भर्खरै :

साँघुरा–फराकिला गल्ली

साँघुरा–फराकिला गल्ली

सप्ताहान्तमा भियतनामी साथी हुईले ख्वानचाइस्याङच घुम्न जान प्रस्ताव गरे । उनले भनेको समयमा भनेकै मेट्रो स्टेसनमा म हतार हतार पुगेँ । बाहिर सिमसिम पानी परे पनि मेट्रोमा त्यसको कुनै अत्तोपत्तो थिएन ।
चिनियाँ भाषामा निपुण हुईलाई हाम्रो गन्तव्यबारे सोध्दा उनले स्वाभाविक लजालु मुस्कानसहित भने, “साँघुरा र फराकिला गल्लीहरू ।” ‘ख्वानचाइस्याङच’ को शाब्दिक अर्थ ‘साँघुरा र फराकिला गल्लीहरू’ रहेछ ।
सिचुवान प्रान्तको छन्तु सहरको चर्चित ख्वानचाइस्याङच पुग्दा त्यहाँको गतिशीलता देखेर म तीनछक्क परेँ । नाम जस्तै एउटा फराकिलो र अर्को साँघुरो गल्लीकै सेरोफेरोमा बनेको ख्वानचाइस्याङचमा हजारौँ मानिसहरू हिँडिरहेका थिए । गल्लीका दुवैतिर पुरानै कायाका तर आकर्षक घरका मौलिक पसलहरूमा मानिसहरू कुनै सङ्ग्रहालयमा जस्तै घुमिरहेका थिए ।
हामी त्यहाँ पुग्दा झमक्क साँझ परिसकेको थियो । हरेक जीवन्त सहर दिउँसो भन्दा राति अझ हिस्सी पर्ने गर्छ । आकाश जति जति अँध्यारो हुँदै गयो, ख्वानचाइस्याङच अझ चहकिलो बन्दै गइरहेको थियो ।


ख्वानचाइस्याङचमा मानिसहरू कुनै नयाँ कुरातिर भन्दा पुराना संरक्षित वस्तु हेर्न उत्सुक देखिन्थे । ख्वानचाइस्याङच कुनै बेला छन्तुको पुरानो उपनगरी हुनुपर्छ । पुराना सम्झना बोकेको एउटा सामान्य गाउँ । त्यहाँका घररूमा पुराना शैलीका बुट्टा कुँदिएका छन्; ठाउँ–ठाउँमा ढुङ्गाका ढोका छन् । घरका छाना पुराना शैलीको खप्टाले छाएका जस्ता कलात्मक छन् । बाटोमा ढुङ्गा बिछ्याइएको छ । आकाश छुने अग्ला–अग्ला भवनको छन्तुमा कुनै कमी छैन । तर, मानिसहरू ख्वानचाइस्याङचका भित्री चोक भएका एकतले पुराना घर हेर्न आइरहेका थिए ।
त्यहाँका केही पसलमा पुराना काठे फर्निचरलाई नकुहिने गरी रङरोगन गरी निकै उँचो मूल्यमा बिक्रीमा राखिएका थिए । काठका ती दराज, काठे कुर्सी, बैठक कोठामा सजाइएका पुराना सजावटलाई अहिले नवीनता दिएर आयआर्जनको माध्यम बनाइएको थियो ।
फराकिलो गल्लीको एउटा कुनामा लेखिएको थियो– ‘चीनको चीनमा स्वागत छ ।’ सामान्यतः तस्बिर खिच्न उति जागर नगर्ने हुईलाई समेत त्यो ठाउँमा फोटो खिच्न मन लागेछ । ‘चीनको चीनमा’ हुईको फोटो खिचेँ ।


चिया र चीन आपसमा नजिकबाट जोडिएको छ । चिया चिनियाँ जीवनको अनिवार्य हिस्साजस्तै छ । युनानको सिज्वान पानामा हामीले सयौँ वर्ष पुरानो चियापति हेरेका थियौँ । चियापति जति पुरानो हुन्छ, कुरा पनि उति नै गहिरो हुन्छ भन्ने उखान नै रहेछ । ख्वानचाइस्याङचमा पनि अनेक स्वाद र रङका चिनियाँ चिया बेच्न राखिएका थिए ।
बाटोमा हिँड्ने बटुवालाई मुस्किलले एक घुट्को अट्ने गिलासमा चियाको स्वाद चाख्न दिइरहेका थिए । चीनमा जति धेरै मानिस छन्, उति नै थरी चिया छ कि ! चिया बनाउने चीनको आफ्नै कला छ । पसलहरूमा सुन्दर युवतीहरू चिया बनाउने आफ्नो कला बाटोमा हिँड्दै गरेका बटुवासमक्ष प्रदर्शन गरिरहेका थिए ।
केही युवतीहरू चीनको परम्परागत सांस्कृतिक पहिरन लगाएर तस्बिर खिच्न पर्यटकहरूलाई आग्रह गरिरहेका थिए ।
हजारौँ मानिसहरू हिंडिरहेको ख्वानचाइस्याङचाको बाटोमा कतै एक टुक्रा फोहोर पनि थिएन । कसैले केही गरी कुनै झुकिएर प्लास्टिक वा कागज खसाले पनि त्यहाँको सरसफाइले गर्दा लाज मान्दै टिपेर वरपर राखिएका फोहोर फाल्ने भाँडोमा राख्दा हुन् ।
कलाकारहरू आफ्ना कला र सीप प्रदर्शन गरिरहेका थिए । मुखाकृति बनाउनेदेखि चिनियाँ शैलीको प्राकृतिक चित्र बनाउने कलाकार, चीनका परम्परागत बाजा बजाउने वाद्यवादक सबैले पर्यटकलाई आकर्षित गरिरहेका थिए । उनीहरूले ख्वानचाइस्याङचमा अझ जीवन भरिरहेका थिए ।


कला, सम्पदा र मौलिकतालाई आय आर्जनसँग जोड्न सकिन्छ भन्ने कुराको राम्रो नमुना हो यो सांस्कृतिक नगरी । पर्यटकहरू आफ्ना परिवार र आफन्तजनका लागि ‘मायाको चिनो’ किन्दै थिए । सिचुवानलाई चिनाउने पाण्डाका चित्र अङ्कित धेरै थरी मौलिक उत्पादनले सबैका घरमा ख्वानचाइस्याङचका स–साना अंश ओसारिरहेका थिए ।
साँघुरा र फराकिला गल्लीभित्र जति जति पस्दै गएँ, मेरो मानसपटलमा भने भक्तपुरको सम्झना अझ गाढा बन्दै गयो । ती गल्ली कुनै बेला भक्तपुरकै जस्ता गल्ली थिए । त्यहाँ प्रदर्शनमा राखिएका पुराना समयका तस्बिरले त्यही भनिरहेका थिए । त्यहाँ पर्यटकलाई खुवाइएका मौलिक परिकार भक्तपुरका योमरी, मुटुमरी, चटामरी, वः जस्तै त थिए । त्यहाँका कलाकारका प्रतिभाजस्तै मौलिकता बोकेका छन् – भक्तपुरका कलाकारले पनि ।
पर्यटक भौतिक संरचना होइन, जीवन्तता हेर्न आउने हुन् भन्ने कुरा ख्वानचाइच्याङचले देखाएको छ ।
ख्वानचाइस्याङचबाट मेट्रोमा फर्किँदै गर्दा भिड बाक्लै थियो । तर, मेरो मन भने ख्वानचाइस्याङच र भक्तपुरको तुलना गर्दै थियो । भक्तपुरमा हुने पोखरी परिक्रमा, योमरी मेला, सांस्कृतिक उत्सवलाई जनताको आयआर्जनसँग जोड्न सके अझ सांस्कृतिक सम्पदा संरक्षण दिगो हुने थियो ।
चिनियाँँहरू आफूसँग भएको सबै कुरालाई सुन्दर ढङ्गले प्रस्तुत गरेर आफ्नै पेट भर्ने बाटो खन्न सिपालु छन् । पुराना फाल्न पर्ने फर्निचर र सामानलाई समेत नवीन जीवन दिएर उनीहरू सिर्जनात्मक व्यापार गर्न सिपालु छन् । आफूसँग भएका, पुर्खाले सयौँ वर्षमा बनाएका सांस्कृतिक सम्पदाले चिनियाँहरू आज र भोलिका पुस्ता पालिरहेका छन् । त्यसको लागि न उनीहरूले कसैसँग खोसे न लुटे । आफ्नै मौलिकता देखाएर सबैको मन जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *