भर्खरै :

सच्चा कम्युनिस्ट पार्टी कामदार वर्गको पक्षमा हुने

सच्चा कम्युनिस्ट पार्टी कामदार वर्गको पक्षमा हुने

भक्तपुर, १० भदौ । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक ७ नं वडा समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट भक्तपुर काण्ड रचिएको हो भन्नुभयो ।
सामन्तवादी तथा पुँजीवादी शक्तिहरूले जनताको लागि लड्ने पार्टी तथा नेतृत्वलाई सधैँ आँखाको कसिङ्गर सम्झने र अनेक किसिमको षड्यन्त्र रचेर दुःख दिन पछि नपर्ने हुँदा हामी सचेत र सङ्गठित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी शासकहरूको दलगत तथा व्यक्तिगत स्वार्थले गर्दा कृषिप्रधान देश नेपालमा विदेशबाट खाद्यान्न किन बाध्य छ ।”
सच्चा कम्युनिस्टहरूले कामदारवर्गको हितमा काम गर्ने हुँदा वर्गसङ्घर्षको लागि नयाँ पुस्तालाई सचेत र सङ्गठित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देश विदेशमा भएको वर्गसङ्घर्षको इतिहासको अध्ययन गर्दा ऊर्जा प्राप्त हुन्छ भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य हिमालयश्वर लाल मूलले भूकम्पका सच्चा पीडितलाई राहत वितरण नगरी आफ्ना आसेपासेलाई राहत वितरण गर्दा ह्योजुले त्यस्तो नियति भोग्नु परेको बताउनुभयो ।
ह्योजुलाई बलिको बोको बनाई पुलिस, पञ्चायत प्रशासन र राज्य नै लागेर नेमकिपालाई नष्ट गर्न लागेको थियो तर आफूले खनेको खाल्डोमा पञ्चायत आफै फसी नस्ट भयो, उहाँले भन्नुभयो ।
२०२१ सालमा नापी हुँदा किसानको नाममा जग्गा दर्ता गर्न दिनको लागि अग्रज किसान कार्यकर्ताहरूले खेत–खलिहान गएर मोहियानी हकको लागि अथक प्रयास गरेको उहाँले बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका सचिव महेन्द्र बखुन्छेँले नेमकिपाले स्थापनाकालदेखि गर्दै आएको सीमा अतिक्रमणको विरोध, मजदुर किसानको पक्षमा आन्दोलन तथा भ्रष्टहरूको विरोध पञ्चायतलाई असह्य भएको उल्लेख गर्दै सत्यको सधैँ जीत हुने विचार व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष सूर्यबहादुर पञ्चको सभापतित्वमा भएको कार्यक्रममा काजीबहादुर पञ्च र न्हुछेभक्त पञ्चले पनि भक्तपुर काण्डको बारेमा चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *