भर्खरै :

युक्रेनी भ्रष्टाचारबाट नेपालले सिक्नुपर्ने पाठ

युक्रेनी भ्रष्टाचारबाट नेपालले सिक्नुपर्ने पाठ

पुरानो लोक कथाबाट सुरु गरौँ । एक जना इमानदार धोबी राजाको लुगा धुने गर्थे । एक पटक राजाको लुगा धुन्दै गर्दा खल्तीबाट असर्फी झर्न थाल्यो । धोबीले राजाकहाँ लुगा पु¥याउँदा सबै असर्फी फिर्ता बुझाए । राजाले धोबीको इमानदारीताको कदर गर्दै एउटा असर्फी उनलाई नै फिर्ता दिए । फेरि अर्को पटक पनि यसरी नै लुगा धुन्दै गर्दा खल्तीबाट असर्फी झ¥यो । धोबीले फेरि सबै असर्फी राजालाई बुझाए । राजा खुसी भएर पहिलाजस्तै एउटा असर्फी धोबीलाई बक्सिस दिए । तर, यतिबेला राजाको मनमा शङ्का उब्जियो, कतै धोबीले सबै असर्फी फिर्ता दियो होला त ? अर्को पटक राजाले गनेर १० वटा असर्फी खल्तीमा राखेर लुगा धोबीकहाँ पठाए । पहिलाजस्तै धोबीले असर्फी राजालाई फिर्ता दिए । राजाले गनेर हेर्दा ९ वटामात्र थियो । राजाले भने, “खल्तीमा १० वटा असर्फी थियो तर तिमीले त ९ वटामात्र फिर्ता दियौ । यही हो इमानदारी ?” धोबीले निर्दोष भावमा भने, “सरकार हजुरले जहिल्यै १ वटा असर्फी मलाई बक्सिस दिनुहुन्थ्यो । त्यही भएर यस पटक म आफैँले १ वटा असर्फी राखेको हुँ ।” यो कथामा वास्तवमा राजा नै दोषी हुन् । एक जना इमानदार धोबीलाई राजाको हेलचेक्र्याइँले बेइमान बनायो । त्यसैले कोही इमानदार व्यक्तिलाई बेइमान बनाउने वातावरण नै भएन भने उक्त व्यक्ति सधैँ इमानदार नै हुन्छ ।
सन्दर्भ युक्रेनमा जरा गाडेर बसेको भ्रष्टाचारको हो । सर्पको मुखमा परिसकेको भ्यागुतोले आफ्नो मुख नजिक आएको कीरा नछोडेजस्तै युद्धले थलथलिएको अवस्थामा कतिखेर ज्यान जाने हो अनिश्चितताको बेलामा पनि युक्रेनी सरकारी पदाधिकारीहरूले भ्रष्टाचार गर्न छोडेका छैनन् । युक्रेनको भ्रष्टाचारको इतिहास लामो छ ।
कुनै समय बाइडेन आफैँले युक्रेनलाई विश्वका तीन सबैभन्दा भ्रष्ट देशहरूमध्ये एक भनेका थिए तर पनि रुसलाई कमजोर बनाउने नाममा बाइडेनले युक्रेनलाई अमेरिकी करदाताबाट उठाएको डलर जुवाको खेलमा तासको पत्ती बाँडेसरि खर्च गर्दै युक्रेनी सरकारी पदाधिकारीहरूलाई भ्रष्ट बनाइरहेका छन् । माथिको कथाजस्तै वास्तवमा युक्रेनीहरूलाई भ्रष्टाचारी बनाउनमा अमेरिकाको पनि हात रहेको छ । रुस समर्थित पूर्वराष्ट्रपति विक्टर यानुकोभिचलाई अपदस्थ गर्ने विद्रोहपछि २०१४ मा सुरु भएको रुससँगको द्वन्द्वसँग युक्रेनी भ्रष्टाचार जोडिएको छ । २०१४ को युक्रेनी राष्ट्रपति चुनावमा रुसविरोधी उम्मेदवारलाई जिताउन अमेरिकी डलरले राम्रै भूमिका खेलेको थियो । अमेरिकाले उक्त चुनावलाई कसरी हस्तक्षेप ग¥यो भन्नेबारे विभिन्न दाबी र आरोपहरू छन् । एउटा दाबी, चुनावलाई प्रभावित पार्न संयुक्त राज्य अमेरिकाले सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्न ५ अर्ब अमेरिकी डलर खर्च ग¥यो । अमेरिकाले यतिसम्म खर्च ग¥यो कि युक्रेनका विभिन्न कलाकार समूहलाई समेत चुनाव अघि, चुनावको समयमा र त्यसपछि पनि डलर बाँडेर विभिन्न प्रकारको रुसविरुद्ध अभियान चलाएको थियो । हो, यहीबाटै युक्रेनीहरू डलरसँग खेल्ने बानी पर्दा मानसिकरूपमै भ्रष्ट बनिसकेका थिए ।
अहिले भ्र्रष्टाचार गर्ने सरकारी पदमा रहेका ठूला ठूला व्यक्तिहरू हुन् भने सर्वसाधारण युक्रेनीहरू बलिको बोका बनिरहेका छन् । तिनीहरू अमेरिका र युरोपियन युनियनको लागि सजिलै मरिरहेका छन् । पश्चिमेली दानमा बाँच्नु युक्रेनीहरूको अन्तिम विकल्प भएको छ । अर्कोतिर हामी किन युक्रेनको सिमानाको रक्षा गर्दै छौँ जबकि हामीले आफ्नै सुरक्षा गर्दैनौँ भनेर सर्वसाधारण अमेरिकीहरू आफँै प्रश्न गरिरहेका छन् । हामीकहाँ आफ्नै आवश्यकताहरू हुँदाहुँदै हामीले तिरेको करको युक्रेनमा दुरूपयोग किन भइरहेको छ ? युक्रेनीहरूको ज्यानको चिन्ता लिने अमेरिकी सरकारले आफ्नै देशमा दिनदिनै गोली काण्डमा मरिरहेका अमेरिकीहरूको ज्यान किन जोगाउँदैन ?
युक्रेनमा भ्रष्टाचार एउटा गम्भीर मुद्दा हो जसले देशको राजनीतिक, आर्थिक र सामाजिक विकासलाई असर पारिरहेको छ । शासक अभिजातवर्गले आफू र आफ्नाहरूलाई समृद्ध बनाउन आफ्नो शक्ति र प्रभाव प्रयोग गर्छ । अविश्वासी र भ्रष्ट सेनाले व्यक्तिगतरूपमा युद्धबाट बच्नको लागि गोप्यरूपमा काम गरिरहेका छन् । युद्धको समयमा सेनामा भर्तीबाट बच्न मेडिकल परीक्षामा अयोग्य ठहराउनको लागि ५ हजार डलर घुस दिएको एक युक्रेनीले भनेका थिए । कसरी केही युक्रेनीहरू डाक्टर र अधिकारीहरूलाई घुस दिएर सैन्य सेवाबाट बच्न खोज्दा रहेछन् भनेर उनले बताएका थिए । भ्रष्टाचारको पराकाष्ठ यतिसम्म पुग्यो कि राष्ट्रपति जेलेन्स्कीले सैन्य भर्तीको सबै भ्रष्टाचारी क्षेत्रीय अधिकारीहरूलाई बर्खास्त गर्न बाध्य हुनुप¥यो । सेनाका उच्च अधिकारीहरू घुस लिएर सेनाबाट भाग्न र अवैधरूपमा सीमा पार गर्न युक्रेनी युवाहरूलाई अनुमति दिन्छन् । धेरै युवा युक्रेनीहरूले सेनामा अनिवार्य भर्तीको विरोध गरिरहेका छन् ।
युक्रेनमा भ्रष्टाचारीको आरोपमा सर्वोच्च अदालतका प्रमुख न्यायाधीशदेखि रक्षामन्त्रीसम्म रहेका छन् । यसबाट जोकोहीले अनुमान लगाउन सक्छन् कि युक्रेनमा भ्रष्टाचारले कुन हदसम्म जरा गाडिसकेको रहेछ । रक्षामन्त्रीलाई भ्रष्टाचारको आरोपमा हालैमात्र बर्खास्त गरिएको छ भने खानी कम्पनीको शेयरको स्वामित्वसम्बन्धी मुद्दामा अनुकूल फैसलाको बदलामा अर्बपति व्यापारीबाट लाखौँ डलर घुस लिएको आरोपमा प्रधानन्यायाधीशलाई अदालतका अरू अधिकारीसहित पक्राउ गरिएको थियो । यो युक्रेनको न्यायपालिकाले अहिलेसम्म देखेको घुसखोरीको सबैभन्दा ठूलो मुद्दा मानिन्छ ।
भ्रष्टाचारले गर्दा युक्रेनमा कसरी देशको सार्वभौमसत्ता, सुरक्षा र स्थिरता कमजोर बन्यिो भन्ने सन्दर्भमा भ्रष्टाचारले आक्रान्त हाम्रोजस्तो मुलुक नेपालमा पनि डलर र आईसीको अगाडि ‘चरण दास’ बन्नेहरू धेरै भएको हुँदा नेपालीहरूले बेलैमा सोच्नुपर्छ । एमसीसीलगायत थुप्रै एनजीओको नाममा आएको डलरले धेरैलाई भ्रष्ट बनाइसकेका छन् । भ्रष्टाचारले सामाजिक असन्तुष्टि र विरोधलाई उग्र बनाउँदा राजनीतिक प्रणाली नै अस्थिर हुन जान्छ । बाह्य आक्रमणको सामना गर्न र देशको एकता कायम राख्न आवश्यक सरकारी संस्थाहरूको विश्वास र वैधतालाई भ्रष्टाचारले कमजोर बनाउँछ । भ्रष्टाचारले कुनै पनि मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि जिम्मेवार सेना र सुरक्षा बलको मनोबल र प्रभावकारिता खस्किन्छ । भ्रष्टाचारले गर्दा विदेशी शक्तिद्वारा घुसपैठ र आफ्नै जनताले देश त्याग गर्ने अवस्था पनि सिर्जना हुन्छ । यस्तै सङ्केतहरू नेपालमा पनि देखिँदै छ । सबै सचेत होऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *