भर्खरै :

सहकारीको स्थायित्व सञ्चालकको इमानदारिता र सेवामा भरपर्ने

सहकारीको स्थायित्व सञ्चालकको इमानदारिता र सेवामा भरपर्ने

काठमाडौँ, ४ असोज । मिर्मिरे सहकारी संस्था लिमिटेडको १७ औँ साधारणसभा बुधबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रचण्डको सरकार भारतको हितको लागि बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारतलाई घाटा हुने केही काम गरेमा यो सरकार ढल्छ । यसको उदाहरण अहिले भइरहेको बिजुली व्यापार हो । नेपालले १८ अर्ब बराबरको विद्युत् किनेको छ भने नेपालले सस्तो दरमा भारतलाई बेचेर ९ अर्बमात्र आम्दानी गरेबाट पुष्टि हुन्छ । पुँजीवाद भनेको आफूसँग नभएको थाहा हुनेबित्तिकै मूल्यवृद्धि गरिहाल्छ । अहिले नेपालीहरू ग्यासमा निर्भर भएकाले अहिले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धि भएको हो ।”
सहकारी र बैङ्कको फरक भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “बैङ्कमा सेवाभाव कम हुन्छ । सहकारीको स्थायित्व संस्थाका पदाधिकारी सञ्चालकको तयारी, इमानदारिता र सेवाभावमा निर्भर रहन्छ । व्यापारी सहकारीहरूले लाखौँ जनतालाई ठगी गरेका छन् ।”
सहकारीले सदस्यहरूको स्वास्थ्यलाई ध्यानमा राखी नियमितरूपमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले विषादीयुक्त तरकारी नेपालमा खुलेआम आयात भइरहेकोले स्वच्छ र स्वस्थ तरकारी उत्पादन गर्ने र आर्थिक उपार्जनमा ध्यान दिन सहकारीले पहल गर्नुपर्ने बताउनुभयो ।
सहकारी क्षेत्रमा महिलाको सहभागिता बढेको चर्चा गर्दै उहाँले महिलाहरूलाई श्रमशक्तिमा रूपान्तरण गर्न शिशु स्याहारको व्यवस्थापन गर्न सहकारीलाई सुझाव दिनुभयो ।
समुदायमा आधारित मिर्मिरे सहकारीलाई अगाडि बढाउन जरूरी छ । तल्लो वर्गलाई उत्थान गर्ने सोच राखी सहकारीलाई अगाडि बढाउन आवश्यक छ, उहाँले भन्नुभयो ।
सभामा सिद्धि गणेश सहकारीका विष्णुप्रसाद दुमरू र कर्मयोगी साकोसका कलमबहादुर डंगोललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा शोभालाल श्रेष्ठले पनि बोल्नुभएको थियो । सभाको दोस्रो सत्रले संस्थाका प्रतिवेदनहरू पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *