्र भइरहेको कुरा बादशाहको काल्पनिक पोशाकको पटुका समात्ने सेवकहरूलाई पनि राम्रो थाहा थियो । तर, मूर्ख कहलाउन नचाहेकाले हाँसो रोक्न तिनीहरूले आफ्नो ओठ टोक्न थाले । सबै अङ्गरक्षकहरूको आँखा भुइँमा थियो । किनभने, तिनीहरूका आँखा एकआपसमा जुधे, हाँसो छुट्ने निश्चित थियो ।
तर, सर्वसाधारण मानिसहरूलाई भने केही अप्ठ्यारो लागेन । तिनीहरूलाई आफ्नो ओठ टोक्नुपर्ने र आँखा भुइँमा राख्नुपर्ने अवस्था थिएन । यसर्थ, बादशाहले केही लगाएको छैन भन्ने कुरा फैलिएपछि तिनीहरू सबै होहल्ला गरी हाँस्न थाले ।
हाँस्दै एउटाले भन्यो, “नाङ्गै रहँदा बादशाह क्या राम्रा देखिन्छन् ।”
खित्का छोडेर हाँस्दै अर्कोले भन्यो, “बादशाहको होस गुमेको हुनुपर्छ ।”
ठट्टा गर्दै अर्कोले थप्यो, “दुब्लो पातलो, कस्तो बेबकुफ जन्तु ।”
फेरि अर्कोले थप्यो, “काँध र खुट्टा हेर्दा त बादशाह भुत्ल्याएको कुखुराजस्तो छ नि ।”
यी टीकाटिप्पणीबाट बादशाह अपमानित र क्रोधित भए । उनले उत्सव यात्रालाई रोकेर आफ्ना मन्त्रीहरूलाई झोकिँदै भने, “के तिमीहरूले ती मूर्ख तथा राजद्रोहीहरूले गरिरहेको होहल्ला सुन्यौ ? उनीहरूलाई किन चुप पार्दैनौ ? मेरो यो सबैभन्दा सुहाएको पोशाक हो र यो लगाउँदा मेरो राजसी प्रतिष्ठामा वृद्धि भएको छ । तिमीहरू सबैले यी नै कुरा भनेका होइनौ ? आजदेखि म यही लुगा मात्र लगाउँछु । मलाई नाङ्गो भनेर कसैले भन्ने साहस गर्छ भने त्यो षड्यन्त्रकारी र राजद्रोही हुनेछ र त्यसलाई समातेर मारिनेछ । मेरो यो नयाँ कानुन हो । यसलाई अहिल्यै घोषणा गरी दे ।”
मन्त्रीहरूले तुरुन्तै हुकुमको पालना गरे । बिगुल फुकेर मानिसहरू जम्मा गरी ठूलो स्वरमा त्यो ‘नयाँ कानुन’ को घोषणा गर्न तिनीहरूले नायखिं बाजा बजाउने दललाई आदेश दिए । केही समयको लागि हाँसो र ठट्टा बन्द भयो र बादशाहले उत्सव यात्रालाई अगाडि बढाउँदै लगे ।
धेरै टाढा जान पाएको थिएन, फेरि कानै खानेगरी जताततैबाट खिस्सी र हाँसो सुनिन थाल्यो ।
“बादशाह त नाङ्गो छ ।”
“कस्तो घीनलाग्दो जनावर ।”
“ठिग्रिङ्ग टाँसेको करङ्ग हेर त ।”
“कस्तो प्रकारको लुगा ।”
प्रत्येक टीकाटिप्पणी खित्का र हाँसोमा अन्त हुन्थ्यो । बादशाह फेरि क्रोधित भए । उनले आफ्ना मन्त्रीहरूलाई रिसाएर आँखा तर्दै गर्जेर भने, “के तिमीहरूले सुनेनौ ?”
“हामीले सुनेका छौँ, सरकार” थरथर काम्दै मन्त्रीहरूले उत्तर दिए ।
“मैले भर्खर बनाएको नयाँ कानुन के तिमीहरूले बिस्र्याै त ?” बादशाहको वाक्य टुङ्गिन नपाउँदै मन्त्रीहरूले ती हाँसो गर्ने र ठट्टा गर्ने सबैलाई समात्न सिपाहीँहरूलाई आदेश दिए ।
हाहाकार मच्चियो । सिपाहीँहरूले यताउति झम्टन थाले । भाग्ने कोसिस गरेका मानिसहरूलाई समात्न भालाको प्रयोग गरे । धेरै मानिस भुइँमा लडे । कोही अरूको शरीरमाथि कुल्चेर भागे । ठट्टा र हाँसोको सट्टामा अब चिच्याहट र रूवावासी सुनिन थाल्यो । करिब ५० जना मानिस समातिए । बादशाहको बोली नै कडा कानुन हुन्थ्यो र यसलाई कसैले हलुका बनाउनु हुँदैन भन्ने कुरा प्रजालाई देखाउन बादशाहले तिनीहरूलाई त्यही ठाउँमा फाँसी दिन हुकुम दियो ।
साँच्चै नै त्यसबेलादेखि बादशाहले केही लुगा लगाएन । अन्तपुर (स्त्री गृह) मा जाँदा र दर्शन भेट दिन बैठकमा जाँदा पनि उनी नाङ्गै जान थाल्यो । त्यहाँ बरोबर आफ्नो पोशाक सुमसुम्याउने कार्य हुन्थ्यो । बादशाहको त्यो दुब्लो पातलो घीनलाग्दो जीउ देखेर पहिले त उनका रखौटीहरू र भारदारहरू ठट्यौलीका रूपमा लिएका थिए । तर, बिस्तारै तिनीहरूले त्यो वाहियात गाईजात्रेलाई बिर्सेर पूरै लुगा लगाएको बादशाहका रूपमा हेर्न थाले । निश्चित रूपमा रखौटीहरू र भारदारहरूको निम्ति त्यस्तो गर्नु अत्यावश्यक थियो । किनभने, यदि तिनीहरूले त्यसो गरेनन् भने आफ्नो पदको साथै ज्यानसमेत पनि गुमाउनुपर्ने डर थियो । तर, तिनीहरू जतिसुकै होशियार र सावधान भए पनि एक न एक दिन बेहोसीमा उनीहरूमाथि ठूलो विपत्ति आउने सम्भावना थियो । यस्ता घटनाहरूमध्ये दुइटा तल दिइन्छ ।
एकदिन ती बादशाहको मनपर्ने एउटी रखौटीले उनको छेउमा उभेर उनलाई रक्सीपान गराइरहेकी थिई । तिनले रातो रक्सी कपमा थप्दै बादशाहको ओठसम्म लगेर उनलाई खुसी पार्ने कोसिस गरिरहेकी थिई । ‘पिइबक्सियोस्’ तिनले आफ्नो लोलोपोतो (खुसामदी) भाषामा भनी– “हजुर, चिरायू रहुन् ।”
खुसी भई बादशाहले रक्सी पिउन थाले तर ऊ चाँड–चाँडो पिउँथ्यो । त्यसकारण, उनलाई खोकी लाग्यो । खोक्दा रक्सी पोखेर उनको छातीमा लाग्यो ।
“ओहो, सरकारको छातीमा फोहर लागेछ ।”
“के रे ? मेरो छाती रे ?”


त्यो मनपर्नेे रखौटीको राम्रो अनुहार निलो फुस्रो भयो । तिनले आफ्नो भूल भएको महसुस गरी । “होइन, सरकारको छातीमा होइन” थरथर कामेको स्वरमा भनी, “सरकारको पोशाकमा फोहर लागेछ ।”
“तैँले त मेरो छातीमा फोहर लागेको कुरा भनेकी थिइस् । मैले केही लुगा लगाएको छैन भन्ने कुरा जस्तो भएन र यो ? मूर्ख, तँ राजद्रोही हो र तैले मेरो कानुनको अपमान गरिस् ।” बादशाहले हुकुम दिए, “यसलाई प्राणदण्ड दिनू ।” सेवकहरूले तिनलाई घिसार्दै लगे ।
अर्को एउटा उदाहरण एकजना विद्वान मन्त्री थिए । अरूले झैँ उनले पनि आफूलाई उही बानी बसालेका थिए । तर, बादशाहको दर्शनभेट हुँदा गद्दीमा बसेका नाङ्गो व्यक्तिलाई ‘बादशाह’ भन्न अनि अस्वाभाविक भएको उनलाई अनुभव हुन्थ्यो । बरु उनलाई ‘बहुला बाँदर भन्नु उचित हुन्थ्यो । एक न एक दिन त अवश्य आफू पनि गल्तीमा पर्न सक्ने र कुनै समय आफ्नो पनि हाँसो छुट्न सक्ने कुराको डर उनलाई पनि थियो । यदि त्यसो भएमा आफ्नो ज्यान जाने कुरा उनलाई राम्ररी थाहा थियो । तसर्थ, आफ्नी बुढीआमाको हेरविचार गर्न घर जानुपर्ने निहुँ राखेर आफ्नो सेवाबाट अवकाश पाउनको निम्ति उनले बादशाहसमक्ष बिन्ती चढाए ।
“हुन त म राजीनामाको स्वीकृति दिन चाहन्नँ । तर, आफ्नी आमाको सेवा गर्ने इच्छा गरेको एउटा आज्ञाकारी छोराको अनुरोधलाई म स्वीकृत गर्दछु ।” बादशाहले यति भनेर उनलाई आफ्नो सेवाबाट अवकाश पाउने अनुमति दिए ।
ती मन्त्री बादशाहलाई धन्यवाद दिएर गए । भयङ्कर बन्धनबाट भर्खर मुक्त भएको महसुस गर्दै उनी भुतभुताउँदै गए, “भगवान्को जय होस्, अबदेखि मैले त्यस नाङ्गो बादशाहलाई हेर्नुपर्ने छैन ।”
उनले भनेको कुरा स्पष्ट नभएकोले बादशाहले आफ्ना सेवकहरूसित सोधे, “उसले के कुरा भनेको हँ ?”
मन्त्रीले भनेझैँ गरी बताउन नसके पनि ती अनुचरहरूले साँचो कुरा भनिदिए ।
“ए ….. मलाई हेर्न नचाहेर पो तैँले राजीनामा माग्या ? हँ ?” गर्जँदै बादशाहले भने, “तैँले मेरो कानुनको अपमान गरिस् । अब म तँलाई घर जान दिन्न ।” तुरुन्तै बादशाहले त्यस मन्त्रीलाई घिसार्दै लगेर फाँसी दिन हुकुम दिए ।
त्यसपछि अन्तःपुरमा होस् वा दर्शनभेट दिने बैठकमा होस्, कानुन उल्लङ्घन हुने कुरामा सबै सावधान हुन थाले ।
सर्वसाधारण जनतालाई भने रखौटी र भारदारहरूलाई जस्तो अप्ठ्यारो थिएन । जुनबेला बादशाहलाई भेटे पनि तिनीहरूले उनको चेपारे दुब्लो पातलो शरीर देख्दथे । तिनीहरू उनलाई ठट्टा गर्न र गिज्याउन छोड्दैनथे । फलतः नृशंस हत्या हुँदै गयो । एकैदिनमा बादशाहले ३ सय मानिसहरूको बलि दिए । अर्को एकदिनमा फौजको निरीक्षण गर्दा ५ सय जना मारिए । राजधानीमा एकपटक शाही भ्रमण हुँदा मात्र बादशाहलाई गिज्याउने १ हजारभन्दा बढी मानिसहरू मारिए ।
एउटा दयालु बुढो मन्त्रीले यस्ता निर्मम हत्या रोक्नुपर्ने विचार गरे । तर, बादशाहले भने आफ्नो गल्तीलाई कहिल्यै स्वीकारेनन् । बादशाहले गल्ती गरे मानिसहरू आफैँ गम्भीर सङ्कटमा पर्दथे । त्यस बूढो मन्त्रीले विचार गरे कि यदि राजालाई फेरि अर्को लुगा लगाउने उपाय पत्ता लगाउन सकिएमा अवश्य पनि ठट्टा र हाँसोको साथै त्यस्ता हत्याको पनि अन्त हुने थियो । सबैभन्दा राम्रो र सुरक्षित उपाय पत्ता लगाउन उनले धेरै रात नसुतिकनै सोचे ।
अन्तमा, उनले एक जुक्ति निकाले र बादशाहलाई भेट्न दरबारमा गए । उनले बिन्ती चढाए, “राजभक्त प्रजाको हैसियतले म सरकारसमक्ष सल्लाह प्रस्तुत गर्न चाहन्छु । मलाई आशा छ, सरकारले यसलाई स्वीकार गरिबक्सनेछ । नयाँ र भव्य पोशाकको पहिरनले सरकारको गौरव र प्रतिष्ठाको वृद्धि हुने देखिन्छ । तर, सरकारले केही दिनदेखि नयाँ लुगा लगाइबक्सेको छैन सायद राजकाज चलाउने कार्यमा व्यस्त होइबक्सेकोले यतातिर सरकारबाट ध्यान पुयाउन सकिबक्सेन होला । सरकारले पहिरिबक्सेको पोशाकको रङ्ग उडिसकेको छ । नयाँ लुगा सिउन सुचीकारहरूलाई हुकुम दिइबक्सियोस्, सरकार ।”
“लुगाको रङ्ग उड्यो रे ?” हातले जीउमा छोएर बादशाहले आफ्नो ‘पोशाक’ हेर्दै भन्यो– “वाहियात, यी त जादुगरी लुगा हुन् बुझिस् ? यसमा कहिल्यै रङ्ग उड्दैन । म अरू कुनै पनि लुगा लगाउँदिन भनेको कुरा के तैले सुनेको थिइनस् ? तँ मलाई यी लुगा फुकाल्न लगाएर कुरूप भएको देख्न र अभागी बनाउन चाहन्छस् । भयो, धेरैकालसम्म तैँले गरेको सेवा र तेरो बुढ्याइँको कारणले म तँलाई फाँसी दिन्न । तर, तैँले तेरो बाँकी जीवन जेलमा बिताउनुपर्नेछस् ।”
व्यर्थै त्यस बूढो मन्त्रीले कष्ट भोग्नु प¥यो र पहिले जस्तो हत्या जारी नै रह्यो । तर पनि बादशाहलाई देखेर मानिसहरूले हाँसो थाम्न सकेनन् । यसले गर्दा राजाको कञ्चट झनै तताइदियो । तसर्थ, उनले झनै कडा कानुन बनायो । उनले हुकुम दियो कि आफू जहाँ गए पनि मानिसहरू चुप लाग्नुपर्दछ । कसैले केही कुरा बोल्यो भने पनि त्यस व्यक्तिले अपराध गरेको मानिनेछ र उसलाई फाँसीको सजाय दिइनेछ ।
बादशाहको त्यस नयाँ कानुनको घोषणाले सबै इमानदार मानिसहरूले अचाक्ली हुँदै गएको महसुस गरे । ठीक छ, बादशाहलाई गिज्याउनु ठीक होइन तर अरू नै विषयमा कुरा गर्ने मानिसहरूलाई किन मार्नुपथ्र्याे ? त्यसकारण, तिनीहरू दरबारमा गएर बादशाहलाई बिन्ती चढाई कुरा भन्न घुँडा टेके ।
बादशाह बाहिर आए र हप्काउँदै भने, “तिमीहरू यहाँ केका निम्ति आएका ? के विद्रोह गर्न आएका हौ ?”
ती इमानदार नागरिकहरूले आफ्नो शिर उठाउने साहस गरेनन् तर हत्तपत्त जवाफ दिए “अहँ, होइन सरकार, सरकारले हामीलाई गलत सोचिबक्स्यो । हाम्रो त्यस्तो कुनै मनसाय छैन सरकार ।” बादशाहले आफूलाई एक पुरुषार्थी ठानेर झन् फूर्ति लाउँदै आफ्नो अदृश्य लुगाको शान देखाएर भने, “केका निम्ति आएका त ?”
हामी हाम्रो कुरा गर्ने र हाँस्ने स्वतन्त्रता फिर्ता पाउन सरकारसँग बिन्ती चढाउन आएका हौँ । सरकारको द्रोह गर्ने र गिज्याउने अवश्य पनि खराब मानिस हुन् र तिनीहरूलाई मार्नुपर्दछ पनि । तर, हामी सबै सरकारका भलोचिन्तक र इमानदार नागरिक हौँ । सरकारले घोषणा गरिबक्सेको नयाँ कानुन रद्द गरिबक्सन हामी अनुरोध गर्छौँ, सरकार ।”
“तिमीहरूले कसरी स्वतन्त्रता पाउन सक्छौ ?” बादशाहले सोधे, “यदि तिमीहरू स्वतन्त्रता चाहन्छौ भने तिमीहरू मेरा प्रजा हुन सक्तैनौ । यदि तिमीहरू मेरा प्रजा हुन चाहन्छौ भने तिमीहरूले मेरो कानुनलाई मान्नैपर्छ । हो, मेरा कानुन कडा छन् । यसलाई हटाउने ? यो कदापि हुन सक्तैन ।” यति भनी बादशाह आफ्नो दरबारभित्र फर्केर गयो ।
ती सोझा नागरिकहरूले अरू केही भन्ने साहस गरेनन् । बिस्तारै तिनीहरूले आफ्नो टाउको उठाएर हेर्दा बादशाह गइसकेका थिए । अब केही हुँदैन भन्ने सोचेर तिनीहरू सबै आ–आफ्नो घर फर्के । त्यसपछि तिनीहरूले बादशाह बाहिर आउँदा आफ्नो झ्यालढोका थुनेर बाहिरबाट आफूलाई नदेख्ने गरी बस्ने एउटा नयाँ युक्ति अपनाए ।
एकदिन बादशाह आफ्ना मन्त्रीहरू र रक्षक दलहरूसित आफ्नो कोतघरको निम्ति प्रस्थान ग¥यो । तिनीहरू गइरहेको बेला सबै बाटो सुनसान थियो र दुवैतिर घरका सबै झ्यालढोका बन्द थिए । तिनीहरूले आफ्ना खुट्टा भुइँमा बज्रिएको आवाज मात्रै सुने । यसर्थ, तिनीहरूले चुपचापसित गइरहँदा पनि राति फौज मार्च गरिरहेको जस्तै अनुभव गरे ।
अचानक बादशाह रोकिए र कान थापेर सुनिरहे । उनले मन्त्रीहरूलाई गर्जँदै भने, “तिमीहरूले सुनेनौ ?” मन्त्रीहरूले पनि आफ्ना कान ठाडो पार्न थाले ।
एकजनाले जवाफ दियो, “हो सरकार, बच्चा रोइरहेछ ।”
अर्कोले दोहो¥यायो, “एक आइमाई गाइरहेछ ।”
फेरि तेस्रोले भन्यो, “त्यसले रक्सी खाएको होला, हाँसिरहेछ ।”
ती कुरालाई आफ्ना मन्त्रीहरूले त्यस्तो किसिमले हलुका बनाइरहेको देखेर बादशाहले रिसाउँदै भने, “के तिमीहरूले मैले बनाएको नयाँ कानुन बिस्र्यौ ?”
मन्त्रीहरूले सिपाहीँ तथा रक्षक दलहरूलाई चिच्याउँदै आदेश दिन थाले, “सबै घरहरू फोड, बूढो होस्, बच्चा, जवान होस् या आइमाई सबैलाई गिरफ्तार गर । ती सबैलाई मारिदेऊ ।”
तर, बिल्कुलै नसोचेको कुरा त्यहाँ भयो । सिपाहीँ तथा रक्षक दलहरूले ढोकाहरू फोर्नासाथै लोग्नेमान्छे, आइमाई र केटाकेटीहरूको हुल बाहिर हुत्तिएर आए । तिनीहरूलाई धक्का लाउँदै अगाडि गएर बादशाहको शरीरमा आफ्ना हातका नङहरूले चिथोर्दै कराउन थाले, “त्यस अदृश्य लुगा च्यातिदेऊ ।”
अत्यन्त हाँसो र आश्चर्यलाग्दो दृश्य त्यहाँ देखियो । लोग्नेमानिसहरूले बादशाहको चाउरिएको पाखुरा समातेर निमोठ्न लागे । आइमाईहरूले उनको कालो खैरो छातीमा आफ्ना औलाहरूले तबला बजाउन थाले । दुईजना केटाकेटीहरू उफ्रदै आफ्ना कलिला हातले बादशाहको काखीको रौँ लुछ्न थाले । बादशाह त्यस घेराउबाट भाग्न सकेनन् । तिनीहरूको त्यो सजायबाट मुक्त हुन दुम्सीले झैँ बादशाहले यताउति घुम्ने र छेक्ने गरे तर सकेनन् । आफ्नो काखीको रौँ लुछिएको कारणबाट भएको घाउले उनलाई चिलचिलाएर सहनै नसक्ने तुल्याइदियो । तैपनि, उनले आफ्नो जीउले काखीलाई दबाउने प्रयत्न गरी नै रहे । त्यो अग्नि परीक्षाबाट उनी उम्कन सफल भएनन् । उनले आफ्नो टाउकोलाई आफ्नो कुमले छोपे । बादशाहको रुवाइ र दाँत ङिच्याइले मानिसहरूलाई झन् रमाइलो पारिरहेको थियो ।
मानिसहरूको घरबाट निस्कँदा रक्षक दलहरूले बादशाहलाई अरिँगालले टोकेको बाँदरझैँ देखिएको हाँसोलाग्दो दृश्य देखे । आफूले देखाउनुपर्ने आदर र सम्मान बिर्सेर तिनीहरू पनि सबै हाँस्न थाले । सर्वप्रथमत मन्त्रीहरू यो दृश्य देखेर तर्सेका थिए तर पछि तिनीहरू पनि बादशाहलाई गिज्याउँदै हाँस्न थाले ।
तिनीहरू सबै हाँसोमा सम्मिलित भइरहँदा उनीहरूलाई आफूले बादशाहको कानुन भङ्ग गरिरहेको र गिरफ्तार हुनसक्ने भएको कुरा महसुस भएन । यसअघि मानिसहरूले बादशाहलाई गिज्याउँदा तिनीहरूलाई दण्ड दिन मद्दत गर्ने ती मन्त्रीहरू नै थिए । तर, अहिले तिनीहरू आफैँ पनि त्यस हाँसोमा सम्मिलित थिए । बादशाहको जीउभरि काला र निलडामहरू बसे । पानीमा भिजेको कुखुराझैँ उनी कठ्याङ्ग्रिए । यो एउटा सा¥है नै रमाइलो दृश्य भयो । हाँसो उठ्ने कुरामा मानिसहरू हाँस्नै नपाउने कानुन बनाएका थिए । उनको कानुन सा¥है नै हास्यास्पद थियो । त्यसपछि ती मन्त्रीहरू र सिपाहीँहरू पनि जनतासँगै चिच्याउन थाले, “तिम्रो अदृश्य लुगा फुकाल, लुगा फुकाल ।” आफ्ना मन्त्री, रक्षक दल तथा सिपाहीँहरू सबै जनतासँग मिल्न गएको देखेर बादशाह डरले ढलमलिन थाले । उनलाई यतिको चोट प¥यो कि एउटा ग¥हौँ घनले टाउकोमा हानेको जस्तो भयो र उनी मुर्छा भएर भुइँमा लडे ।
अनुवाद : प्रसाद बासुकला
‘पञ्चायत’, वर्ष २, अङ्क ६, २०४१ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *