भर्खरै :

लाभको आधारमा चल्ने सरकार गतिलो नहुने

नेपाल मजदुर किसान पार्टी समाजवादी गणतन्त्रको पक्षमा छ । यसकारण, संविधानसभाको निर्वाचनताका नेमकिपाले समाजवादउन्मुख राज्य व्यवस्था र समाजवादउन्मुख संविधानको अवधारणा अघि सारेको हो । सोही अवधारणाअनुसार नेमकिपाले विभिन्न कार्यक्रम प्रस्तुत गरेको हो । सम्भवतः नेमकिपाको अवधारणाअनुसार नै संविधानमा ‘समाजवादउन्मुख राज्य’ उल्लेख गरिएको छ । संविधानमा समाजवादउन्मुख राज्य त उल्लेख भयो । तर, अहिलेसम्म तद्नुसार सरकार या सत्तारूढ दलले कुनै नीति तथा कार्यक्रम पारित गरेको छैन, सोअनुसार बजेटको बन्दोबस्त गरिएको छैन । संविधानले सरकारलाई प्रगतिशील र समतामूलक नीति र कार्यक्रम अवलम्बन गर्ने बाटो खुला गरे पनि त्यसलाई सरकारले आत्मसात गरेको छैन । सरकारले संविधानलाई कार्यान्वयन गरेन† गर्न चाहेन । यसलाई कार्यान्वयन गर्न न नेकाको नेतृत्वमा बनेको सरकारले ग¥यो न त कम्युनिस्ट भन्ने पार्टीको नेतृत्वमा बनेको सरकारले ग¥यो । यसरी सत्तारूढ दलका नेताहरूले संविधान पनि पालना गरेका छैनन् ।
सरकारले संविधानको मूल मर्मलाई पालना गरिरहेको छैन । समाजवादउन्मुख राज्यको अवधारणाअनुसार नीति तथा कार्यक्रम बनाइएको भए देश र जनतालाई नै फाइदा हुन्छ । प्रगतिशील कर प्रणाली लागु गरे देशको आयस्रोत बढ्छ† जनताको जीवनस्तर बढ्छ या काममामको सुनिश्चित हुन्छ । सरकार र सरकारको नेतृत्व गर्ने दलहरू देश र समाजप्रति समर्पित हुनुपर्छ । बहुमत जनताप्रति लक्षित भएर सरकार अघि बढ्नुपर्छ । नागरिकको आय आर्जन बढ्नु भनेको मुलुकको अर्थतन्त्र दिगो हुनु हो । यसले देशको विकासको ढोका खोल्छ । जनताका आधारभूत आवश्यकता पूर्ति गर्न बन्द भएका उद्योग सञ्चालन भएपछि, देशमा प्राप्त स्रोत र साधनको आधारमा नयाँ नयाँ उद्योगहरू खोलेपछि जनताले सस्तोमा वस्तु उपभोग गर्न पाउनेछन् । देशमा बढिरहेको आयात घट्नेछ । यसले देशको आम्दानी बढ्नेछ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी बन्दोबस्त हो । यो पुँजीवादी बन्दोबस्त फेर्नुपर्छ । सरकारमा रहेका दलहरू पुँजीपतिवर्गको प्रतिनिधित्व गरिरहेकै कारण ‘समाजवादउन्मुख राज्य’ को कुरा संविधानमा मात्र सीमित भएको हो या कार्यान्वयन नभएको हो । संविधान सबैले लागु गर्नुपर्ने हो । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दल नेकाले समाजवादउन्मुख राज्यको अवधारणाअनुसार लागु नगरे पनि कम्युनिस्ट पार्टीले त लागु गर्नुपर्ने हो नि ! यस बाटोमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पनि लागेका छैनन् । आफूलाई ठूलो कम्युनिस्ट पार्टी भन्ने, कम्युनिस्ट पार्टीको नाउँ भजेर समाजवादी मोर्चा गठनतिर लाग्ने तर समाजवादउन्मुख राज्य व्यवस्था लागु गर्न अघि नसर्ने ती दलका नेताहरू कस्ता कम्युनिस्ट ! वास्तवमा ती दलका नेताहरूले समाजवादी बाटो या क्रान्तिकारी बाटो छोडेका छन् । यो कम्युनिस्टको आचरणविपरीतको कदम हो ।
कम्युनिस्ट भनिने दलका नेताहरू कहिलेकाहीँ समाजवादको कुरा फुक्छन् । तर, समाजवादी मूल्य र मान्यताअनुसार काम कहिले पनि गर्दैनन् । समाजवादी भन्ने समाजवादी कदम नचाल्ने उनीहरू कसरी कम्युनिस्ट ? संसद्मा बहुमत नाउँमा मुठीभर नेताहरूको तिकडमबाजी चलिरहेको छ । कसलाई कति लाभ हुन्छ भन्ने हिसाबकिताबको आधारमा सरकार चलाइन्छ । प्रदेश सरकारको नेतृत्व त छिनछिनमा हेरफेर भइरहेको छ – त्यही गणतीय अङ्कको आधारमा । काम गरेर देखाउनुभन्दा जसरी भए पनि सरकार ढाल्ने र नयाँ सरकार गठन गर्ने उनीहरूको दाउ रहेको हुन्छ । अनि सरकार जहिल्यै भ्रष्टाचार, अनियमितता र सङ्गठित अपराध गर्ने केन्द्र नबन्नु कसरी ! सरकार कहिले पनि जनताप्रति उत्तरदायी भएन ! के यसरी देश बन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *