भर्खरै :

थरीथरी जनकपुरी

थरीथरी जनकपुरी

रङ्गीला दिदी
दुई नम्बर प्रदेशको राजधानी जनकपुरधाम । जनकपुरधाम चार धामले वेष्टित छ । त्यसमध्ये उत्तरी धाम रङ्गीला दिदीको माइत हो । माइत सबै आमालाई प्यारो हुन्छ । १८ वर्षको उमेरदेखि सरकारी जागिर खान थालेकी रङ्गीला दिदीले केही वर्षअघि माइती नगरमै घर बनाएकी छिन् जागिरलाई सजिलो होस् भनेर । जागिर छ जनकपुरको खाद्य संस्थानमा । लेखापालको जागिर । त्यसैले सरकारप्रति अलि बढी नै गुनासो छ उनको ।
दिदीको वर्गीय दृष्टिकोण अद्भूत छ । कृषकहरूलाई उनले दुई कित्तामा बाँडेकी छिन् । जुत्ता लगाउने र चप्पल लगाउनेहरू भनेर । खाद्य संस्थानले किसानको अन्न किनिदिन्छ । दुई नम्बर प्रदेशमा मात्र तीन ठाउँमा यसका शाखा छन् । यिनताका सरकारले बढीमा ५० हजार क्विन्टल अन्न किन्दै आएको छ । तर, जताततै जुत्ता लगाउनेहरूको अन्न मात्र सरकारले किनिरहेको छ । यसले गर्दा चप्पल लगाउनेहरू हतोत्साही भएको उनको गुनासो छ । सरकारले सबै किसानको अन्न किन नकिन्ने ? चप्पल लगाउने किसानहरूलाई हौसला दिएर कृषि उत्पादन किन नबढाउने ? उनको सवाल छ । रासायनिक मलको काम कृषि औजार संस्थानले गर्छ । उसले समयमै मल उपलब्ध नगराएकैले धेरै किसान मर्कामा छन् । उसले नेपालमै मल कारखाना किन नखोल्ने ? मान्छेलाई कारखाना र खेतमा काम दिएर विदेश जाने परिपाटी किन अन्त्य नगर्ने ? उनका सवालहरूको अर्को लहर हो ।
सरकारी कार्यालयमा बसेपछि उल्टोसुल्टो सबै हेर्नुपर्छ । धेरै त उल्टो हुन्छ । अनुदानमा जाने धेरैजसो कृषि सामग्रीहरू जुत्ता लगाउनेहरूको हातमा पर्छ । ती सामग्रीको कुनै प्रयोग हुन्न । चप्पल लगाउनेहरूले तिनै सामान पसलमा गएर किन्नुपर्छ । जुत्ता लगाउनेहरूले ती सामग्री लगेर पसलमा त बेच्दैनन् ? उनको आशङ्का छ ।
इमानदार कर्मचारीलाई काला कर्तुतहरूमाथि आँखा चिम्लन गाह्रो हुन्छ । बजारमा एउटा आलिसान भवन देखाउँदै उनले भनिन्, “यो घरमा कुनै पनि चीज नेपालको छैन । सबै चीज विदेशबाट झिकाएर बनाएको हो । यो घर बनाउन कति पैसा हजम गरेको होला हाम्रो वडा अध्यक्षले ? आफँै अनुमान गर्नुहोस् !”
कहिलेकाहीँ मान्छे पराइसामु बढी खुल्छ । सायद यिनै कारणले रङ्गीला दिदी खुल्दै गइन् । पातला आँखा । पातलै ओठ । हँसिलो मुहार । आवेगपूर्ण बोली । शबाना आजमीजस्ती । उनीजस्ती साहसी छोरी जन्माउन सक्ने मिथिला सभ्यताप्रति गर्वबोध भयो ।
मनीष दाइ
गंगासागरको दक्षिणपूर्वी कुनामा एउटा ससानो चौतारी छ । चौतारीनजिकै चिया पसलमा भेटिन्छन् मनीष दाइ । नजिकै नीलो जस्ताले घेरेको उनको फर्निचर पसल छ । दुईचार वर्ष साउदी गएर उनले फेरि साउदी नजाने गरी सीप सिकेर आए । फर्निचर चलाउन चाहिने सबै सीप । फर्निचरमा उनी आफू मात्र काम गर्दैनन् । दुईजना युवकहरूलाई पनि काम दिलाएका छन् । चल्तीको भाषामा उनी एक उद्यमी हुन् ।
कोरोनाका लकडाउनहरूले उनको पेसा अहिले मरणासन्न छ । उद्यमशीलताको प्रचार गर्ने सरकारलाई उनको चिन्ता छैन । अहिले उनी सामान्य मजदुरको स्थितिमा छन् । बरु मजदुरको भाउ उनको भन्दा चर्को छ । जानकी मन्दिरभन्दा अलि परतिर बा¥ह र बाउन्न बिघा नामका दुई ठूला मैदानहरू छन् । बा¥ह बिघाको पर्खालमा मजदुर बजार छ । जनकपुर घुमाएर उनी मलाई मजदुर बजार लग्छन् । मजदुर महँगा छन्, उनी गरिब छन् । जसोतसो उनले दुईजना मजदुरलाई दिनभरको लागि पसलमा बोलाउँछन् ।
रेलवे जक्सनको ठीक अघि छ भानुचोक । भानुचोक अर्थात् जनकपुरको राजनीतिक चहलपहल हुने चोक । तर यही दलालहरूको अर्को चोक पनि छ । आजभोलि भानुचोकको राजनीतिक महफिल यिनै दलालहरूको हातमा छ । मनीष दाइ यिनलाई घृणा गर्छन् । आफ्नो पसिनाको गन्ध नआउने कमाइप्रति उनको घृणा छ । गाउँको मुहार फेर्न अब राजनीतिमा जानुपर्ने उनले देखेका छन् । तर, उनलाई शासक पार्टीहरूमा रुचि छैन । अनौठो दोसाँधमा छन् । परिवर्तनकारी सोचलाई माया गर्छन् । एक अपरिचित र प्रगतिशील युवकलाई आफ्नो सभ्यतास्थल घुमाउँदा मख्ख पर्छन् । विद्रोह गर्ने, परिवर्तन गर्ने जोशजाँगर छ । तर बाटो देखेका छैनन् । यसमा उनको चस्माको बाक्लो सिसाको दोष छैन ।
मानव काका
गंगासागरको बिचमा एउटा पुस्तकालय छ । ०१२ सालमा स्थापित । नाम ‘सार्वजनिक पुस्तकालय’ । यो पुस्तकालय धेरै समय बन्द थियो । यसलाई नवजीवन दिने श्रेय जान्छ मानव काकालाई ।
मानव काका बलिप्रथाका कडा विरोधी हुन् । गंगासागरको पश्चिम मोहोडामा छ राम मन्दिर । दसैँमा यही एउटा मन्दिरमा मात्रै लाखौँ बाख्राको बलि दिने चलन छ । ईश्वर र परम्पराको नाममा हुने यस्ता अनेक विकृति काकाका लडाइँका विषयवस्तु हुन् । सती, बलि, देवदास, दहेजजस्ता सबै प्रथाप्रति उनको आपत्ति छ । उनी वर्ण विभेद, छुवाछूत, बालविवाहका पनि विरोधी हुन् । सभ्य समाज निर्माणका लागि उनी जनकपुरीहरूको अन्धविश्वास र अज्ञानता पखाल्न चाहन्छन् । त्यसैले झन्डै एकडेढ दशक अघि उनले अलिकति खर्च गरेर मृतप्रायः पुस्तकालय पुनः सञ्चालन गरे । यसको लागि उनी धेरै राजनीतिक दलका नेताहरूको आँखी हुनुप¥यो । तर, बहुजनका आँखा खोल्न अल्पजनको आँखी हुन उनलाई मञ्जुर थियो ।
सभ्यता जति पुरानो भयो, त्यसका बन्धनका सिक्रीहरू पनि त्यत्तिकै पुराना हुन्छन् । जस्तो, गुट्खा र खुला मूत्र बिसर्जनले जनकपुर देशका अन्य धार्मिक स्थलभन्दा बढी दुर्गन्धित छ । भारतीय सहरहरूको तुलनामा जनकपुर सफा नै हो । यद्यपि, मानव काका आफ्नो जन्मस्थल अझ सफा पार्न चाहन्छन् । मानसिकरूपमा स्वस्थ जनकपुरको सपना सँगालेका काका सहरलाई खराबी मुक्त पार्न चाहन्छन् । यिनै सपनाहरूबिच काका मधुर मुस्कान छोड्छन् । एक आशादायी वाम मुस्कान ।
समयसँग नचल्ने धेरै सभ्यताहरू हराएर गएका अनेकौँ दृष्टान्त छन् । आफ्ना रक्षकहरू जन्माउन नसक्ने सभ्यता अभागा हुन्छ । यस मानेमा जनकपुर नगरीको गर्भ बाँझो छैन । स्वप्नदर्शी मानव काकालाई सलाम ! सपना पूरा गर्न सयौँ ‘मानवहरू’ जन्माउनुपर्नेछ भन्ने उहाँलाई थाहा पो छ त !
साधु ‘महाराज’
जनकपुर धाम हो । साधुहरूको क्रिडास्थल ।
जानकी मन्दिरको छेउमा रामसीता विवाहमण्डप छ । प्यागोडा शैलीमा निर्मित मण्डपको एक कुनामा ठूलो बरको रुख छ । रातको समय । एक बाबा रुखमुनि बोरा ओछ्याएर सुत्दै छन् । सेतै दा¥ही पालेका । रुग्ण र निष्कपट । उनी दिनको दुई छाक खानाको जोहोमा मन्दिरअगाडि हात थाप्ने बाबा हुन् । ईश्वरसँग न उनलाई अनुराग छ, न कुनै अनुताप । बस दुई छाक खान पाए पुग्यो । यही उनको कर्म हो, यही धर्म हो ।
रामानन्द चोकमा घर फर्किँदै गरेका गृहस्थ साधु भेटिए । भारतबाट रामायण सुनाउन जनकपुरधाम सवारी भएका बाबा भेट्न आएका थिए । तीन दिन रामायण श्रवण गरेकोमा उनी प्रसन्न थिए । रामायण सुनाउन त उनलाई पनि आउनुपर्ने ! भारतका बाबाले मिलाएर सुनाउँछन् भन्ने जवाफ आयो । शास्त्रार्थ आयोजना गर्ने राजा जनकको पुरीमा परदेशी पुरेत र मठाधीशहरूको रजाइँ ?! यी बाछिटाहरू जनकपुरको ऐतिहासिकीलाई कत्ति पनि सुहाउँदैन । जस्तो, गंगासागर किनारमा स्वर्गद्वार मन्दिर छ । मन्दिरका भित्तामा मृत्युसम्बन्धी भनाइहरू उतारिएको छ । नेपाली वा मैथिली साहित्यमा मृत्युसम्बन्धी भनाइहरू नभएका होइनन् । तर सङ्कलकलाई खालि भारतीय साहित्यकार, सन्त र बाबाहरू चित्ताकर्षक लागेको प्रतीत हुन्छ । विवादास्पद ओशो स्वर्गद्वारका भित्तामा समेटिएका छन् ! हिन्दी कवि हरिवंश राय बच्चन अटाएका छन् । तर महाकवि देवकोटा र गौतम बुद्ध अटाएका छैनन् !
भूतेश्वर मन्दिरसामु एउटा चौतारीमा भेटिन्छन् ७० वर्ष पार गरेका एक वृद्ध र उनीसँगै भेटिन्छन् ५० वर्ष पुगेका साधु ‘महाराज’ । ७० वर्ष पार गरेका वृद्धको एउटा पीडा छ । बाल्यकालमा सँगै खेलेका साथीहरू अन्यत्र लागेको पीडा । त्यसमा पनि पहाडियाहरू त अब शून्य भइसके । उनी चौतारीमा आएर पुराना साथीहरूसँग रमाएका दिनहरू सम्झिन्छन् । तैपनि उनलाई नयाँ युग प्यारो लाग्छ । नयाँ निर्माणहरूले जनकपुरको रूप बदलिएकोमा उनलाई खुसी लाग्छ । शिकायत छ त केवल केटीहरूको भड्किलो खुलापनमा ! उनी दहेज प्रथाका विरोधी हुन्, छोरीले पढ्नुपर्छ पनि भन्छन् । तर, नयाँ युगको महिला लिबासमा उनलाई गुनासो छ । उनीभन्दा अलि प्रगतिशील देखिए साधु ‘महाराज’ ।
साधु ‘महाराज’ अनेक तीर्थस्थल घुम्छन्, रम्छन् । अनेक भाषाका जानिफकार हुन् । अविवाहित छन् । काम, क्रोध, मोह, माया केहीले छुँदैन भन्छन् । भर्खरै कलेजबाट निस्केका एक हुल छात्राहरूको पहिरनप्रति उनले गुनासो गरेनन् । ठाउँठाउँका केटाकेटी देखेको हुनाले उनले जनकपुरका छात्राहरू पहिलेभन्दा अघि बढेको बताए । अनुशासन त समाजले सिकाउने हो, समाजले जस्तो सिकायो, त्यस्तै बने – उनको विचार ! रमता जोगी, बहता पानी !!
पापाचारबारे उनले भने, “जहाँ लोभ, त्यहाँ पाप !” लोभी समाजको पापी पाटो फेर्न उनले जपतप गरेका होलान् कि ? अनायासै एउटा सुषुप्त जिज्ञासा मानसपटलमा खेल्यो । किन पनि भने, अधिकांश कर्मकाण्डहरू निजी लोभका घडा भर्न नै खडा गरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *