भर्खरै :

चिनियाँ राजदूतले के बोल्नुभयो?

चिनियाँ राजदूतले के बोल्नुभयो?

(पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूत छेन सङको विचारलाई लिएर राजनीतिक वृत्त तात्यो । फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिजले गत शनिबार काठमाडौँमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ विषयक गोष्ठीमा राजदूत छेनले चीन, नेपाल र भारतको अर्थतन्त्रबारे चर्चा गर्नुभएको थियो । इन्टरनेटमा उपलब्ध उक्त मन्तव्यलाई यहाँ साभार अनुवाद प्रस्तुत गरिएको छ ।)
चिनियाँ अर्थतन्त्रको भविष्य कस्तो छ ? चीनको विकासबाट हामी के शिक्षा लिन सक्छौँ ? नेपालमा त्यसको प्रभाव के हुनसक्छ ? औपचारिक मन्तव्य दिनुभन्दा पनि म यस कार्यक्रमका सभापतिको अनुरोधमा यहाँ प्रस्तुत भएको कार्यपत्रमाथि केही टिप्पणी गर्छु ।
निश्चय पनि चीनको विकासलाई तीन चरणमा बाँड्न सकिन्छ । तर, चिनियाँ आर्थिक संरचनाबारे प्रस्तुत कार्यपत्रमा केही गलत बुझाइ छन् । उदाहरणको लागि, सन् १९४९ मा नयाँ चीनको स्थापना भयो । त्यसपछि चीनले बन्द आर्थिक संरचना अङ्गीकार ग¥यो भन्ने चलन छ । त्यो बन्द आर्थिक संरचना चीनले आफैँ रोजेको थिएन । त्यसबेलाका महाशक्ति देश संरा अमेरिकाको नाकाबन्दी र केही वर्ष सोभियत सङ्घको आर्थिक प्रतिबन्धका कारण चीनले बन्द आर्थिक मोडलमा रहेर आफ्नै भरमा विकास गर्नुप¥यो । त्यो चीनको रोजाइ थिएन, बरु बाह्य दबाबका कारण त्यो बाटोमा जानुपरेको थियो ।
चीन र नेपालजस्ता प्रत्येक देशले निश्चित परिस्थितिमा रहेर आफ्नो अर्थतन्त्रको विकास गर्नुपर्छ । जस्तो कार्यपत्र प्रस्तुतकर्ताले यहाँ नेपाल–भारतको नुन व्यापारमा भारतको एकाधिकारको कुरा गर्नुभयो । त्यो यथार्थ हो । नेपालले आफ्ना अर्थनीतिहरू बनाउँदै गर्दा यी परिस्थितिलाई ध्यानमा राख्नुपर्छ । दुर्भाग्य तपाईँहरूसँग भारतजस्तो छिमेकी छ । तर, सौभाग्य तपाईँहरूसँग भारतजस्तो छिमेकी छ । किनभने, भारत एउटा ठूलो बजार हो । त्यसको सम्भावना पनि ठूलो छ र त्यसबाट तपाईँहरूले लाभ लिन सक्नुहुन्छ । फेरि यति नै बेला नेपाललगायत आफ्ना छिमेकी देशहरूप्रतिको भारतीय नीति त्यति मैत्रीपूर्ण छैन । त्यसमा नेपाललाई उति लाभ छैन । यसलाई हामी नीतिगत सीमा भन्छौँ । नेपाल सरकारले आफ्ना आर्थिक नीतिहरू तर्जुमा गर्दा यिनै सीमामा रहेर निर्णयहरू लिनुपर्छ ।
अर्को असमझदारी के भने सन् १९७८ पछि चीनले आफ्नो अर्थतन्त्रको ढोका खोलेको घटनालाई चमत्कारजस्तै प्रस्तुत गरियो । मानौँ तपाईँले आफ्नो अर्थतन्त्रको ढोका खोल्नु मात्र पर्छ, अभूतपूर्व गतिमा आर्थिक वृद्धि हुन्छ, लगानी आउँछ । यसो भन्दै गर्दा हामीले एउटा तथ्यलाई बेवास्ता गर्छौँ । चीनले आफ्नो अर्थतन्त्रको ढोका खोल्नुअघि दुई दशकसम्म हामीले हाम्रो शिक्षा र स्वास्थ्य प्रणाली, हाम्रो औद्योगिक र कृषि आधारलाई बलियो बनाएका थियौँ । यसका साथै चीनमा हामीले अझ बढी समानतापूर्ण सामाजिक संरचनाको सिर्जना गरेका थियौँ । चीन स्वतन्त्र भएपछिका दुई दशकसम्म हामीले आर्थिक उछालका लागि बलियो जग हालेका थियौँ । ढोका खोलेकैले चीनको अर्थतन्त्र फस्टाएको होइन, बरु हाम्रो जग बलियो थियो, कारण त्यो हो । त्यति नै बेला भारतले पनि आफ्नो अर्थतन्त्रको ढोका खोलेको थियो । तर, त्यहाँ हामीले कुनै आर्थिक उछाल देखेनौँ । केही वर्षअघिदेखि मात्र हामीले भारतमा आर्थिक प्रगति देखेका हौँ । भारतको अर्थतन्त्रमा हालसालै मात्र उछाल आउन थालेको छ ।
चीनबारे अर्को गलत बुझाइ छ । खुला नीति लिएपछि, अर्थतन्त्रका केही विशेष आर्थिक क्षेत्र बनाएपछि अर्थतन्त्र स्वाभाविकरूपमा उकालो लाग्छ भन्ने छ । यो कुरा साँचो होइन । तपाईँको अर्थतन्त्र आफैँ बढ्नेछैन । तपाईँले समस्याहरू हल गर्नुपर्ने हुन्छ । जस्तो अझ समानतापूर्ण सामाजिक संरचना, बलियो कृषि क्षेत्र, औद्योगिक आधार र धेरै बलियो शिक्षाको जग चाहिन्छ । अहिले नेपालमा बलियो शैक्षिक जग छ, तपाईँहरूकहाँ बलियो स्वास्थ्य व्यवस्था छ । तर, कृषि क्षेत्र अत्यन्त कमजोर छ । कृषिको स्थिति झन् खस्किँदो छ । किनभने, मैले सुनेअनुसार नेपाल पहिले कृषि उपज निर्यात गर्ने देश थियो । अहिले तपाईँहरूले ठूलो मात्रामा भारतबाट कृषि उपज आयात गरिरहनुभएको छ । केही दिनअघि मात्र मैले ‘काठमाण्डु पोस्ट’ पत्रिकामा पढेको अलिकति तथ्याङ्क सुनाउन चाहन्छु ।
मैले भेट्ने नेपालका राजनीतिज्ञ, नेता, व्यापारी तथा साधारण जनताले अहिले ‘हामी भारतमा, चीनमा अझ बढी विद्युत् निर्यात गर्न चाहन्छौँ, त्यसपछि हामीकहाँ पनि स्वतन्त्र अर्थतन्त्र हुनेछ’ भनिरहेका छन् । वास्तविकता के हो, म भन्न चाहन्छु नेपाली मित्रहरू । गत आर्थिक वर्षमा तपाईँहरूले भारतमा १० अर्ब रूपैँया बराबरको विद्युत् निर्यात गर्नुभयो । तर, भारतबाट कति मूल्य बराबरको विद्युत् आयात गर्नुभयो त मेरा नेपाली मित्रहरू ? तपाईँहरूले भारतबाटै १९ अर्ब रूपैँया बराबरको विद्युत् आयात गर्नुभयो । विद्युत् उत्पादनमा गर्व गरिरहेकै बेला तपाईँहरूले विद्युत् व्यापारमा घाटा व्यहोर्दै हुनुहुन्छ । के यसले स्वतन्त्र अर्थतन्त्रको निर्माण होला ?
यो आर्थिक वर्षको पहिलो महिनामा तपाईँहरूले भारतबाट कति अन्न आयात गर्नुभयो, थाहा छ ? वर्षभरि होइन, एक महिनामा मात्र तपाईँहरूले भारतबाट ७ अर्ब रूपैँया बराबरको अन्न आयात गर्नुभयो । यसलाई १२ महिनाले गुणा गर्नुहोस् । एक वर्षमा मात्र तपाईँहरूले १०० अर्ब रूपैँयाको कृषि उत्पादन आयात गर्नुहुनेछ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुहोस् भनेर मैले नेपाल सरकारलाई पनि सुझाव दिएको थिएँ । त्यो धेरै महत्वपूर्ण छ । अर्को कुरा तपाईँहरूकहाँ बलियो औद्योगिक आधार छैन । औद्योगिक उत्पादन कूल गार्हस्थ उत्पादनको १४ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ । अहिले तपाईँहरूले प्रत्येक औद्योगिक उत्पादन भारत, चीन र विश्वका अन्य देशबाट आयात गरिरहेको देख्न सकिन्छ । तपाईँहरूले केही पनि उत्पादन गरिरहनुभएको छैन ।
जब म नेपाली राजनीतिक नेतृत्व र मित्रहरूलाई भेट्छु, उहाँहरू चीनसँग हाम्रो ठूलो व्यापार घाटा छ भन्नुहुन्छ । नेपालले आफ्नो उत्पादनलाई चीनमा निर्यात ग¥यो भने हामी त्यसलाई स्वागतै गर्नेछौँ । तर, समस्या के भने तपाईँहरूले केही पनि उत्पादन गरिराख्नुभएको छैन । न कृषि उत्पादन छ, न औद्योगिक उत्पादन । त्यसैले म यहाँ गुणस्तरीय कृषि उपज र औद्योगिक मालसामान उत्पादन गर्ने नेपालको क्षमतामा सुधार ल्याउन नेपाल सरकारसँग हातेमालो गर्दै छु । दुई महिनाअघि हामी साइलेज (पशुको आहार) को पहिलो खेप चीन निर्यात गर्न सफल भयौँ । यो एउटै कृषि उपजको भविष्य पनि राम्रो छ । मेरा नेपाली मित्रहरू, चीनमा प्रतिवर्ष ३ करोड अमेरिकी डलर बराबरको साइलेज निर्यात गर्ने सम्भावना छ । तपाईँहरूको कृषि क्षेत्रमा ठूलो सम्भावना छ । त्यो सम्भावनाको ढोका खोल्न आवश्यक छ ।
यहाँ प्रस्तुत भएको कार्यपत्रबाट मैले अर्को महत्वपूर्ण शिक्षा निकालेको छु । त्यो हो तपाईँहरूले सही समयमा सही नीति तर्जुमा गर्नुपर्छ । सन् १९४९ मा नयाँ चीनको स्थापना हुँदा हामीकहाँ निकै सीमित स्रोतसाधन थिए । चिनियाँ जनताबिच ती स्रोतसाधनको समान वितरण गर्नु नै त्यतिबेलाको सरकारको प्रमुख कार्य थियो । सबै चिनियाँ जनताले त्यसबाट लाभ लिन पाऊन् र आफ्नो क्षमता प्रदर्शन गर्न समान अवसर पाऊन् भन्नेमा चीन सरकारको ध्यान थियो । यसले गर्दा दुई दशकमा हामीकहाँ एउटा बलियो जग बन्यो । त्यसपछि हामीले विश्वव्यापीकरणलाई अङ्गाल्यौँ । बलियो जगका साथ हामीले अर्थतन्त्र खुला ग¥यौँ । यसले गर्दा चीनले झन्डै ३० वर्षसम्म १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धिको लाभ लिन सक्यो । सही समयमा सही नीति लिनुपर्छ भनेको यही हो ।
भारतले पनि तिनै नीतिहरू लागु गर्दै छ । तर, समय सही भएन । त्यसैले अर्थतन्त्रको ढोका खोल्दैमा भारतमा आर्थिक वृद्धि आएन । त्यसैले अहिले चीनको भविष्य कस्तो छ ? अहिले चीनको लागि सही नीति के हो ? अहिले हामी आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेका छौँ । यसले हाम्रा उद्योगहरूको स्तरोन्नति भएको छ । हामी चीनलाई मध्यम आमदानीको जालोबाट बाहिर निकाल्न चाहन्छौँ । यसको अर्थ चीनले ढोका बन्द गर्ने होइन, विश्वलाई अझ बढी अँगाल्नुपर्छ । संरा अमेरिकाले चीनसँग हेलमेल बढाउन नचाहे पनि हामी विश्वसँग हातेमालो बढाउन चाहन्छौँ । यसमा नेपाल पनि पर्छ । त्यही भएर हाम्रा राष्ट्रपतिले बीआरआई परियोजना अघि सार्नुभएको हो । कार्यपत्र प्रस्तोताले भनेजस्तो यो भूराजनीतिक हतियार होइन । यो परियोजना विकासशील देशहरूको निम्ति उपहार हो ।
बीआरआई परियोजना अपनाउने देशहरूले तीव्र गतिमा प्रभावकारी आर्थिक वृद्धि हासिल गरेका छन् । अफ्रिका र दक्षिणपूर्वी एसियामा त्यही हुँदैछ । केही हदसम्म दक्षिण एसियामा पनि त्यही भइरहेको छ । अहिले हाम्रो नीतिले प्रविधिमा ठूलो लगानी गर्नुपर्नेमा जोड दिएको छ । हामीले आफ्नो गार्हस्थ उत्पादनको झन्डै दुई प्रतिशत अनुसन्धान र विकासमा लगानी गरेका छौँ । अहिले उच्चप्रविधिको क्षेत्रमा हामीले ठूला उपलब्धि हासिल गरेका छौँ । अन्तरिक्षमा चिनियाँ स्पेस स्टेशन घुमिरहेको छ । चिनियाँ पनडुब्बीहरू समुद्रमा दश हजार मिटर मुनिसम्म पुग्न सक्छन् । जमिनमा हामी १० हजार मिटरमुनिसम्म खन्न सक्ने भएका छौँ । संरा अमेरिकाले कडाभन्दा कडा प्रतिबन्ध लगाउँदासमेत केही दिनअघि हुवावेले ५–जी सेवासहितको नयाँ स्मार्टफोन ल्याएको छ । यी सबै उदाहरणबाट चीनले कसरी प्रविधिमा लगानी गर्दै छ भन्ने कुरा स्पष्ट हुन्छ ।
हामी हाम्रो समग्र उद्योगतन्त्रको स्तरोन्नति गर्न चाहन्छौँ । चीन बढ्दै छ, हाम्रो भविष्य उज्ज्वल छ । हामी सम्पूर्ण विकासशील देशहरूलाई यसबाट लाभ दिन चाहन्छौँ । खासगरी हाम्रा नेपाली मित्रहरूलाई लाभ पु¥याउन चाहन्छौँ । त्यसैले नेपाली मित्रहरूलाई मेरो सुझाव के छ भने तपाईँहरूले आर्थिक संरचनाको पुनःसंरचना गर्नु आवश्यक छ । हामी त्यसो गर्न सक्छौँ । त्यसको लागि तपाईँहरूले चीनको आर्थिक संरचनामा ध्यान दिनुपर्छ । आफ्नो आर्थिक संरचनालाई चिनियाँ आर्थिक संरचनामा अझ घनिष्ट बनाउनुपर्छ । उदाहरणको लागि तपाईँहरूको प्रमुख कृषि उत्पादनको बजार चिनियाँ बजार हुनसक्छ । कृषि उत्पादन बढाउँदै गर्दा तपाईँहरूले चीनको घरेलु कृषि मानकलाई बढी ध्यान दिनुपर्छ । चीन आफ्ना नीतिनियम तर्जुमा गर्दा पनि तपाईँहरूले त्यसमा ध्यान पु¥याउनुपर्छ । अनि तपाईँहरूले सजिलै आफ्ना उत्पादन चीनमा निर्यात गर्न सक्नुहुनेछ । यति गरे चीनको आर्थिक वृद्धिको लाभ नेपालमा महसुस गर्न सकिनेछ । म यहाँ सोही उद्देश्यपूर्तिका लागि काम गर्दै छु ।
यस कार्यक्रममा सहभागी भएर जन्मेका विचार मैले यहाँसामु राखेँ । म गलत हुनसक्छु । म गलत भए सच्याइदिनुहोला । म यहाँ आएको आठ महिना मात्र भयो । त्यसैले नेपालको यथार्थ जानकारी लिन र चीन तथा नेपालबिच सम्भाव्य साझेदारी पहिचान गर्न मैले अझ बढी अध्ययन भ्रमण गर्नुपर्नेछ । सबभन्दा महत्वपूर्ण कुरा मेरो विचारमा नेपाली जनतालाई अझ सम्पन्न, अझ आधुनिक र अझ समृद्ध जीवनयापन गर्ने अधिकार छ । मैत्रीपूर्ण छिमेकीको रूपमा हामी चिनियाँ जनता त्यो सपनालाई साकार पार्न नेपाली जनतासँग हातेमालो गर्न चाहन्छौँ । धेरै–धेरै धन्यवाद !
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *