भर्खरै :

नेमकिपा सुर्खेतको नवौँ जिल्ला सम्मेलन उद्घाटन

नेमकिपा सुर्खेतको नवौँ जिल्ला सम्मेलन उद्घाटन

सुर्खेत, २० असोज । नेपाल मजदुर किसान पार्टी सुर्खेतको नवौँ जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
स्थानीय जिल्ला समन्वय समितिको सभाकक्षमा भएको उक्त कार्यक्रममा सचिव सुवालले नेमकिपाले संविधानमा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, युवालाई स्वदेशमा रोजगारी, स्वास्थ्य उपचार निःशुल्क, नेपालीको सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने प्रावधान राख्न संशोधन पेस गर्दा शासक दलहरू नेका, एमाले, माओवादीलगायतले ‘हुन्न’ भनी अस्वीकार गरेकाले शासक दलहरू देश जनताको हितको लागि स्थापना भएका होइनन् भन्नुभयो ।
अमेरिकी सरकारको फोनको धम्कीमा तर्सेर एमसीसी सम्झौता संसद्बाट पारित गर्ने र संरा सङ्घमा रूसविरूद्ध युक्रेनको पक्षमा मत दिने शासक दलहरूबाट देश र जनताको हित नहुने उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “साम्राज्यवादी र सबै प्रतिक्रियावादीहरू कागजका बाघ हुन् । दुई वर्षयता अमेरिकी साम्राज्यवादले संसारका झन्डै पाँच सय ठाउँमा सैन्य हस्तक्षेप ग¥यो । तर, संसारका ९० प्रतिशत जनता अमेरिकी साम्राज्यवादको विरोध गर्दै छन् ।”
माक्र्स–एङ्गेल्सले सुरू गर्नुभएको मजदुर आन्दोलन मागपत्रको आन्दोलन, पेरिस कम्युन, मई आन्दोलन हुँदै सन् १९१७ को अक्टोबर क्रान्तिसम्म अगाडि बढेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले नेपालका मजदुर, किसान, गरिब र कामदारवर्गलाई एक–एक गरी सङ्गठित गर्नुपर्छ ।”
विदेशी लगानीसमेत भएका निजी बैङ्कहरूले नेपालको अर्थतन्त्रमा कब्जा जमाएका छन् । ती बैङ्कहरूले शासक दलहरूमार्फत राजनीतिमा प्रभाव राख्दै छन् । यसकारण, व्यापक जनताको हितमा सरकारबाट काम नभएको हो, सचिव सुवालले प्रस्ट पार्नुभयो ।
“अमेरिकी साम्राज्यवादले भौतिक बलमा संसारका अन्य देशहरूलाई धम्काउने र आक्रमण गर्दै छ । केही वर्षअघि प्रजग कोरियाले अमेरिकासम्म मार हान्न सक्ने हतियार बनाएपछि अमेरिकी साम्राज्यवाद सचेत भयो र प्रजग कोरियाका नेतासँग तत्कालीन अमेरिकी राष्ट्रपति सिङ्गापुर, भियतनाम र पामजुन पुगेर वार्तामा बसे”, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेकाले गरेको कोसी र गण्डक सम्झौतालाई विरोध गरेको एमालेले महाकाली सन्धिमा नेकालाई नै समर्थन ग¥यो । माओवादीसमेत नेका र एमालेसँग मिलेर मािथल्लो कर्णाली, अरूण तेस्रो, पश्चिम सेती, तल्लो अरूण, अरूण चौथो, मुगु कर्णाली, तिला –१ र २ भारतीय एकाधिकार पुँजीलाई दिइयो । केही महिनाअघि भारत गएका प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली भारतीय एकाधिकार पुँजीलाई दिए ।”
नेमकिपाका साथीहरूले पार्टीको प्रकाशन अध्ययन र अन्तरक्रिया गरी आफ्नो राजनीतिक र सांस्कृतिक स्तर उठाउनु जरूरी रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “शासक दलका नेताहरूकै कारण खराब सहकारी सञ्चालकहरूले सर्वसाधारण नेपाली जनताको झन्डै एक खर्ब रूपैयाँ ठगी गरेका हुन् । सिभिल सहकारी, ओरियन्टलको अपरेसन केही उदाहरण हुन् ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश समिति संयोजक सरोजराज गोसाईंले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारामा प्रतिबद्ध क्रान्तिकारी पार्टीले मात्र देश जोगाउन सक्ने भन्दै देशको आर्थिक सङ्कट सचेत मजदुर र किसानहरू सङ्गठित भएर मात्र सामना गर्न सक्छ भन्नुभयो । शासक पार्टीहरूले राज्यको सरकारी पर्ती जग्गा पनि आपसमै बाँडेर लिने गरेको चर्चा गंर्दै संयोजक गोसाईंले समाजको परिवर्तन र जनता दुःखबाट मुक्त हुने उपाय भनेकै कामदारवर्गको आन्दोलन हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरूङले देश र जनताप्रति समर्पित नेमकिपाका कार्यकर्ताहरूसंग शासक दल जहिल्यै अत्तालिने गरेको अनुभव सुनाउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य हरिसुन्दर वासीले जनताको प्रजातन्त्रमा मात्र कामदार जनताको हितमा कानुन निर्माण हुने बताउँंदै शिक्षा र स्वास्थ्य निःशुल्क अनि रोजगारी सुनिश्चित भएमा समाजवादउन्मुख व्यवस्था भन्न सकिन्छ भन्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारको खण्डन पुस्तकबारे चर्चा गर्नुभयो ।
नेमकिपा दैलेखका उपाध्यक्ष लक्ष्मी विकले शासक दलहरूको अन्यायपूर्ण नीति र व्यवहारको विरोधमा नेमकिपाले सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेम थापाले जनघाती शासक दलहरूको कारण भेरी र कर्णाली नदीको बिचमा बसेको सुर्खेतका किसानहरूले सुक्खा खेतमा आकासेभरमा खेती गरिरहनुपरेको छ भन्नुभयो ।
नेमकिपा, सुर्खेत जिल्ला संयोजक हरिबहादुर बोहराको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन समारोहमा धनेन्द्र विक, तुल्सी खड्का तथा नेपाल क्रान्तिकारी युवा सङ्घका लालबहादुर थापा, नेपाल क्रान्तिकारी मजदुर सङ्घका अकल राना, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका राजन विक, नेपाल क्रान्तिकारी महिला सङ्घका विजुकला रानाले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
समारोहमा कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *