कुरिल टापुमा राष्ट्रपति पुटिनको भ्रमण
- श्रावण २८, २०८३
कलाकार, बुद्धिजीवी र युवाहरूको आचरण
सङ्क्षेपमा, हाम्रा अनेकौँ कलाकार र बुद्धिजीवीहरूको त्रुटि उनीहरूको ‘मूल पाप’ भित्र निहित छ, त्यो पाप हो : उनीहरू साँच्चैका क्रान्तिकारी नहुनु । सल्लाको रूखमा नासपाती फलाउनका लागि सल्लाको कलमी त गर्न सकिन्छ । तर, हामीले त्यसका साथसाथै नासपातीको बोट रोप्नै पर्छ । त्यसपछि नयाँ पुस्ताहरू ‘मूल पाप’ बाट मुक्तरूपमा जन्मनेछन् । यसरी सांस्कृतिक क्षेत्र विस्तृतरूपमा विकसित हुँदा, अभिव्यक्ति स्वतन्त्रताका सम्भावनाहरू बढ्न थाल्दा असाधारण कलाकारहरूको उदय हुने सम्भावनाहरू पहिलेभन्दा निकै धेरै मात्रामा वृद्धि हुनेछन् ।
हाम्रो कर्तव्य हो : विवादहरूमा नराम्ररी फँसिरहेको वर्तमान पुस्तालाई विकृत हुनबाट रोक्नु र मुनाझैँ टुसाइरहेको नयाँ पुस्तालाई विसङ्गत हुनबाट रोक्नु ।
हामीले सरकारी विचारअनुकूलका क्रीतदासहरूको सिर्जना कदापि गर्नुहुँदैन, न त राज्यकोषका वेतनभोगी जागीरेहरूको श्रृष्टि गर्नु नै हुन्छ, जसले सुतीसुतीकन कोटेसनहरू (उक्तिहरू) कण्ठ गर्दै ‘स्वतन्त्रताको माला’ जप्ने गर्छन् । हामीले साँच्चैका क्रान्तिकारीहरू जन्माउनुपर्छ, जसले जनताको वास्तविक आवाजमा नवमानवको गीत गाउनेछन् । निश्चितरूपमा यो प्रक्रियाका लागि समय बेसी जरूरी हुन्छ ।
हाम्रो समाजमा युवाहरू र पार्टी दुबैको भूमिका महत्वपूर्ण छ ।
यसमा युवाहरूको भूमिका विशेषरूपमा महत्वपूर्ण छ, किनकि उनीहरू भनेका मलिलो नरम माटो हो, जुन माटोबाट पुराना गल्ती कमजोरीहरूबाट मुक्त नवमानवको सिर्जना गर्न सकिन्छ । हामी आफ्नो उच्च अभिलाषाअनुरूप नै युवाहरूलाई निर्माण गर्न सक्छौँ । अहिले उनीहरूको शिक्षा दिनका दिन सर्वाङ्गीण हुँदै गइरहेको छ । विद्यार्थीहरूलाई प्रारम्भदेखि नै श्रमसँग जोड्दै शिक्षित पार्ने कुरालाई हामीले नजरअन्दाज गरिरहेका छैनौँ । छात्रवृत्ति पाउने हाम्रा विद्यार्थीहरूले बिदाको क्रममा वा आफ्नो अध्ययनकै क्रममा शिक्षा र शारीरिक श्रममा हात हालिरहेका छन् । कुनै स्थितिमा श्रमले पुरस्कारको रूप लिन्छ, कुनै स्थितिमा त्यसले शिक्षाको माध्यमको रूप लिन्छ, तर कुनै पनि हालतमा यसले दण्डको रूप लिँदैन । हो, यसरी नै एउटा नयाँ पुस्ता जन्मिरहेको छ ।
जनताको स्तर र अगुवाहरूको प्रेम
पार्टी भनेको अगुवा सङ्गठन हो । यो सबैभन्दा उन्नत खालका श्रमिकहरूबाट बनेको हुन्छ, उनीहरूकै प्रस्तावअनुसार उनीहरूकै साथीहरूका रूपमा रहेका श्रमिकहरूलाई पार्टी सदस्यता दिइन्छ । पार्टी अल्पसङ्ख्यक हुन्छ, तापनि आफ्ना कार्यकर्ताहरूको कारणले यसले विशाल प्राधिकार कायम गरिरहेको हुन्छ । हाम्रो उच्च अभिलाषा भनेको पार्टीलाई जन–शक्तिको रूपमा विकसित गर्नु हो, जनताको पार्टीको रूपमा निर्माण गर्नु हो । यो अभिलाषा तब मात्र सम्भव हुनेछ, जब जनताको स्तर अगुवाको स्तरसम्म विकसित हुनेछ, जब उनीहरू साम्यवादका लागि शिक्षित हुनेछन् । हाम्रा कामहरूको उद्देश्य भनेको यही शिक्षालाई हरदम व्यवस्थित गरिरहनु हो । यसका लागि पार्टी जीवित उदाहरण बन्नुपर्छ । पार्टीका कार्यकर्ताहरू कठिन श्रम र बलिदानको नमुना बन्नुपर्छ । आफ्नो कर्मद्वारा उनीहरूले जनतालाई क्रान्तिकारी उद्देश्य र कर्तव्यतिर अगाडि बढाउने अभियानको अगुवाइ गर्नुपर्छ । यसको अर्थ हो निर्माणका कामहरूका कठिनाइहरूका विरुद्ध वर्गशत्रुहरूका विरूद्ध विगतका कमी कमजोरी र गल्तीहरूका विरुद्ध साम्राज्यवादका विरुद्ध वर्षाैँ वर्षसम्म सङ्घर्ष ..
अब म व्यक्तिद्वारा खेलिएको भूमिकाको बारेमा, इतिहासको निर्माण गर्ने जनताको नेतृत्व गर्ने व्यक्तिको भूमिकाको बारेमा स्पष्टीकरण दिन चाहन्छु । म यहाँ जे जति कुरा राख्छु, ती सबै हाम्रा अनुभवहरू हुन्, यी कुनै प्रेस्क्रीप्सन (उपचार विधि र औषधि) होइनन् ।
कान्तिका प्रारम्भिक वर्षहरूमा नै फिडेल क्यास्त्रोले क्रान्तिलाई प्रेरणा दिनुभयो । उहाँले सदैव नै क्रान्तिको नेतृत्व गर्नुभयो र त्यसलाई आवश्यकता र समयअनुसार मोड्नु भयो । उहाँको साथमा एकातिर क्रान्तिकारीहरूको एउटा राम्रो समूह थियो र तिनीहरू पनि क्रान्तिको नेतृत्व गर्दागर्दै फिडेल क्यास्त्रोजस्तै केन्द्रीय नेतृत्वका रूपमा विकसित भए । अर्कोतिर उहाँको साथमा विशाल जनसमूह पनि थियो, जसले आफ्ना क्रान्तिकारी नेताहरूप्रति गहिरो आस्थासहित साथ दिएको थियो । ती कान्तिकारी नेताहरूप्रति जनआस्था हुनुको मूल कारण हो ती नेताहरूमा जनताका आकाक्षाहरूलाई अभिव्यक्ति दिने क्षमता हुनु ।
त्यसैले हाम्रो वर्तमान तलबबाट कति किलोग्राम मासु किन्न सकिन्छ, वर्षमा कति पटक समुद्री किनारमा गएर बिदा मनाउन सकिन्छ र त्यसबाट सुन्दर आयातीत वस्तुहरू कति किन्न सकिन्छ भन्ने सवाल सबैभन्दा महत्वपूर्ण होइन । सबैभन्दा महत्वपूर्ण सवाल हो व्यक्तिले आफूभित्र कति बेसी पूर्णता प्राप्त गरेको, आफूभित्र कति बेसी आन्तरिक सम्पन्नता वृद्धि भएको र कति बेसी उत्तरदायित्व पाएको महसुस गर्छ ।
हाम्रो देशका प्रत्येक व्यक्तिलाई राम्ररी थाहा छ, जुन युगमा उनीहरू बाँचिरहेका छन्, त्यो युग बलिदानको युग हो । हो, उनीहरू बलिदानबाट परिचित छन् । उनीहरू सबैभन्दा पहिले सियरा माइस्त्रामा भएको बलिदानसँग परिचित भएका थिए । ती सबै ठाउँहरूमा बलिदानसँग उनीहरूले परिचय पाएका थिए जहाँ जहाँ सङ्घर्षहरू भएका थिए । पछि गएर सिङ्गो क्युवा बलिदानसँग परिचित भयो । क्युवा ल्याटिन अमेरिकाको अगुवा हो र अग्रीम पङ्क्तिमा हुनुका कारणले क्युवाले बलिदान पनि दिनुपर्छ किनकि यसले दक्षिण अमेरिकाका जनतालाई पूर्ण स्वतन्त्रताको मार्ग देखाउने काम गर्छ ।
आफ्नो देशभित्र पनि नेताहरूले आफ्नो अगुवाको भूमिका खेल्नुपर्छ । सम्पूर्ण इमानदारीका साथ उनीहरूले भन्नुपर्छ : वास्तविक क्रान्तिको दौरानमा हामी कुनै पनि किसिमको भौतिक पुरस्कारको आशाविना आफूलाई क्रान्तिप्रति पूर्णतः समर्पित गर्नेछौँ । पूर्ण प्रतिबद्धताका साथ आफ्ना सम्पूर्ण क्षमतालाई अर्पण गर्नेछौँ । वास्तविक क्रान्तिमा अगुवा क्रान्तिकारीहरूको काम कर्तव्य जति गौरवमय छ, त्यति नै यातनादायक पनि छ ।
हास्यास्पद हुने हदसम्मको जोखिम उठाउँदै म भन्न चाहन्छु ः साँच्चैका क्रान्तिकारीहरू प्रेमका अमर अनुभूतिहरूबाट प्रेरित हुन्छन् । प्रेम गर्ने गुणको अभावमा कुनै पनि वास्तविक क्रान्तिकारीको कल्पना गर्नु असम्भव छ । सम्भवतः यो गुण कुनै पनि नेताका महान् क्रियाकलापहरूमा निहित हुन्छ, त्यसैले उनले आफ्नो ठण्डा दिमाग र तीक्ष्ण बुद्धिलाई आफ्नो उद्वेलित साहससँग जोड्छन् र विनाकुनै हिच्किचाहट पीडाले परिपूर्ण निर्णय पनि लिन सक्छन् । हाम्रा अगुवा क्रान्तिकारीहरूले जनताप्रति र पवित्रतम् उद्देश्यप्रति आफ्नो स्नेहलाई आदर्श रूप दिनु आवश्यक छ । त्यसैलाई उनीहरूले सम्पूर्ण र अविभाज्य बनाउनु जरूरी छ । थोरै प्रेमको आदान–प्रदानमै रमाउने सामान्य मानिसहरूको आत्मिक स्तरमा झरेर, दैनिक जीवनका स्नेहका ससाना खुराकहरूका आधारमा मात्रै उनीहरू आदर्श बन्न सक्दैनन् ।
क्रान्तिका नेताहरूका पनि भर्खरै बोली फुट्न लागेका बालबच्चाहरू छन्, तिनीहरू तोतेबोलीमा भर्खर भर्खर ‘बा, आमा’ भन्न सिक्दै छन् । उनीहरूका पनि पत्नीहरू छन्, तिनीहरूको आफ्नो जिन्दगी पनि क्रान्तिलाई पूर्णतासम्म पु¥याउनका लागि आमबलिदानको अङ्ग बन्नुपर्छ । र उनीहरूका साथीभाइहरूको घेरो पनि क्रान्तिमा लागिरहेका कमरेडहरूबिच मात्रै अत्यन्त सीमित छ । यसरी क्रान्तिको परिधिभन्दा बाहिर उनीहरूको अर्को जीवन नै छैन ।

विश्वका न्यायप्रेमी जनताबिच चेग्वेभाराको विचारको लोकप्रियता बढ्दै छ ।
यस्तो अवस्थामा, उनीहरूमा मानवताको भारी खुराक समावेश हुनुपर्छ, उनीहरूमा न्याय र सत्यको भावनाको बृहत् मात्रा समावेश हुनुपर्छ, ताकि जडसूत्रवादी अतिवादको खाडलमा खस्ने, ठण्डा पाण्डित्य अभिमानको शिकार हुने र जनताबाट एक्लिने प्रक्रियाहरूबाट बच्न सकियोस् । हामी क्रान्तिकारीहरूले प्रत्येक क्षण जुध्नुपर्छ ताकि जीवित मानवताप्रतिको आफ्नो स्नेहलाई ठोस कर्ममा रूपान्तरित गर्न सकियोस् ताकि आफ्नो प्रेमलाई त्यस्ता कार्यकलापहरूमा फोन सकियोस्, जसले उदाहरणीय काम गर्न र गतिशील शक्तिको भूमिका खेल्न सकून् ।
क्रान्तिकारीहरू भनेका आफ्नो पार्टीभित्र क्रान्तिका वैचारिक चालक शक्तिहरू हुन्, त्यसैले उनीहरूले आफूलाई आफ्ना अविराम क्रियाकलापहरूमा लीन पार्छन् र यो प्रक्रिया भनेको उनीहरूको मृत्युसँगै अन्त्य हुनेछ । अनि, उनीहरूले विश्वव्यापीरूपमा समाजवादको निर्माण नभएसम्म आजीवन आचरण गरिरहने बाहेक अर्को कुनै लक्ष्य लिँदैनन् । जब स्थानीय स्तरमा अति नै बेसी जरूरी काम भइरहेको बेला उनीहरूको क्रान्तिकारी जोश र व्यग्रता चीसो हुन थाल्छन् भने उनीहरूले सर्वहारा अन्तर्राष्ट्रवादलाई बिर्सन थाल्छन् भने क्रान्तिको नेतृत्व गरिहेका क्रान्तिकारी नेताहरू प्रेरणादायक शक्तिको रूपमा बाँकी रहँदैनन् र उनीहरू सुविधापूर्ण उँघाइ (तन्द्रा) को कुहीगन्धे वातावरणमा डुब्नेछन् । अनि त्यसबाट हाम्रो कहिल्यै मिल्ननसकिने सतत शत्रु– साम्राज्यवादले आफ्नो स्थिति सुधार्नका लागि लाभ उठाउनेछ । सर्वहारा अन्तर्राष्ट्रवाद हाम्रो एउटा कर्तव्य हो, यसका साथसाथै यो आजको क्रान्तिकारी आवश्यकता पनि हो । हामी आफ्ना जनतालाई यही तरिकाबाट शिक्षित गर्छौँ ।
निश्चितरूपमा वर्तमान परिस्थितिमा धेरै खतराहरू छन् । महान् कार्यभारहरूबिच केवल जडसूत्रवादको मात्रै खतरा रहेको होइन, केबल जनतासँगको आफ्ना सम्बन्धहरूलाई हिउँजस्तै जमाउने खतरामात्रै रहेको पनि होइन । हो, अर्को खतरा पनि रहेको छ, त्यो हो सम्भावित कमजोरीहरूको खाडलमा हामी खस्न सक्ने खतरा । त्यो सम्भावित कमजोरी हो : जीवनभरि आफ्नो क्रान्तिकारी कर्मको ब्याज खाने मानसिकता ! क्रान्तिप्रति आफ्नो सिङ्गो जीवन समर्पित गरिसकेपछि त्यसको बदलामा, उनीहरूका कुनै पनि बच्चाले कुनै पनि वस्तुको अभाव झेल्न नपरोस् । उनीहरूका छोराको जुत्ताको हालत खराब नहोस्, उनीहरूको परिवारले अत्यावश्यक सामानको कमी देख्न नपरोस् भने सोचाइ कुनै कुनै क्रान्तिकारीहरूले बोक्न सक्छन् । त्यसरी चिन्तित हुँदाहुँदै उनीहरू दिग्भ्रमित पनि हुनसक्छन् । यस्तो खालको दाबी गर्ने मानसिकता र चिन्तन– प्रक्रियामा भावी भ्रष्टाचारका किटाणुहरू हुन्छन् । अतः यसरी सोच्नेहरूको खुला मन–मस्तिष्कमा भ्रष्टाचारका किटाणुहरूले सजिलै सङ्क्रमण गर्न सक्छन् ।
हाम्रो मामिलामा के ठानेका छौँ भने हामीले जनताको जीवस्तरअनुरूप नै जीवन यापन गर्न सक्नुपर्छ । मेरो विचारमा हाम्रा बच्चाहरूले पनि त्यतिमात्रै पाउनुपर्छ, जति सम्पूर्ण नागरिकहरूले पाउँछन्, हाम्रा बच्चाहरूलाई पनि ती वस्तुहरूको अभाव हुनुपर्छ, जुन वस्तु आम जनताका बच्चाहरूलाई सुलभ हुँदैन । हाम्रा परिवारहरूले यो कुरा बुझ्नुपर्छ र यसरी नै आफूलाई फेर्दै अगाडि बढ्नका लागि अन्तरसङ्घर्ष गर्नुपर्छ । क्रान्ति भनेको मानिसहरूद्वारा सम्पादित हुन्छ । तर, मानिसहरूले आफ्ना क्रान्तिकारी भावनाहरूलाई दिनप्रतिदिन सङ्घर्ष अन्तरसङ्घर्षको तातो रापमा तताई राख्नुपर्छ ।
हामीहरूको विशाल लस्कर यो ढङ्गले अगाडि मार्च गरिएको छ । हो, मानिसहरूको विशाल फौजका अगुवा हुनुहुन्छ– फिडेल क्यास्त्रो । यस्तो भन्दा हामीलाई न लाज हुन्छ, न भय । हो, उहाँकै ठीक पछाडि पार्टीका सुयोग्त्न्दा सुयोग्य कार्यकर्ताहरू छन् र त्यसको ठीक पछाडि उनीहरूसँग घनिष्ठतापूर्वक जोडिएका सम्पूर्ण जनता छन् । उनीहरूबिच यति नजिक, यति निकटको घनिष्ठ सम्बन्ध छ कि त्यस धनिष्ठताले हामीलाई त्यस्तो महान् शक्तिको रूपमा महसुस गराउँछ, जुन शक्ति विभिन्न वैयक्तिक एकाइहरूको रूपमा सुगठित छ जुन शक्ति एकल साझा उद्देश्यतिर अगाडि बढ्दै छ । हो, महान् शक्तिको उत्पत्ति गर्ने ती वैयक्तिक एकाइहरूमा त्यस्ता व्यक्तिहरू छन्, जसले आफ्नो अभीष्ट के हो भन्ने विषयमा जागरूकता प्राप्त गरिसकेका छन्, जसले दैनिक आवश्यकताका सांसारिक जन्जिरबाट मुक्ति पाउन प्रयास गरिरहेका छन्, जो स्वतन्त्रताको संसारमा प्रवेश गर्न सङ्घर्षरत छन् ।
यो विशाल जनसमूहले आफूले आफैँलाई सङ्गठित गरिरहेको छ त्यसको सङ्गठन र कार्यक्रमको स्पष्टता भनेको नै सङ्गठनको आवश्यकता–बोधको परिणाम हो । यो जनसमूह अब छिन्नभिन्न भइरहेको शक्ति होइन । अब यो शक्ति आकाशमा हजारौँ हजार टुक्रामा उडिरहेका हथगोलाका टुक्राहरूजस्तै विभाजित छैन, जो अनिश्चित भविष्यको त्रासदीबाट बच्न जुनसुकै उपायहरू प्रयोग गरी सहाराको खोजीमा हुन्छन्, जो आफूजस्तै बाँचिरहेका आफ्ना छरछिमेकहरूसँग लडाइँ– झगडा गर्छन् ।
हामीलाई थाहा छ, सुन्दर भविष्यका लागि थप अरू बलिदानहरूको जरूरत छ । एउटा अगुवा राष्ट्रको सौर्यपूर्ण स्थितिका लागि हामीले त्यसको मूल्य चुकाउनुपर्छ । नेताहरूका रूपमा स्थापित हामीहरूलाई थाहा छ ः “हामी ल्याटिन अमेरिकाको नेतृत्व गर्ने जनताका अगुवा हौँ’ भन्ने अधिकार प्राप्त गर्नका लागि हामीले त्यसको उचित मूल्य चुक्ता गर्नैपर्छ । हामीहरूमध्ये प्रत्येकले बलिदानको आआफ्नो कोटा ठीक समयमा समर्पित गर्नैपर्छ, किनकि हामीलाई थाहा छः आफ्नो कर्तव्य पूरा गर्न सफल हुँदाको सन्तोषको अनुभूति नै हाम्रो लागि पुरस्कार हुनेछ । किनकि, हामीलाई थाहा छ हामी सबैका साथ त्यस्तो नवमानव बन्ने दिशामा अगाडि बढिरहेका छौँ, जसको झलक क्षितिजमा देखिन थालेको छ ।
अब मलाई केही निष्कर्षहरू प्रस्तुत गर्न दिनुस् :
– हामी समाजवादीहरू बेसी स्वतन्त्र छौँ, किनकि हामी धेरै सन्तुष्ट छौँ, हामी बेसी सन्तुष्ट छौँ† किनकि, हामी धेरै स्वतन्त्र छौँ ।
– हाम्रो सम्पूर्ण स्वतन्त्रताको ढाँचा निर्माण भइसकेको छ† तर त्यसलाई मासु भर्नु र साजसज्जा गर्नु जरूरी छ । हामी यसको सृजन गर्नेछौँ ।
– हाम्रो स्वतन्त्रता र त्यसको दैनिक सुरक्षाका लागि हाम्रो रगत र बलिदानको आवश्यकता छ ।
– हाम्रो बलिदान सचेततापूर्वक हुन्छ यो बलिदान हामीले निर्माण गरिरहेका स्वतन्त्रताका लागि किस्ताबन्दीमा भुक्तानी हुन्छ ।
– हाम्रो बाटो लामो छ र आंशिकरूपमा हाम्रो बाटो अज्ञात पनि छ । हामी हाम्रा सीमाहरूप्रति सचेत छौँ । हामीहरूले एक्काइसौ शताब्दीको मानव सिर्जना गर्नेछौँ– हो, हामी आफैँले ¤
– दैनिक काम–कारबाहीको अग्निपरीक्षामा होमिएर हामी आफूलाई इस्पात बनाउनेछौँ र एउटा नयाँ प्रविधियुक्त नवमानव कुद्नेछौँ ।
– व्यक्तिले जनपरिचालन र नेतृत्वको भूमिका त्यति हदसम्म मात्र खेल्न सक्छ, जति हदसम्म उसले जनताका सर्वोच्च गुणहरू र उच्च अभिलाषाहरू बोक्न सक्छ र बाटोमा दिग्भ्रमित नभइकन अगाडि बढ्न सक्छ ।
– बाटो पहिल्याउने, त्यसबारे स्पष्टता हासिल गर्ने काम भनेको अगुवा समूहको कर्तव्य हो, राम्राहरूमध्ये पनि सर्वोत्तम व्यक्तिहरूको समूह अर्थात् पार्टीको कर्तव्य हो यो ।
– हाम्रो काम कारबाहीका लागि आधारभूत मलिलो माटो भनेका युवाहरू हुन् । हामीले उनीहरूमाथि नै आफ्नो आशा र विश्वास अड्याइराखेका छौँ र हाम्रा हातहरूमा फरफराइरहेका झन्डाहरू थाम्न सक्षम पार्नका लागि उनीहरूलाई तम्तयार पार्दै छौँ ।
यदि हतार–हतारमा लेखिएको यस अस्पष्ट पत्रबाट केहीकेहीमात्रै भए पनि कुरा स्पष्ट भयो भने पनि यो पत्र पठाउनुको पछाडि रहेको मेरो उद्देश्य पूरा भयो भन्ने भन्ठान्नेछु ।
‘Ave maria purissima’ (परम्परागतरूपमा हाम्रो नमस्कार स्वीकार गर्नुस् । जुन हात मिलाउनु सरह हो ।)
‘patria o merte !’ (स्वदेश वा मृत्यु !)
समाप्त
Leave a Reply