भर्खरै :

राज्यस्तरको षड्यन्त्र भक्तपुर काण्ड घटना अघि र पछि – १

राज्यस्तरको षड्यन्त्र भक्तपुर काण्ड घटना अघि र पछि – १

५ भदौ, २०४५ (२१ अगस्ट १९८८) को दिन अर्थात् भूकम्पको तत्कालै भक्तपुर नगर पञ्चायतको प्रधानपञ्च आशाकाजी बासुकलाको अध्यक्षतामा भूकम्प पीडित सहयोग समिति गठन गरी रु. दुई लाख रुपियाँ सहयोग पु¥याउने निर्णय ग¥यो र रु. दस हजार रुपियाँ तुरुन्तै निकासा पनि दियो । साथै भूकम्प पीडितहरूको निम्ति प्रयोग गर्न काठमा लाग्ने नगर पञ्चायत दस्तुर पनि मिनाहा ग¥यो । त्यस निर्णयले भक्तपुर नगर पञ्चायतको तदारुकतामा, जनताप्रतिको जिम्मेवारी र पुनः निर्माणको निमित्त नगर पञ्चायतले तत्काल दिन सक्ने र दिन हुने काठको दस्तुर घटाउने सहुलियत पनि प्रदान ग¥यो ।
६ भदौको दिन मात्रै प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको अध्यक्षतामा श्री ५ को सरकारले केन्द्रीय भूकम्प उद्धार तथा पुनस्र्थापना कोष गठन ग¥यो ।
तर, त्यस बेलासम्म भूकम्प पीडित जनताको उद्धार कार्य र घरहरूको पुनः निर्माणको निम्ति सजिलो र सस्तो मूल्यमा काठ–पात उपलब्ध गराउने कुनै नीति श्री ५ को सरकारले लिन समर्थ भएन ।
७ भदौको दिन भक्तपुर जिल्ला पञ्चायतको सङ्कटकालीन बैठक बसेर जिल्ला पञ्चायतको उप–सभापति गौरीमान सिंह थापाको अध्यक्षतामा जिल्ला भूकम्प पीडित उद्धार समिति गठन गरेको र जिल्ला पञ्चायतले त्यस समितिलाई मात्र रु. ५ हजार प्रदान गरेको कुरा गोरखापत्रले जनायो ।
समाचारमा ‘अस्ति’ शब्दको प्रयोग गरिएको छ । त्यसको अर्थ सम्भवतः भक्तपुर जिल्ला पञ्चायतको सङ्कटकालीन बैठक पनि ५ भदौकै दिन भएको हुनुपर्छ । त्यस उद्धार समिति जिल्लामा पञ्चायत सदस्यबाहेक भू.पू. सैनिक सङ्गठनका जिल्ला सभापति, भक्तपुर नगर पञ्चायतका प्रधानपञ्च, भक्तपुर प्रशासकीय अधिकृत, जिल्ला रेडक्रसका सभापति, परोपकार सङ्घ र जिल्ला स्काउटका प्रतिनिधि तथा स्थानीय विकास अधिकारी सदस्य सचिव थिए । ध्यान दिनुपर्ने कुरा के हो भने त्यस समितिमा कर्ण ह्योजु सदस्य थिएनन् ।
चन्दा सङ्कलन व्यवस्था
८ भदौको दिन भूकम्प पीडित क्षेत्रमा उद्धार तथा पुनस्र्थापना कार्यका लागि चन्दा सङ्कलन गर्ने काममा दोहोरोपन नहोस्, कार्य व्यवस्थितरूपमा होस् भन्ने दृष्टिकोणले चन्दा सङ्कलनमा सहयोग गर्न चाहने सङ्घ–संस्थाहरूले गर्नुपर्ने कार्यका सम्बन्धमा केन्द्रीय भूकम्प उद्धार तथा पुनस्र्थापना कोषले नयाँ व्यवस्था ग¥यो ।
चन्दा सङ्कलन गर्न अञ्चलाधीश वा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति र चन्दा सङ्कलन गर्ने क्षेत्र, मिति र समय किटान गर्न समेत सूचना प्रकाशित ग¥यो । त्यस सूचना अनुसार सङ्कलन गरेको रकम केन्द्रीय भूकम्प उद्धार तथा पुनस्र्थापना कोषको नाममा स्थानीय बैङ्कमा जम्मा गर्नुपर्ने र सङ्कलित चन्दाको विवरण अञ्चलाधीश वा प्रमुख जिल्ला अधिकारीलाई दिनुपर्दछ ।
केन्द्रीय भूकम्प उद्धार, पुनस्र्थापना कोषमा चौध सदस्यहरू अञ्चलाधीश वा प्रमुख जिल्ला अधिकारीले प्राप्त हुन आएको चन्दाको विवर ण सम्बन्धित क्षेत्रको जन–साधारणको जानकारीको लागि प्रकाशित गर्नुपर्नेछ ।
त्यस ‘नयाँ व्यवस्था’ अनुसार भक्तपुर जिल्ला उद्धार समितिले उठाएको चन्दा केन्द्रीय उद्धार समितिमा पठाउने र उद्धार सामग्री वितरण प्रधानपञ्चहरूमार्फत गर्ने निर्णय गरेको थियो । सो निर्णयको जानकारी भक्तपुर नगर पञ्चायतलाई पनि दिएको बताइयो ।
केन्द्रीय भूकम्प उद्धार पुनस्र्थापना कोषमा चौध सदस्यहरू
८ भदौको दिन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको अध्यक्षतामा गठित केन्द्रीय भूकम्प उद्धार तथा पुनस्र्थापना कोषमा सदस्य सचिवलगायत १४ सदस्यहरू छन् । कोषका सदस्यहरूमा परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री, आवास तथा भौतिक योजना मन्त्री, अर्थमन्त्री, गृहराज्यमन्त्री, नेपाल राष्ट्र बैङ्कका गभर्नर तथा मुख्य सचिव छन् ।
कोषका अन्य सदस्यहरूमा राष्ट्रिय पञ्चायत सामाजिक समितिका सभापति, राष्ट्रिय पञ्चायतका आर्थिक समिति सभापति, नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्का सदस्य सचिव र नेपाल रेडक्रस सोसाइटीका महामन्त्री छन् । कोषका सदस्य सचिवमा गृह सचिव हुने कुरा पनि प्रधानमन्त्रीको कार्यालयबाट थाहा भएको थियो ।
गोरखापत्र ९ भदौ २०४५


विभिन्न सङ्घ संस्थाका कर्मचारीबाट भूकम्प पीडितका निम्ति सहायता
९ (२५ अगस्ट १९८८) भदौका दिन राहत कार्य सञ्चालनको निम्ति भक्तपुर जिल्ला पञ्चायतका सभापति सुरेन्द्रप्रताप शाहको अध्यक्षतामा नौ सदस्यीय एक उद्धार उपसमिति पनि गठन गरियो ।
त्यस उपसमितिमा रा.प.स. गोविन्द दुवाल, भू.पू. रा.प.स. मदनकृष्ण हाडा, प्रमुख जिल्ला अधिकारी, शाही वीरेन्द्र सैनिक शिक्षालयका प्रतिनिधि, प्रहरी प्रतिनिधि, प्रधानपञ्च (नगर पञ्चायत) र स्थानीय अधिकारी पनि सदस्य थिए ।
अन्य सल्लाहकारहरूमा रा.प.स. विद्यादेवी देवकोटा, श्रीधर शमशेर ज.ब.रा. र श्रीमती मन्दिरा श्रेष्ठ थिए ।
जिल्ला पञ्चायतको उपसभापति गौरीमान सिंह थापाको अध्यक्षतामा गठन भएको जिल्ला भूकम्प पीडित उद्धार समितिमा जस्तै ९ भदौको दिन जिल्ला सभापति सुरेन्द्र प्रताप शाहको अध्यक्षतामा गठित ९ सदस्यीय उद्धार उपसमितिमा पनि कर्णप्रसाद ह्योजु सदस्य थिएनन् ।
९ भदौको घटनाबारे ११ भदौको गोरखापत्रले एक समाचार दियो, त्यसको शीर्षक थियो– ‘भू.पू. रा.प.स. ह्योजुको हत्या : ३५ हिरासतमा’, राससको १० भदौको त्यस रिपोर्टिङमा एक शोक प्रस्ताव स्वीकृत गरेको कुरा उल्लेख गरिएको थियो । गोरखापत्रमा लेखिएको छ –
राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीको अनुमतिले राष्ट्रिय पञ्चायतको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै गृह राज्यमन्त्री निरन्जन थापाले गत भदौ ५ गते भएको भूकम्पबाट पीडित भक्तपुरका व्यक्तिहरूको उद्धारका लागि हिजो भदौ ९ गते किराना खाद्य संस्थान काठमाडौँले चामल, दाल, क्वाँटी बाँड्ने सिलसिलामा विभिन्न विद्यालयहरूमा राखिएका पीडित परिवारहरूलाई विद्यालयमा गई कुपन बाँड्ने र सोही कुपनको आधारमा उक्त किराना खाद्यले दिने क्रम सुरु गरेपछि उक्त वितरणमा पक्षपात भयो भनी अनावश्यक बखेडा खडा गरी उद्धार कार्यमा सहयोग गरिरहेका भूतपूर्व रा.प.स. कर्णप्रसाद ह्याजुलाई सूर्योदय माध्यमिक विद्यालय हनुमानघाटमा राखिएको क्याम्पबाट एक्कासि त्यहाँ एकत्रित भिडले लछारपछार गर्दै त्यसमध्ये केही व्यक्तिहरूले पिट्न थालेको घटनाको खबर प्राप्त हुनासाथ तुरुन्त प्रहरीहरू पुगी कर्णप्रसाद ह्योजुलाई भिडबाट छुटाई उपचारका लागि वीर अस्पतालमा पु¥याइएको कुरा बताउनुभयो ।
श्री ह्योजुको यथासम्भव उपचार हुँदाहुँदै हिजो राति ११ः४५ बजे मृत्यु हुन गएको र उहाँसँगै घाइते भएका उत्तमबहादुर श्रेष्ठको उपचार भइरहेको कुरा पनि गृह राज्यमन्त्रीले सदनलाई बताउनुभयो ।
यसैबिच प्राप्त समाचार अनुसार भूतपूर्व रा.प.स. कर्णप्रसाद ह्योजुको लास दाह संस्कारका लागि आज अपराह्न भक्तपुर लगियो ।
जुलुसमा प्रधानमन्त्री, राष्ट्रिय पञ्चायतका अध्यक्ष, मन्त्रीगण, रा.प.स.हरू र भूतपूर्व प्रधानमन्त्रीका साथै विभिन्न तहका पञ्च तथा वर्गीय सङ्गठनका कार्यकर्ताहरू, पञ्चायत नीति तथा जाँचबुझ समितिका पदाधिकारीहरू र स्थानीय जनता सम्मिलित थिए ।
गृह राज्यमन्त्री निरन्जन थापाले सदनलाई दिएको त्यस जानकारीअनुसार प्रहरीहरू ‘तुरुन्त’ पुगी ‘भिडबाट छुट्याई’ वीर अस्पतालमा ‘उपचारको लागि’ पु¥याइएको बताएका छन् । गृह राज्यमन्त्रीको त्यो भनाइ २१ भदौको दिन सदनलाई दिइएको जानकारीसँग मेल खाँदैन । सदनलाई दिइएको विवरणमा भनिएको छ :–
“घटना हुनुअगाडि भक्तपुर हनुमानघाट नजिक रहेको सूर्योदय माध्यमिक विद्यालयमा भूकम्प पीडितहरूको लागि खडा गरिएको शिविरमा सहयोगार्थ स्थानीय प्रशासनबाट तीनजना प्रहरीलाई खटाइएको थियो र भूकम्प पीडितहरूलाई खाद्यान्न वितरण गर्ने विषयलाई लिएर मृतक कर्णप्रसाद ह्योजु र निजका विपक्षका व्यक्तिहरूबिच वादविवाद हुँदै गर्दा विपक्षका ६०÷७० जना व्यक्तिले निजलाई घेराउ गरी गल्लीको बाटो दत्तात्रयतिर लगेपछि उक्त शिविरमा दुईजना प्रहरी भिडको पछि लागि गएका थिए ।
शिविरमा रहेका अर्का प्रहरी जवान यसबारे जिल्ला प्रहरी कार्यालयमा खबर गर्न गएको र उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयमा उपस्थित रहेका प्रहरी नायब निरीक्षक समेत ७ (सात) जना प्रहरी दत्तात्रय पुगेका थिए । त्यहाँ चार–पाँच हजारको भिड जम्मा भएको र बाटो समेत साँघुरो भएकोले प्रहरीले भिडलाई नियन्त्रण गर्न सकेन ।
यसैबिच वाग्मती अञ्चलाधीश कार्यालयमा भएको भूकम्प सहयोग समितिको बैठकमा भाग लिई भक्तपुरतर्फ फर्किरहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकले सो खबर वाकीटाकीबाट पाउनासाथ आफ्नो साथमा भएका पाँच जना प्रहरी लिई सोझै सुकुलढोकामा पुगी कर्णप्रसाद र उत्तमबहादुर श्रेष्ठलाई भिडबाट निकाली मोटरमा राख्न खोज्दा त्यहाँ उपस्थित भिडले मोटर घेरी उनीहरूलाई छुटाई लगेका थिए ।
त्यसपछि प्रहरी नायब उपरीक्षकले मद्दतको लागि आइरहेको लाठी, हेल्मेटसहितका ३५ जना प्रहरी लिई सुकुलढोकामा पुगी हुललाई पन्छाई घाइतेहरूलाई निकाली प्रहरीको भ्यानमा राखी उद्धारका लागि वीर अस्पतालमा पठाइएका थिए ।
गृह राज्यमन्त्रीले ३ जना प्रहरी पहिले नै स्थानीय प्रशासनबाट पठाएको, पछि ७ जना प्रहरी दतात्रय पुगेको, ५ जना प्रहरीसहित नायब उपरीक्षक स्वयम् ‘सुकुलढोका’ पुगेको र पुनः ३५ जना सशस्त्र प्रहरी पुगेपछि कर्ण ह्योजुलाई भिडबाट हटाई वीर अस्पताल लगिएको जानकारी दिएका थिए । तर, गृहराज्यमन्त्रीले (१) दत्तात्रयको प्रहरी चौकी मूकदर्शक भएको जानकारी नदिनु आश्चर्यजनक छ । (२) स्थानीय जनता चौकीमा उजुर गर्न जाँदा वास्ता गरिएन । (३) डी.एस.पी. अफिसमा एक घण्टासम्म बचाउको लागि प्रहरी माग्दा वास्ता गरिएन । (४) भ्यानमा राखिसकेको ह्योजुलाई भिडले तान्दा डी.एस.पी.ले वास्ता गरेनन् भन्ने गुनासो पनि सुनियो ।
निष्कर्ष
माथिका विवरणहरूबाट तलका कुराहरू स्पष्ट हुन्छ –
१) भूकम्प पीडित जनताको उद्धार र पुनस्र्थापना कार्यमा श्री ५ को सरकार र भक्तपुर जिल्ला पञ्चायतभन्दा भक्तपुर नगर पञ्चायत जिम्मेवारी, तदारुकता र नीति निर्माणमा अगाडि थियो । यो कुरा श्री ५ को सरकारलाई सह्य भएन ।
२) ६ भदौको दिन गठन भएको केन्द्रीय भूकम्प उद्धार र पुनस्र्थापना कोष, भक्तपुर जिल्ला भूकम्प पीडित उद्धार समिति र भक्तपुर जिल्ला पञ्चायत सभापति सुरेन्द्रप्रताप शाहको अध्यक्षतामा गठन भएको उद्धार उपसमितिमा पनि कर्ण ह्याजु सदस्य थिएनन् ।
३) ८ भदौको दिन ‘चन्दा सङ्कलन व्यवस्था’ बारे श्री ५ को सरकारले गरेको निर्णयअनुसार चन्दा सङ्कलनको केन्द्रीकरण र वितरणको बन्दोबस्त पञ्चायत वा प्रधानपञ्चहरूमार्फत गरिएको थियो । सो निर्णयअनुसार विराटनगरमा भू.पू. प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई समेत भूकम्प पीडितहरूलाई उद्धार सामग्री तथा फलफुल वितरण गर्न दिइएको थिएन । तर, कुनै उद्धार कोष र समितिको सदस्य नभएका कर्ण ह्योजुलाई उद्धार सामग्रीको कुपन बाँड्न किन र कसले गर्न लगायो, एक गम्भीर छानबिनको विषय टड्कारोरूपले देखापर्यो ।
४) तर, २१ भदौको दिन गृह राज्यमन्त्री निरञ्जन थापाले राष्ट्रिय पञ्चायतमा दिएको जानकारीअनुसार ह्योजुले खाद्यान्नको कुपन वितरण गर्न सूर्योदय माध्यमिक विद्यालयमा सहयोगार्थ स्थानीय प्रशासनबाट तीन जना प्रहरीलाई ‘किन र कसरी’ खटाइएको थियो भन्ने प्रश्न खडा हुन्छ । स्थानीय प्रशासनलाई ह्योजुमार्फत खाद्यान्नको कुपन वितरण गर्न लगाउने आदेश कसले किन दियो ? त्यसबारे जिल्ला पञ्चायत वा जिल्ला उद्धार समितिलाई थाहा थियो वा थिएन ?
५) खाद्यान्नको कुपन वितरणमा पक्षपात वा धाँधली भएको हो वा होइन हो भने त्यसको जिम्मेवार को हुन् ?
६) शान्ति र सुरक्षा स्थापना गर्नमा ‘लापरबाही’ गरेकोमा भक्तपुर प्र.जि.अ. थानेश्वरप्रसाद कोइराला, प्रहरी नायव उपरीक्षक तेजबहादुर मल्ल, प्रशासकीय अधिकृत गोविन्द खनाल र प्रहरी नायब निरीक्षक दयानन्द मल्लिकलाई निलम्बन गरी कारबाही सुरु गरेको कुरा पनि गृह राज्यमन्त्रीले जानकारी दिए ।
त्यसको अर्थ के ह्योजुलाई प्रधानमन्त्री वा जाँचबुझ समितिको अध्यक्षबाट गर्न दिएको अनियमित वितरण कार्यमा स्थानीय प्रशासनले आवश्यक शान्ति सुरक्षा गर्न नसकेको हो ? वा स्थानीय प्रशासनले नै अनियमित वितरण गर्न दिएको कारणबाट उत्पन्न घटनाको जिम्मेवारीको कारण माथि उल्लेखित कर्मचारीहरू कारबाहीमा परेका हुन् ? प्रस्ट गर्नुपर्ने विषय भएको छ ।
७) घटनाबारे अनुसन्धान सुरु हुनुभन्दा पहिले नै अथवा जाहेरीभन्दा पहिले नै प्रहरीले राजनैतिक व्यक्तिहरूलाई पक्राउ गर्नुले श्री ५ को सरकारको नियतमाथि शङ्का गर्ने आधार खडा ग¥यो ।
८) प्रधानमन्त्री, गृहमन्त्री र मन्त्रिमण्डलका अन्य सदस्यहरू र राष्ट्रिय पञ्चायत, पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्षसमेत सामेल भएको शव यात्रामा ‘…… लाई फाँसी दे’ भनी नारा लगाउनु वा प्लेकार्ड राख्नाले पनि घटनामा राजनैतिक षड्यन्त्रको गन्ध आउनु स्वाभाविक छ ।
९) भक्तपुर नगर पञ्चायतलाई भङ्ग गरी ‘…. लाई फाँसी दे’ भनी नारा लगाउने र मोटरको अगाडि बस्ने व्यक्तिलाई नै प्रधानपञ्च बनाउनाले षड्यन्त्रलाई झन् प्रस्ट पार्छ ।
१०) नगरसभासमेत भङ्ग गर्नुले त सरकार नाङ्गो भएर अगाडि आएको प्रस्ट हुन्छ ।
११) नगर पञ्चायतका स्थायी कर्मचारीहरूलाई समेत अवकास दिनु र चोरी हुनु आदि सबै सरकारको प्रतिक्रियावादी षड्यन्त्रकै सिलसिला हुन् भन्ने छर्लङ्ग हुन्छ ।
‘मजदर-किसान’, वर्ष १, अड्ढ २, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *