भर्खरै :

चुनावी गठबन्धन जनतालाई झुक्याउने जालसाझी

काठमाण्डौ, ९ कात्र्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी संघ काठमाण्डौ जिल्ला समितिको आयोजनामा बिहीबार समसामयिक राजनीतिक परिस्थितिबारे जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम नेपाल ल क्याम्पसमा सम्पन्न भयो ।
कार्यक्रममा समसामयिक राजनीतिक परिस्थितिबारे प्रशिक्षण दिंदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले नेमकिपाले भारतीय बिस्तारवाद र शासक दलका जनविरोधी गतिविधि जनताबीच भण्डाफोर गरेका कारण सरकारमा जाने दलहरुको मिलेमत्तोमा थ्रेसहोल्ड जस्ता अप्रजातान्त्रिक बन्देज लगाउन खोजे पनि जनताबीच जान नेमकिपा पछि नहट्ने विचार राख्नुभयो ।
उहाँले एमाले र माओवादी केन्द्रबीचको चुनावी गठबन्धन वाम वा कम्युनिष्ट गठबन्धन केही नभएको बरु जनताको आँखामा धुलो छ्याप्ने जालसाझीमात्र भएको धारणा राख्नुभयो ।
महर्जनले विद्यार्थीहरुलाई आधुनिक संशोधनवादका विविध रुपबारे अध्ययन गर्न सल्लाह दिंदै नेपालको कम्युनिष्ट आन्दोलनको सबभन्दा ठूलो समस्या नै संशोधनवाद भएको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले शासक वर्गीय चुनावी गठबन्धन विरुद्ध नेमकिपा एक्लै चुनावमा होमिने र जनताबीच एमाले, काँग्रेस र माओवादी केन्द्रका गलत काम उदाङ्ग्याउँदै जाने बताउनुभयो ।
उहाँले चुनावका क्रममा नेमकिपाका राजनीतिक तथा सैद्धान्तिक विचार जनताबीच पु¥याउन विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।
नेक्राविसंघका केन्द्रीय संयोजक नीरज लवजूले अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको विषयमा बोल्दै अक्टोबर क्रान्तिले संसारका मजदुर र किसानले पनि सत्ता चलाउन सक्छन् भन्ने ऐतिहासिक तथ्य प्रमाणित गरेको बताउनुभयो ।
उहाँले कुनै पनि देशको व्यवस्थित विकासका लागि समाजवादी व्यवस्था नै एक मात्र बाटो हुन सक्ने धारणा राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष रुपा थापामगरको सभापतित्वमा भएको भेलामा नेक्राविसंघका केन्द्रीय सचिव सविन ख्याजू, पुजा महर्जन, लेनिना डंगोल, विजय महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *