भर्खरै :

भारत क्यानाडाबिच तनाव र नेपाल

भारत क्यानाडाबिच तनाव र नेपाल

भारतीय जासुसी निकायका सुरक्षा अधिकारीहरू नेपाली कारागारभित्र पसेर नेपालीको हत्या गरेको घटना त धेरै नेपालीहरूलाई अझै याद होला । नेपालीहरूलाई नेपाल सरकारको स्विकृति विना भनौ नेपाल सरकारलाई थाहै नदिई अपहरण गरेर भारत लगेको थुप्रै घटना पनि पटक–पटक घटिसकेका छन् । तर, नेपालको सार्वभौम अधिकारमाथि नाङ्गो हस्तक्षेप गर्दा पनि नेपालले खुलेर विरोध गर्न सकेको छैन । ससाना छिमेकी मुलुकहरूमाथि हस्तक्षेप गर्ने सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदी तल्लो स्तरको सिनेमाको संवाद बोलेजस्तै भन्थे, “हामी घरमै घुसेर मार्छौँ ।” यस्तै एउटा घटना हालै क्यानाडामा घटेको छ । तर, यसपटक मोदीले आफ्नो प्रचलित संवाद “घरमा घुसेर मार्छौँ” भन्न सकेन । किनकि, क्यानाडा नेपाल होइन । सन् २०२३ जून १८ मा भ्यानकुभर उपनगरमा अवस्थित एउटा सिख मन्दिर बाहिर गोली हानी खालिस्तान समर्थक क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या भएको थियो । उनको मृत्युले तुरुन्तै स्थानीय सिख समुदायमा चिन्ता र आक्रोश बढाएको थियो ।
यस घटनाको विरोध गर्दै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने, “क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो ।” क्यानाडाली प्रधानमन्त्रीले खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको हत्याको अनुसन्धानमा सहयोग गर्न भारतलाई सार्वजनिकरूपमा आह्वान गर्दै अन्तर्राष्ट्रिय विवाद चर्काएका छन् । दुबैले एकअर्काका कूटनीतिज्ञहरूलाई निष्कासन गरेकाले उनीहरूको सम्बन्धको भविष्यमाथि पनि प्रश्न उठेको छ । भारतले क्यानाडाको दाबीलाई अस्वीकार गर्दै ‘बेतुक’ को र ‘राजनीतिकरूपमा प्रेरित’ भन्दै भारतले क्यानाडाका कूटनीतिज्ञहरूविरुद्ध ‘सुरक्षा खतरा’ भएको निहुँमा क्यानाडाली नागरिकहरूको लागि भिसा सेवाहरू निलम्बन गरेको छ ।
अहिलेको तनाबले क्यानाडाका केही भागहरूमा खालिस्तान आन्दोलन समर्थकहरू भनेर चिनिनेहरूले भारतको पञ्जाब क्षेत्रमा सार्वभौम राज्यको लागि सिख अभियानलाई सहयोग गरिरहेको भनेर दुई देशबिच लामो समयदेखिको तनावलाई उजागर गरेको छ ।
तीन महिनाअघि घटेको घटना अहिले आएर उजागर हुनुमा फात् आइज (Five eyes) को भूमिका रहेको जानकारीमा आएको छ । भारतले खालिस्तानी आतङ्ककारीको नाममा निज्जरको हत्याबारे क्यानाडाले फात् आइजबाट गुप्तचर सूचना प्राप्त गरेको थियो । यस गुप्तचरको स्रोत ‘फात् आइज’ गठबन्धनभित्रको एक अज्ञात गठबन्धन हो । अवस्थाको जटिलता र कथित हत्याको सामना गर्न क्यानाडाको सार्वभौमिकताको महत्वलाई फात् आइजका राष्ट्रहरू क्यानाडाको पक्षमा देखिएका छन् । क्यानडाले खालिस्तानी पृथकतावादी हरदीप सिंह निज्जरको हत्याको सम्बन्धमा फात् आइज साझेदारहरूबाट गुप्तचर सूचना प्राप्त गरेको थियो । यो विवादको पछाडि मुख्य भूमिका फात् आइजका एक सदस्य अमेरिकाको भएको धेरैको अनुमान छ । अमेरिकाले नै यसबारे गुप्त जानकारी क्यानाडालाई दिएको भनिन्छ । यसैको आधारमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए ।
फात् आइज (Five eyes) के हो ?
संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्ड पाँचवटा अङ्ग्रेजी बोल्ने देशहरू मिलेर बनाइएको ‘फात् आइज’ एउटा गुप्तचर गठबन्धन हो । यी पाँच देशहरूले सिग्नल इन्टेलिजेन्स (SIGINT) र एक अर्कासँग खुफिया जानकारी साझा गर्ने सहयोगको लामो समयदेखिको इतिहास छ । यो गठबन्धन राष्ट्रिय सुरक्षा उद्देश्यका लागि खुफिया जानकारी सङ्कलन र साझेदारीमा केन्द्रित छ । इलेक्ट्रोनिक निगरानी, कोड–ब्रेकिङ र खुफिया साझेदारीजस्ता क्षेत्रमा निकट सहयोगको लागि परिचित छ । नामको सन्दर्भमा ‘आँखा’ प्रायः निगरानी वा हेराइको कार्यलाई प्रतीकको रूपमा प्रयोग गरिन्छ जुन गुप्तचरको प्रमुख पक्ष हो । यसको नाम गुप्तचर साझेदारीलाई जोडेर बोलचालको भाषाको रूपमा विकसित भएको हुनुपर्छ । यो गठबन्धन भारत–क्यानाडा तनावमा कथित भूमिकाका कारण आजकल निकै चर्चामा छ ।
विदेशी हत्या गर्ने मामलामा अमेरिका अगाडि
भारतले क्यानाडाली नागरिको क्यानाडामै गरेको हत्याको गुप्तचर जानकारी दिने अमेरिका सबैभन्दा ठूलो पाखण्डी हो । अमेरिकी गुप्तचरको इतिहास नै हत्याले भरिएको छ । अमेरिकाले विदेशी नेताहरूको हत्या गर्ने प्रयासका असङ्ख्य घटनामध्ये केही घटनाहरू यहाँ उल्लेख गर्नु क्यानाडा–भारत विवादको सन्दर्भमा मनासिब हुनेछ ।
अमेरिकी जासुसी संस्था सीआईएले क्युवाली नेता फिडेल क्यास्ट्रो सत्तामा रहँदा उनको हत्या गर्ने थुप्रै पटक प्रयास गरिएको थियो । क्युवाली नेतालाई विषालु चक्कीहरू र विस्फोटक चुरोटहरूको प्रयोग गरेर हत्या गर्ने प्रयास गरेको थियो । त्यसैगरी, प्रजातान्त्रिक गणतन्त्र कङ्गोका प्रथम प्रधानमन्त्री प्याट्रिस लुमुम्बा शीतयुद्धको समयमा सीआईएको निशानामा थियो । सन् १९६१ मा उनको हत्यामा सीआईएले भूमिका खेलेको थियो । अर्को चर्चित हत्या काण्ड चिलीका राष्ट्रपति साल्भाडोर एयेन्डेको थियो । १९७३ मा चिलीका राष्ट्रपति साल्भाडोर एयेन्डेको अमेरिकी सरकारको समर्थन रहेको सैन्य विद्रोहको क्रममा हत्या भयो ।
संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशहरू २०११ मा लिबियामा सैन्य हस्तक्षेपमा संलग्न थिए जसले अन्ततः देशको लामो समयदेखिका नेता कर्नेल मुअम्मर गद्दाफीको मृत्यु निम्त्यायो । यसमा पनि अमेरिकाको हात थियो । त्यसैगरी, अमेरिकी दादागिरीको पराकाष्ठा पनामामा देखिएको थियो । पनामाका पूर्वसैन्य नेता म्यानुअल नोरिगालाई पक्राउ गरी संयुक्त राज्य अमेरिकामा ल्याएर अमेरिकी अदालतमा मुद्दा चलाएको थियो । एउटा सार्वभौम राष्ट्रका राष्ट्रपतिलाई समेत सामान्य मान्छेलाई जस्तै अपहरण शैलीमा आफ्नो देशमा लगिएको थियो । अर्को घटना इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै जनवरी ३, २०२० मा लक्षित ड्रोन हमलामा मारिएका इरानी कमान्डर कासिम सुलेमानीको मृत्युमा अमेरिकाको संलग्न थियो । ‘जसको लट्ठी उसैको भैँसी’ भनेझैँ अमेरिकाविरोधी अन्तर्राष्ट्रिय नेताहरूको हत्यामा प्रत्यक्ष अमेरिकाको सलग्नता पुष्टि हुँदा पनि उसलाई विश्व समुदायले केही गर्न नसकेको कारण उसको सैनिक र आर्थिक शक्ति हो ।
कुनै पनि देशको सरकारको पहिलो कर्तव्य भनेको सार्वभौम राज्य कायम गर्नु र आफ्ना नागरिककोे सुरक्षा गर्नु हो । यस विषयलाई सम्बोधन गर्न सार्वभौमसत्ताको आधारभूत महत्वमा जोड दिनुपर्छ । हाम्रो देशमा अपराधिमाथि कारबाही गर्ने निहुँमा दादागिरी देखाएर नेपाल पस्ने भारतीय गुप्तचरी कार्यको अन्तर्राष्ट्रिय मञ्चमै क्यानाडाली सरकारले जस्तै नाङ्गेझार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *