भर्खरै :

विद्यार्थीहरुलाई समाजवादको विषयमा शिक्षा दिनु आवश्यक

– हिना सुवाल
भक्तपुर, ९ कार्तिक । भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर नगरव्यापी अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको समुद्घाटन कार्यक्रम बिहीबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंले पानसका दीप प्रज्वलन गरी सम्पन्न गर्नुभएको छ ।
कार्यक्रममा अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले विद्यार्थीहरुलाई खेलमा सहभागी गराउन खेलकुद प्रतियोगिता आयोजना गरेकोमा नगरपालिकाप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले खेलबाट नै विद्यार्थीहरु अनुशासित हुने भएकोले विद्यार्थीहरुलाई खेल खेल्नको लागि प्रेरित गर्नुपर्ने विचार राख्नुभयो । ‘विद्यार्थीहरु भविष्यका कर्णाधार हुन्, त्यसैले उनीहरुलाई समाजवादको विषयमा शिक्षा दिनु पनि उत्तिकै आवश्यक छ ।’ उहाँले भन्नुभयो । यसमा बढी जोड भने शिक्षक र अभिभावकलाई उहाँले दिनुभयो । यस्ता कुराहरु सिकाए समाज चाँडै विकासको बाटोतिर लम्किने विचार व्यक्त गर्दै उहाँले भारतको कारणले देशको सार्वभौमसत्ता खतरामा परेको हुनाले देश कहिले पनि अगाडि नबढेको पनि बताउनुभयो । खेलले मानिसहरुलाई शारिरीक तथा मानसिक दुवैमा स्वस्थ बनाउने भएकोले विद्यार्थी जीवनमा खेलको महत्व बढी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद क्षेत्रमा नयाँ पुस्ताका युवाहरुलाई बढी जोड दिनुपर्ने बताउनुभयो । देशमा खेलकुद क्षेत्रको लागि आवश्यक पूर्वाधार तथा उचित तालिमको अभाव भएको भन्दै यस्ता कुराहरु सबै राज्यले व्यवस्था गरिदिनुपर्ने विचार उल्लेख गर्नुभयो । ‘खेलमा हारजित हुन्छ । सबैभन्दा महत्वपूर्ण यसले विद्यार्थीहरुलाई अनुशासित र सभ्य नागरिक बनाउन मदत पु¥याउँछ । त्यसैले विद्यालयले खेलकुद प्रतियोगिता समय–समयमा आयोजना गर्नुपर्दछ ।’ प्रमुख प्रजापतिले बताउनुभयो । त्यस्तै भक्तपुर नगरपालिकाले अन्तर नगर खेल पनि आयोजना गर्ने बताउँदै उहाँले विद्यालयस्तरी खेल एउटा पूर्व तयारीको रुपमा रहेको बताउनुभयो ।

युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य उकेश कवां, २ वडा अध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो । त्यसै रेफ्रीको तर्फबाट विनोदचरण राय र खेलाडीहरुको तर्फबाट प्रभात माध्यमिक विद्यालयका अन्जु सुवालले सपथ गर्नुभएको थियो । नगरव्यापी विद्यालयस्तरीय खेलकुदमा ४० भन्दा बढी विद्यालयहरुको सहभागिता रहेको थियो भने दत्तात्रयबाट सुरु भएको ¥याली सहिद स्मृति खेल मैदानमा पुगी औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।





Leave a Reply

Your email address will not be published. Required fields are marked *