भर्खरै :

गाजा क्षेत्रमा युद्ध जारी : इजरायली क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या ७०० भन्दा बढी, गाजामा ४१३ – जनाको मृत्यु

गाजा क्षेत्रमा युद्ध जारी : इजरायली क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या ७०० भन्दा बढी, गाजामा ४१३ – जनाको मृत्यु

गाजा/जेरुसेलम, २२ असोज (सिन्ह्वा) । प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रीपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ ।
इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबिच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ ।
हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकूले आइतबार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायलाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल (आइडीएफ) का सैनिकसँग झडप भइरहेको छ ।
इजरायली उद्धार सेवा जाकाले एक विज्ञप्ति जारी गर्दै गाजा–इजरायलको बाड नजिकैको ग्रामीण कृषि क्षेत्रमा एक सङ्गीत कार्यक्रम (नोभा फेस्टिभल) मा पार्टी गरिरहेका करिब २६० जना युवती र पुरुषको अवशेष सङ्कलन गरिएको जनाएको छ ।
आइतबार राति पनि महोत्सवमा सहभागी धेरै जना हराइरहेका थिए । हमासले इजरायलमा हजारौं रकेट प्रहार सहितको विशाल आक्रमणमा उक्त कार्यक्रमसहितका यस क्षेत्रका अन्य स्थानहरूमा आक्रमण गरेपछि सामाजिक सञ्जालहरूमार्फत आफ्ना नातेदार र साथीहरूलाई खोज्ने अभियान चलाएका छन् ।
यसैबिच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली सेना र हमासका लडाकुबिच बढ्दो द्वन्द्वबिच पेन्टागनले पूर्वी भूमध्यसागरीय क्षेत्रमा इजरायललाई समर्थन गर्न युद्धपोत र लडाकू विमान पठाउन लागेको बताउनुभएको छ ।
अस्टिनले एक विज्ञप्ति जारी गर्दै ‘युएसएस जेराल्ड आर फोर्ड क्यारियर स्ट्राइक ग्रुप’ को पूर्वी भूमध्यसागरीय क्षेत्रमा एक विमानवाहक पोत, एक गाइडेड मिसाइल क्रुजर र चार गाइडेड मिसाइल विध्वंसकको आवागमनलाई निर्देशन दिएको बताएका छन् ।
पेन्टागनले यस क्षेत्रमा अमेरिकी वायु सेनाको एफ–३५, एफ–१५, एफ–१६ र ए–१० लडाकू विमान स्क्वाड्रनको विस्तारका लागि पनि कदम चालेको छ ।
उहाँले अमेरिकी सरकारले इजरायली रक्षा बललाई युद्धसामग्रीलगायत थप उपकरण र स्रोत साधन द्रुत गतिमा उपलब्ध गराउने बताउनुभयो ।
गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ
प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबिच द्वन्द्व सुरु भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।
“गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिकरूपमा विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय ओसीएचएले भनेको छ ।
ओसीएचएका अनुसार ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका छन्, जसमध्ये केहीलाई आपत्कालीन आश्रयस्थल तोकिएको छ ।
हमासको लडाकु समूहले इजरायलमा घातक आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेपछि इजरायलले शनिबारदेखि गाजामा सयौँ हवाई आक्रमण गरेको छ ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रवक्ता अदनान अबु हसनाले यो सङ्घर्ष अझै बढ्ने अपेक्षा गरेको बताउनुभभएको छ ।
“यी विद्यालयमा बिजुली छ, हामी उनीहरूलाई खाना, सफा पानी, मनोवैज्ञानिक सहयोग र चिकित्सा उपचार प्रदान गर्छौँ,” उहाँले एएफपीसँग भन्नुभयो ।
गाजामा २३ लाख प्यालेस्टिनी छन्, उनीहरूले सन् २००७ मा हमासले सत्ता सम्हालेपछि इजरायली नाकाबन्दीको सामना गरिरहेका छन् ।
कैदी आदानप्रदान गर्न इजरायल र हमासबिच वार्ता प्रयास
कतारले इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरायलबिच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको हमास स्रोतले आइतबार जनाएको छ ।
“अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला (युद्धबन्दी) को रिहाइ गरिएमा हमासद्वारा कब्जामा लिइएका सबै इजरायली महिलालाई रिहा गर्ने गरी तत्काल सम्झौता गर्न खोजिरहेको छ,” नाम नबताउने शर्तमा स्रोतले सिन्ह्वालाई भन्यो ।
स्रोतले इजरायलका जेलमा रहेका सबै ३६ जना प्यालेस्टिनी महिला युद्धबन्दीलाई रिहा गरेमा कैदी साटासाट गर्न सहमत हुने कतारलाई जानकारी गराएको छ ।
हमासले शनिबार गाजापट्टीसँग जोडिएको इजरायली शहरमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको थियो ।
आक्रमणका क्रममा हमासका लडाकूले गाजापट्टीलाई इजरायलबाट छुट्याउने सुरक्षा घेरा तोडेर आसपासका समुदायमा आक्रमण गरी महिलासहित इजरायली नागरिकको हत्या र कब्जा गरेका छन् ।
गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार गाजामा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४१३ पुगेको छ भने दुई हजार ३०० भन्दा बढी घाइते भएका छन् ।
त्यसैगरी, इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारले इजरायलमा मृत्यु हुनेको सङ्ख्या ७०० पुगेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *