भर्खरै :

चितवनमा किसान कार्यकर्ता भेला

चितवनमा किसान कार्यकर्ता भेला

चितवन, १६ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ राप्ती–१० एकाइ समितिको आयोजनामा पञ्चायती राज्यस्तरबाट नेमकिपाविरुद्ध रचिएको षड्यन्त्र भक्तपुर काण्डको स्मरणमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा चितवनका जिल्ला उपाध्यक्ष राजकुमार श्रेष्ठले कम्युनिस्टको बदनाम गर्ने एमाले र माओवादी पार्टीविरुद्ध नेमकिपा सङ्घर्षरत रहेको प्रस्ट पार्नुभयो । पुँजीपतिहरू आफ्नो शासन सत्ता टिकाइराख्न अनेक जालझेल गरिरहने विचार व्यक्त गर्दै उहाँले गरिब जनतालाई माथि उठन् नदिन लोभ लालच, भ्रम छरेर शोषकहरूले फसाइरहने हुँदा जनता सचेत हुनुपर्छ भन्नुभयो ।
उहाँले समाजवादी राज्य व्यवस्थामा मात्र जनताको हक अधिकार सुनिश्चित हुने भएकोले कामदार जनता समाजवादी व्यवस्थाको निम्ति सङ्घर्ष गर्नुपर्दछ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका जिल्ला अध्यक्ष ज्ञानेन्द्र चेपाङले पञ्चायतीहरूले जनताको हक अधिकार कुण्ठित गरेको निरङ्कुश पञ्चायती सरकारको दमनविरुद्ध जनतालाई शिक्षित बनाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ केन्द्रीय सदस्य अर्जुन प्रजाले समाज विकास क्रमअनुसार पुँजीवादी राज्य व्यवस्थामा अधिकांश मानिसहरू शोषित हुन्छन् भन्नुभयो ।
नेमकिपा सम्पूर्ण काम गरी खाने जनताको हित हुने समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्ष गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थी कृष्ण तामाङ, प्रकाश चेपाङ, भीम पाख्रिन, किसान छड्के चेपाङ, मोहनबहादुर प्रजाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *