भर्खरै :

भक्तपुरमा मनाइयो छठ

भक्तपुर, ९ कार्तिक । तराई तथा मधेसीहरूको चाडको रुपमा लिइने छठको आज बिहीबार तेस्रो दिन रहेको छ । ४ दिनसम्म मनाउने यो पर्वको तेस्रो दिन भने अरुभन्दा महत्वपूर्ण दिन रहेको हुन्छ ।
सर्लाहीका लालबाबु शाहले तेस्रो दिनमा २४ घण्टाको निर्जल व्रत बस्ने व्रतालुहरूले नजिकै रहेको खोलानाला तथा पोखरीहरूमा गएर अस्ताउँदो सूर्यलाई पूजा गर्ने बताउनुभयो । ‘सूर्यले संसारमा उज्यालो ल्याएको छ । त्यस्तै वैज्ञानिक दृष्टिले भन्ने हो भने पनि सूर्यले मानिसलाई आवश्यक पर्ने भिटामिन ‘डि’ र साथै ऊर्जा पनि प्रदान गर्दछ । यसैको प्रतीकमा छठ मनाउँदै आएको हो ।’ शाहले बताउनुभयो ।
छठ लक्ष्मीपूजाको ठ्याक्कै एक हप्तापछि सुरु हुन्छ । पहिलो दिनमा घरका सबै सदस्यहरूले नुहाइधुवाइ गरी घरलाई चोखा बनाइन्छ । तर घरलाई भने एक हप्ता अघि नै चोखो राखिन्छ । दोस्रो दिनमा भने व्रत बस्ने व्रतालुले एक छाक मात्र खान्छन् । चौथौं दिनमा उडाउँदो सूर्यलाई पूजा गरिन्छ र भोग चढाइन्छ । यसपछि व्रत र छठ दुवै सम्पन्न हुन्छ । यिनै महत्वलाई बुझेर भक्तपुरको कमलपोखरीमा पनि छठ मानाउने प्रवन्ध गरेको छ । कार्यक्रमको आयोजना भने लियो क्लबले गरेको हो ।
लियो क्लबका सदस्य राजकुमार थापाले कमलपोखरीमा छठ मनाउँदै आएको ४ वर्ष भएको बताउनुभयो । ठिमीका थापाले नजिकै पोखरीहरू नभएकोले कमलपोखरी ठूलो र सबैले चिन्ने भएकोले यहाँ मनाएको बताउनुभयो । १४ देखि १६ वटा परिवारको उपस्थिति हुने कार्यक्रमको लागि कमलपोखरी सुधार समिति र वरपरका मानिसहरूले पनि सहयोग गरेको उहाँले बताउनुभयो ।
छठ मनाउने क्रममा नजिकैको पोखरी तथा खोलाहरू पनि सफा गरिन्छ । यसले गर्दा वातावरण सफा हुन्छ । विभिन्न कारणले घरबाट टाढा रहनुभएका मानिसहरूलाई कमलपोखरीमा नै छठको व्यवस्था गरेकोले धेरै सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *