भर्खरै :

सुर्खेतमा भक्तपुर काण्डको विरोध र भत्र्सना

सुर्खेतमा भक्तपुर काण्डको विरोध र भत्र्सना

सुर्खेत, ९ भदौ । नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्ताहरूले देश र जनताको इमानदारीपूर्वक सेवा गरेको प्रतिक्रियावादीहरूलाई सह्य नभएको हुँदा २०४५ भदौ ९ गते नेमकिपाविरूद्ध झूटा ज्यान मुद्दा लगाई ‘भक्तपुर काण्ड’ को षड्यन्त्र गरिएको थियो । यसकारण पार्टीले भक्तपुर काण्डको विरोध र भत्र्सना चालु राखेको हो ।”
उहाँले भन्नुभयो, “प्रतिक्रियावादीहरू बहुदल र गणतन्त्रको ३४ वर्ष यता पनि नेपाल मजदुर किसान पार्टीलाई मत दिन नहुने अन्य जुनसुकै पार्टीलाई मत दिए पनि हुने कुप्रचार गर्दै छन् । तर, कामदारवर्ग र देशभक्तहरूको मत नेमकिपाले नै पाउनेछ ।”
“नेमकिपाले संविधानमा १२ कक्षासम्म निःशुल्क र अनिवार्य, स्वदेशमा रोजगारी, सम्पत्ति सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने राखेको प्रस्तावलाई नेका, एमाले, माओवादीलगायत शासक दलहरू मिलेर अस्वीकार गरे । ख्वप विश्वविद्यालयको पूर्वाधार भए पनि शासक दलहरूले यसको विधेयक पारित गरेका छैनन्,” उहाँले थप्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नक्कली भुटानी शरणार्थी, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, सुन तस्करीलगायतमा शासक दलका नेताहरू पर्ने भएको हुँदा यसको जरासम्म अनुसन्धान गरिएको छैन । पूर्वप्रधानमन्त्रीहरू दोषी देखिए कारबाही हुनुपर्दछ । मन्त्रिपरिषद्को सबै निर्णय नीतिगत दाबी गरी पूर्वप्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिनु हुँदैन ।”
“पुँजीवादी सरकारको भागबन्डा खानेहरूले पार्टीको नाम फरक भए पनि सारमा एउटै हो । सिद्धान्त एउटै भएका नयाँ र पुराना पार्टीमा मौलिक भिन्नता छैन । नेपाल मजदुर किसान पार्टी पुँजीवादी सरकारको लुछाचुँडीमा जाँदैन । यो नै क्रान्तिकारी संसद्वाद हो”, सचिव सुवालले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “देशघाती सन्धि–सम्झौता गरेका प्रम र मन्त्रीहरूलाई जनताले खबरदारी गर्नु जरूरी छ । सन् १९१९ मई ४ को पेइचिङ विद्यार्थी आन्दोलनमा चीनलाई साम्राज्यवादीहरूको उपनिवेश बनाउने सन्धि गरेका तत्कालीन चिनियाँ राजदूतहरूको घर घेरा दिई तिनीहरूलाई लात जुत्ताले सजाय गरिएको थियो ।”
उहाँले अगाडि भन्नुभयो, “सन् १९२४ मा चिनियाँ कम्युनिस्ट पार्टी र कोमिन्ताङ (पुँजीवादी) पार्टीबिच संयुक्त मोर्चा भएर साम्राज्यवादविरूद्ध सङ्घर्ष भएको थियो । तर, सनयात सेनको मृत्युपछि कोमिन्ताङ पार्टीको दक्षिणपन्थी च्याङ काई सेकको नेतृत्वले साम्राज्यवादीहरूको सहयोग लिएर चिनियाँ कम्युनिस्टविरूद्ध हमला ग¥यो । सन् १९२७ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव भएका चेन तु श्युसमेत कोमिन्ताङ पार्टीको पुच्छर हुँदा माओ त्सेतुङ र अन्य कम्युनिस्ट नेताहरूले विरोध गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टी एक्लैले साम्राज्यवादी र कोमिन्ताङ पार्टीको दक्षिणपन्थी नीतिको विरोधमा सङ्घर्ष गरी लालइलाका स्थापना गरेको थियो ।”
प्रतिगमनविरोधी आन्दोलनमा तत्कालीन राजा ज्ञानेन्द्रको मनोनीत प्रम शेरबहादुर देउवाको सरकारमा गएका एमालेसमेतको विरोधमा नेमकिपाले एक्लै सङ्घर्ष गरेको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “मानिसले मानिसको कर्तव्य निर्वाह गर्नु नै धर्म गर्नु हो । धर्म अन्धविश्वास होइन । नेपालीलाई अहिलेको दुःखको कारण सिंहदरबार पालैपालो कब्जा गर्न पुगेका शासक दलका नेताहरू नै हुन् ।”
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले भक्तपुर काण्ड र जर्मनीको राइखस्टाग आगलागी काण्डको तुलनात्मक अध्ययन प्रस्तुत गर्नुभयो ।
नेमकिपा लुम्बिनी प्रदेशका संयोजक हरिसुन्दर बासीले कम्युनिस्ट घोषणापत्रबारे बोल्नुभएको थियो ।
नेमकिपा सुर्खेतका जिल्ला अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा भएको उक्त कार्यक्रममा नर्मा गुरूङ, शेरबहादुर शाही र धनेन्द्र विकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *