भर्खरै :

नेपालको राजधानीमा दलितको अवस्था

नेपालको राजधानीमा दलितको अवस्था

काठमाडौँ उपत्यका नेपालको राजधानी हो । यहाँ अन्य जिल्लाहरूमा भन्दा शिक्षित प्रतिशत बढी छ । त्यसअनुसार यहाँका जनतामा चेतनाको स्तर पनि बढी नै हुनुपर्ने हो । तर, विडम्बना राजधानीकै वरिपरीका गाउँहरूमा अझै पनि छुवाछुत र दलितप्रति गरिने भेद्भाव यथावत छ ।
यहाँ गैरदलित समुदायका मानिसहरूले दलित त मान्छे नै होइन भनेझैँ व्यवहार अझै गर्छन् । केही शिक्षित ब्यक्तिले दलितप्रति सहानुभूति देखाएजस्तो गर्छन् तर आफ्नो घरभित्र प्रवेशको प्रसङ्ग आएपछि भने ऊ तर्सन्छ । काठमाडौँ उपत्यका वरिपरीका गाउँहरूमा अझै पनि गैरदलितले दलितलाई घरभित्र पस्न प्रतिबन्ध लगाईरहेकै अवस्था छ ।
उनीहरूले दलितलाई धारा, पँधेरामा पानी लिन जाँदासमेत फरक व्यवहार देखाउँछन् । धारा, पँधेरामा दलितले अझै पनि अपमान सहनु पर्छ । ठूला जातिका केही पुराना सोच भएकाहरूले दलितले टेकेको ढुङगा समेत सुनपानीले चोख्याउने गर्छन् । क्षेत्री, बाहुन समुदायका मानिसहरूले विहानीको समयमा धारामा मन्त्रोच्चारण गरी सूर्यलाई जल चढाउने कार्य गर्छन् । त्यतिबेला कुनै दलित धारामा पुग्दा क्षेत्रीबाहुनको जल चढाउने बिधि सम्पन्न नहुञ्जेलसम्म कुरिरहनुपर्छ । दलितले हतार छ पानी थाप्छु भन्यो भने ठूला जातिका भनाउदाहरूले अपशब्द प्रयोग गरी गाली गर्छन् ।
नेपालको संविधान २०७२ को धारा २४ उपधारा १ मा “कुनै पनि व्यतिmलाई निजको उत्पत्ति, जात ,जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत भेद्भाव गरिने छैन” भन्ने उल्लेख छ । तर, काठमाडौँ उपत्यका वरिपरी नै दलितले अपमान सहनुपरेको छ । अधिकांश दलितहरूको आर्थिक अवस्था ज्यादै कमजोर छ । आर्थिक कमजोरीकै कारण दलित समुदाय शिक्षामा पनि अघि बढ्न सकिरहेका छैनन् । केही एकाध दलितहरू शिक्षामा अगाडि बढेर आर्थिक अवस्था पनि राम्रो बनाएका छन् । तर, त्यस्ता ब्यक्तिहरूले आफ्नै समुदायका अशिक्षित र अलि नहुने दलितलाई हेप्ने प्रवृत्तिको पनि विकास हुँदैछ । यो दलित समुदायमा देखिएको रोग हो । यसबारे दलित समुदाय सचेत हुनुपर्छ ।
काठमाडौँ उपत्यका नजिकका गाउँहरूमा अझै पनि बालीघरे प्रथा (विष्ट कमाउने) कायम छ । दलितलाई वर्षभरि काम गर्दा विष्टले १–२ पाथि धान्, गहुँ, मकैलगायतका अन्न दिने चलन छ । दलितले विष्टको घरमा चाड्बाड, बच्चा जन्मँदा, विवाह, ब्रतवन्ध, पूजा भएको बेलामा गएर काम गर्नुपर्दछ । विष्टले काम गरेपछि केही अन्नपात र चिया खर्च दिने गर्छन् भने दसैँ पर्वमा दलितलाई खसी, बोकाको पुच्छर छुट्याई दिने चलन छ । आर्थिक अवस्था कमजोर भएका दलितले त्यसैबाट आफ्नो दसैँ मनाउँछन् । नयाँ पुस्ताका दलितहरू यो चलनबाट खुसी छैनन् । उनीहरू आफू अपहेलित हुनुपरेको महसुस गर्दैछन् । तर, आर्थिक उपार्जनको अरू उपाय नभएपछि बाबुबाजेको पालादेखि गर्दै आएको काम हो, खान र केहि खर्च आइहाल्छ भन्ने आशाले नयाँ पुस्ता पनि यो काम गर्न बाध्य छन् । यो मानसिकतामा दलित अझै कति बाँच्ने ? राज्यले यसको समाधान खोज्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *