भर्खरै :

महिलाहरू हरेक क्षेत्रमा अगाडि नबढेसम्म समाज अगाडि नबढ्ने

महिलाहरू हरेक क्षेत्रमा अगाडि नबढेसम्म समाज अगाडि नबढ्ने

भक्तपुर, २ भदौ । “पुरूषसँगै महिलाहरू हरेक क्षेत्रमा अगाडि नबढेसम्म समाज अगाडि बढ्न सक्दैन ।”
उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप बचत तथा ऋण सहकारी संस्थाका महिला उपसमितिद्वारा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले हाल विद्यालय र कलेजहरूमा महिलाहरूको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको तथ्याङ्कले केही दशकपछि हरेक क्षेत्रमा महिलाको नेतृत्वको सङ्केत गरेको बताउँदै महिला र पुरूषबिच समानता शब्दमा होइन व्यवहारमा ल्याउन शिक्षालाई जोड दिनुपर्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले शिक्षालाई जोड दिने नीति लिएकै कारण भक्तपुरमा परिवर्तन आएको बताउँदै उहाँले घर–घरमा स्नातक अभियानको लक्ष्य पूरा हुन लागेको बताउनुभयो ।
उहाँले भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा व्यवस्थित कार्य गरिहेको हुँदा भक्तपुर सबैको निम्ति आकर्षणको केन्द्र बन्दै गएको छ भन्नुभयो ।
भक्तपुरलाई धेरैले नमुनाको रूपमा लिने गरेको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुरलाई सबै क्षेत्रमा अगाडि बढाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
संस्थाका महिला उपसमितिका संयोजक रामलक्ष्मी लघुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सल्लाहकार बालमुकुन्द बासुकला, कुमार लघु, वडा अध्यक्ष हरिप्रसाद बासुकला, महिला वडा सदस्य मञ्जुमैया लाखा, संस्थाका अध्यक्ष राजकुमार लघु, कोषाध्यक्ष अमर बासुकला, रोजिना ब्याञ्जू, बबिमैयाँ लघु र रितामैया सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *