भर्खरै :

सुन तस्करीसम्बन्धी टिपोट – १०

सुन तस्करीसम्बन्धी टिपोट – १०

अध्यागमन विभागका महानिर्देशकको दावा छिरिङसँग कनेक्सन
६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग गहिरो कनेक्सन भेटिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई विभागबाट हटाइएको छ । अधिकारीको सुन तस्कर दावासँग ‘कनेक्सन’ र ‘डिल’ भएका केही तथ्यहरू भेटिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीलाई मन्त्रालय तानेर छानबिन थाल्नुभएको हो । शक्ति केन्द्रसँग ठुलो पहुँच बनाएका अधिकारीमाथि निष्पक्ष छानबिन हुनेमा आशङ्का देखिएको छ ।
अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडौँ, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए । राजस्व अनुसन्धान विभागका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने, “त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत उहाँले सहयोग गरेको देखिन्छ ।”
ड्रोनमार्फत ठुलो परिमाणको सुन भित्रिएको आशङ्का
सरकारका विभिन्न निकायको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ मा हङकङबाट नेपालमा १८ हजार ड्रोन भित्रिएको र सो ड्रोनभित्र सुन लुकाएर ल्याइएको हुनसक्ने आशङ्का गरिएको छ । ती १८ हजार ड्रोन नेपालमा आयात भए पनि त्यसको प्रयोग हुन सकेको छैन । त्यसैले ड्रोनमार्फत ल्याइएको सुन सीधै भारततर्फ जाने गरेको स्रोतको दाबी छ । उक्त कार्यमा समेत अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सहयोग गरेको हुनसक्ने दाबी सरकारी अधिकारीहरूको छ ।
(नेपाल समाचारपत्र, २०८० भदौ ८)
पित्तलको जलप लगाइएका तर सुनले बनाइएका ‘कचौरा र अम्खोरा’
यसरी चीनबाट तस्करी गरिएको सुनलाई सजिलै र सुरक्षित तरिकाले भारत पु¥याउन ‘कचौरा’ र ‘अम्खोरा’ समेत बनाइँदो रहेछ । स्रोतका अनुसार सुन लैजान भारतीय नागरिकलाई ठमेलको एक होटेलमा राख्ने, खासगरी महिलालाई पशुपतिनाथको दर्शन गराउने, यताबाट जाँदा एक एकवटा कचौरा र अम्खोरा दिएर पठाउने गरेको पाइएको छ । त्यस्ता अम्खोरा र कचौरा भित्रपट्टि सुन राखेर बाहिर तामा र पित्तलको जलप हुने गरेकाले त्यसबारे कसैलाई शङ्का नहुने बताइएको छ । स्रोतका अनुसार नेपालकै कारखानामा तयार पारेर त्यस्ता सामान भारततर्फ लैजाने गरिएको छ ।
(नागरिक, २०८० भदौ ८)
आयोग बनाउने सहमति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएलगत्तै बरामद ६१ केजी सुनको विषयमा अनुसन्धान गरिरहेका राज्यका निकायहरूप्रति अविश्वास प्रकट गर्दै एमालेले निरन्तर उच्चस्तरीय छानबिनको माग गरिरहेको थियो । सत्तारूढ दलहरू भने सिआईबीबाटै अनुसन्धान हुनुपर्ने पक्षमा थिए । अन्ततः सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले सिआईबीको अनुसन्धानलाई प्रभाव नपार्ने गरी आयोग बनाउने सहमति गरेका छन् ।
अवधै सुन बरामद वा संलग्न व्यक्ति पक्राउका घटना विगतमा पनि पटक–पटक भएका थिए । त्यस विषयमा प्रहरी आफैँले वा छुट्टै समितिमार्फत गरेका अनुसन्धान मुख्य कारोबारीसम्म नपुग्दै टुङ्गिने गरेका थिए । उपल्लो राजनीतिक तहमा पहुँच भएका व्यक्ति तानिने देखिएपछि अनुसन्धान अघि नबढाइएको र प्रतिवेदन सार्वजनिक नगरिएको दृष्टान्त पनि छ ।
(कान्तिपुर, २०८० भदौ ८)
सिआईबीले इन्टरपोलसँग माग्यो सहयोग
६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोग मागेको छ । सिआईबीले इन्टरपोल पेइचिङमार्फत हङकङ सब–ब्युरो र भारतको नेसनल सेन्ट्रल ब्युरो (दिल्ली) लाई सहयोग माग्दै पत्राचार गरेको हो ।
(अनलाइन खबर, २०८० भदौ ८)
सिआइबीको अनुरोध
६० किलो बढी सुन तस्करी प्रकरणबारे छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुनसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गरिदिन अनुरोध गरेको छ । सिआइबीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेलगायतले सुन तस्करीबारे आफूहरूसँग सूचना रहेको र आवश्यक परे दिने भन्दै सार्वजनिक रूपमा बताइरहेको बेला सिआइबीले सो अनुरोध गरेको हो ।
(राजधानी, २०८० भदौ ९)
पक्राउ परेका सुन तस्करसँग भारतको रासनकार्ड
६० किलो सुन तस्करीमा संलग्न तीन चिनियाँ भारतमा पनि पक्राउ परेर छुटेका थिए कार्गाेमार्फत ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका चिनियाँमध्ये तीनजना विगतमा भारतमा पनि यस्तै शैलीमा सुन तस्करीमा पक्राउ परी छुटेको पुष्टि भएको छ । हाल पक्राउ परेकामध्ये चिनियाँ मूलका दुईजनासँग भारतको रासनकार्ड समेत बरामद भएको छ । उनीहरू लामो समयदेखि भारतमा समेत बसेको प्रमाण भेटिएको छ । पक्राउ परेका चिनियाँहरू काठमाडौँमा भारतीय प्रेमिकासँगै बस्दै आएका थिए । प्रेमिकाहरूलाई पनि सिआइबीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका पाँच चिनियाँसँग नेपाली नागरिकता र पासपोर्टसमेत बरामद भएको छ ।
(नयाँ पत्रिका, २०८० भदौ ९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *