भर्खरै :

युद्धपिपासु संरा अमेरिका

युद्धपिपासु संरा अमेरिका

अमेरिकी स्वतन्त्रता सङ्ग्राम र गृहयुद्धमा लगभग ५ लाख अमेरिकीले ज्यान गुमाएका थिए । दुई विश्वयुद्धमा त्योभन्दा तीन गुणा बढी अमेरिकीले ज्यान गुमाए । यसबाट के थाहा हुन्छ भने संरा अमेरिकाले आफ्नो साम्राज्यवादी नीतिको निम्ति बढी रगत बगायो । विश्वयुद्ध साम्राज्यवादी देशहरूको उपनिवेश हत्याउने युद्ध थियो । त्यो युद्ध अमेरिकी मूलभूमिभन्दा टाढा लडिएको थियो । तर, पनि संरा अमेरिका त्यसमा सहभागी भयो र युद्धबाट उसले धेरै आर्थिक लाभ उठायो । युद्धले उसलाई आर्थिकरूपमा समृद्ध बनायो । ऊ युद्धको साहुकारको रूपमा उदायो । साम्राज्यवादी स्वार्थको रक्षाको लागि सन् १९४९ मा संरा अमेरिकाको नेतृत्वमा नाटो सैनिक गठबन्धनको स्थापना भयो ।
पहिलो विश्वयुद्धको अन्त्यमा संरा अमेरिकी राष्ट्रपति उड्रो विल्सनलाई शान्तिका दूतको रूपमा प्रचार गरियो । व्यवहारमा उनी उपनिवेश बाँडफाँडको पक्षमा रहे । दोस्रो विश्वयुद्धको अन्त्यमा राष्ट्रपति ह्यारी ट्रयुमेनले बेलायतका रुढीवादी नेता चर्चिलसँग मिलेर कम्युनिस्टहरूविरुद्ध शीतयुद्धको घोषणा गरे । जुनसुकै देशमा कम्युनिस्टहरूले शिर उठाए पनि त्यसलाई दबाउने नीति लिए । सन् १९४५ मा जापानमा अणुबम खसालेका ट्रयुमेनले सन् १९५० मा कोरियामाथि हमला गरे । कोरियामा पराजित भएपछि अमेरिका युद्धको खोजीमा हिन्द–चीन पस्यो । भियतनाम, लाओस र कम्बोडियाका युद्धलाई अस्तित्वको लडाइँको रूपमा प्रचार ग¥यो । अमेरिकी युवाहरूलाई अनिवार्य सैनिक सेवामा पठायो । स्वतन्त्रता सङ्ग्राम र गृहयुद्धमा मरेभन्दा पनि बढी अमेरिकी हिन्द–चीन युद्धमा मरे । त्यहाँ अमेरिकाले दोस्रो विश्वयुद्धभरि खसालेको भन्दा बढी बम खसाल्यो ।
युद्धमा बाधा दिएपछि संरा अमेरिकाका गुप्तचर निकायले आफ्नै राष्ट्रपति जोन एफ. केनेडीको हत्या ग¥यो । यसबिच संरा अमेरिका ल्याटिन अमेरिकी देशहरूविरुद्ध निरन्तर युद्धमा थियो । उसले त्यहाँ आफूले नरुचाएका नेताहरूको सत्ता पल्ट्याउने र फासीवादीहरूलाई सत्तामा ल्याउने खेल खेलिरह्यो । सोभियत सङ्घको पतनपछि अमेरिकाले नाटो देशहरूलाई प्रयोग गरेर पूर्वी युरोपेली देशहरूलाई हातमा लिन थाल्यो । यसकै सिलसिला अहिलेको युक्रेन सङ्कट हो । युक्रेन युद्ध रुसविरुद्ध अमेरिकी छद्म युद्ध हो ।
राष्ट्रपति आइजनहावरले आफ्नो कार्यकालको अन्त्यतिर युद्धका व्यापारीहरू अमेरिकी राजनीतिमा हाबी भइरहेको कुरा खोलेका थिए । संरा अमेरिकालाई युद्धमा होमिरहन सुरुमा कम्युनिस्टहरूलाई ठूलो खतराको रूपमा प्रचार गरियो । सन् १९९१ मा सोभियत सङ्घको विघटन भयो । त्यसपछि कम्युनिस्ट खतराको बढी प्रचार गर्न मिलेन । २००१ सेप्टेम्बर ११ मा ट्वीन टावरमाथि हमला भएपछि राष्ट्रपति जर्ज डब्ल्यु. बुसले आतङ्कवादविरुद्ध युद्ध अभियान सुरु गरे । उनले २००१ अक्टोबरमा अफगानिस्तानमाथि हमला गरे । इरान र इराकलाई आपसमा भिडाएपछि सन् २००३ मा अमेरिकाले इराकमाथि हमला ग¥यो । लिबिया ध्वस्त पार्न आफैँले तयार पारेको आतङ्कवादी सङ्गठनलाई नस्ट गर्ने निहुँमा अमेरिकाले सिरियामाथि हमला ग¥यो । सिरियामा अमेरिकी युद्ध जारी छ । यसका साथै हाल संसारका ८५ भन्दा बढी देशमा संरा अमेरिकाका ८०० भन्दा बढी सैनिक अखडा छन् ।
राष्ट्रपति बनेका बाराक ओबामाले नोबेल शान्ति पुरस्कार प्राप्त गरे । तर, उनले थप आणविक बमको निर्माण गर्न एक हजार अर्ब डलर बजेट छुट्याए । उनले ‘न्यायपूर्ण युद्ध’ को कुरा गरे । अमेरिकी अणु बमले कसैलाई पनि न्याय दिन सक्दैन । जापानका सर्वसाधारणमाथि खसाइएको बमले यो कुरा साबित गरिसकेको छ । काला जातिका ओबामालाई राष्ट्रपति बनाएर पनि अमेरिकामा जातीय विभेद अन्त्य भएन । जातिवादी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा काला, हिस्पानियाली र एसियाली जातिका मानिसहरूले गोरा अमेरिकीहरूबाट हेलाहोचो र विभेद भोगे । पछिल्ला राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध गराए । संरा अमेरिका अहिले चीनलाई युद्धमा फसाउन थाइवानमा निहुँ खोज्दै छ । जापान, दक्षिण कोरिया र फिलिपिन्सजस्ता पूर्वी एसियाली देश र आसपासको समुद्रमा अमेरिकाले चलखेल बढाएको छ । एकातिर क्वाड, औकस र तीन आँखाजस्ता सैनिक गठबन्धन स्थापना गरेको छ भने अर्कोतिर आक्रामक हिन्द–प्रशान्त रणनीति कार्यान्वयन गर्दै छ ।
सारमा निम्न कुरा राख्न सकिन्छ :
१. संरा अमेरिका नाफाका लागि युद्ध गर्ने पुँजीपतिहरूको साम्राज्यवादी देश हो । कतिपय अमेरिकी नेताहरू रोजगारी सिर्जना गर्न युद्ध गरेको हास्यास्पद तर्क गर्छन् । क्लिन्टन, बुश, बाइडेनजस्ता अमेरिकी राष्ट्रपतिहरू दास व्यापारीका सन्तान हुन् । तिनको व्यवहार पनि आफ्ना पुर्खाको भन्दा फरक देखिएन ।
२. युद्धको आगो लगाउन संरा अमेरिकी शासकहरूले विश्वभरि नै अरू देशमा प्रत्यक्ष हमला गर्ने, सहयोगी देशलाई अगाडि राखेर छद्म युद्ध गर्ने, सैनिक विद्रोहजस्ता जालझेल र षड्यन्त्रबाट आफ्ना दलालहरूलाई सत्तामा ल्याउने र अमेरिकी गुप्तचर निकाय सीआईएका मानिसहरू लगाएर देशभक्त नेताहरूको हत्या गर्नेजस्ता अवैध उपाय अवलम्बन गर्छन् । अन्य देशलाई नियन्त्रणमा लिन संरा अमेरिकाले आर्थिक गलत उपाय पनि प्रयोग गर्छ । यो काम विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोषजस्ता निकायले गर्छन् । विकासको नाममा आर्थिक सहयोग र ऋण दिएर कमजोर देशलाई नवउपनिवेश बनाइन्छ ।
३. युद्धमा अचाक्ली लगानी गर्दा अमेरिकी समाज छिन्नभिन्न छ । जनताको जीवनस्तर उकास्नमा भन्दा युद्धमा बढी लगानी गर्ने संरा अमेरिका आध्यात्मिकरूपमा मरिरहेको एक अमेरिकी विचारकले भनेका छन् – अमेरिकामा व्याप्त चरम जातिवाद यसकै प्रतिबिम्ब हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *