भर्खरै :

भनपा–६ मा आँखा शिविर सम्पन्न

भनपा–६ मा आँखा शिविर सम्पन्न

भक्तपुर, १६ भदौ । भक्तपुर नगरपालिका ६ नं वडा कार्यालयको आयोजनामा भोलाछेँ टोलमा शनिबार आँखा शिविर कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय स्थापना गर्न लागिरहेको उल्लेख गर्दै सफाइ आन्दोलन, साक्षरता आन्दोलन, सम्पदा सुरक्षा आन्दोलनमा लागेरै आजको यो स्थितिसम्म पुगेको हो भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “खानेपानीको मुहान नगरकोट क्षेत्रलाई जलाधार घोषणा गरी भक्तपुर नगरलाई खानेपानीको राम्रो व्यवस्था गर्नुपर्छ ।”
जबसम्म सरकारको नीति राम्रो हुँदैन तबसम्म सर्वसाधारण जनताले दुःख पाइरहने चर्चा गर्दै उहाँले खोलानाला ढलको रूपमा परिणत रहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । घर घरबाट कुहिने र नकुहिने फोहर छुट्याई व्यवस्थापन गर्नुपर्ने र स्वास्थ्यलाई प्राथमिकतामा राखी समाज परिवर्तन गर्न लागिपर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
भनपा ६ का वडा अध्यक्ष हरिराम सुवालले भक्तपुर नगरपालिकाले नगरवासीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न रोगहरूको स्वास्थ्य शिविर कार्यक्रम गरिरहेकोमा हाल आँखा शिविर कार्यक्रमले स्वास्थ्य लाभ हुने बताउनुभयो । उहाँले वडाको विकास निर्माण कार्यमा वडावासीहरूको साथ र सहयोग रहने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, डा. क्रिजन सुवाल, समाजसेवी गोपीकृष्ण चाँगुभारी र स्वयम्सेविका मञ्जु कुम्पाखले पनि आ–आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *