भर्खरै :

जनताको भाषा र संस्कृति रहेन भने देशको पहिचान नरहने

जनताको भाषा र संस्कृति रहेन भने देशको पहिचान नरहने

भक्तपुर, ६ भदौ । त्रिचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सफलतापूर्वक सम्पन्न गर्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा बुधबार वडावासीहरूको भेला भयो ।
भेलामा अध्यक्ष बिजुक्छेँले पुर्खाले सिर्जेको कला–संस्कृतिलाई सम्पत्तिको रूपमा जीवन्त राख्न तःमुंज्याको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै जनताको भाषा र संस्कृति रहेन भने हाम्रो पहिचान पनि नरहने बताउनुभयो ।
“विद्यालय, टोल, दाफा, भजनले नयाँ पुस्तालाई स्थानीय गीत–सङ्गीत, बाजा, जात्रा, पर्व र संस्कृतिबारे प्रशिक्षण गर्दै लग्न सकेमात्र भक्तपुरको कला–संस्कृति सदा जीवन्त रहिरहनेछ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरसफाइ, स्वास्थ्य, शिक्षा, संस्कृतिमा राम्रो भएको भक्तपुरमा ज्येष्ठ नागरिकको लागि आदर निकेतनको बन्दोबस्त गर्न सके अझ राम्रो हुनेछ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले तःमुंज्या जनताको भाषिक, सांस्कृतिक तथा साहित्यिक आन्दोलन रहेको बताउनुभयो ।
कामदार जनताको दुःख कामदार जनताका साहित्यकारले नै लेख्नुपर्ने धारणा राख्दै उहाँले तःमुंज्या कामदार जनताको विचार अभिव्यक्ति दिने दबु भएको बताउनुभयो ।
तःमुंज्या सांस्कृतिक आन्दोलनको पुनर्जागरणको सिलसिला हो, यो वर्गीय चेतनाको द्योतक पनि हो, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले तःमुंज्याले सामाजिक चेतना र सरसफाइको सन्देश दिन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
तःमुंज्या आयोजक समितिका सल्लाहकार हिमालयश्वरलाल मूलले आफ्नो खुट्टामा उभिन सक्नेले मात्रा भाषा र संस्कृतिलाई जीवित राख्न सकिने भएकोले तःमुंज्याले ‘जनता म्वासा भाषा म्वाइ’ को नारा उठाएको हो भन्नुभयो ।
वर्गीयरूपमा सचेत जनताले मात्र भाषाको संरक्षण गर्न सक्ने धारणा उहाँले राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष बलराम सिबन्जारको सभापतित्वमा भएको उक्त भेलामा भनपा वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, केपी आचार्यलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *