भर्खरै :

आर्थिक समृद्धिको लागि उद्यमशीलता विकास अपरिहार्य : उपाध्यक्ष ढकाल

आर्थिक समृद्धिको लागि उद्यमशीलता विकास अपरिहार्य : उपाध्यक्ष ढकाल

भक्तपुर, ३० असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले आर्थिक समृद्धिका लागि उद्यमशीलता विकास अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा जीआईजेड आरएएसको प्राविधिक सहयोगमा मङ्गलबार सङ्घको सभाहलमा सञ्चालित करसम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष ढकालले महासङ्घले युवा, महिला उद्यमशीलता विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढिरहेकोमा चिन्ता व्यक्त गर्दै महासङ्घले देशका युवा वर्गलाई उद्यमशील बन्न प्रोत्साहित हुने विभिन्न क्रियाकलापहरूमा जोड दिँदै आएको जानकारी दिनुभयो ।
सङ्घका अध्यक्ष शिवप्रसाद मानन्धरले करसम्बन्धी राम्रो जानकारी नहुँदा उद्योगी, व्यवसायीहरूले विभिन्न समस्या भोग्नु परिहेको उल्लेख गर्दै कर प्रणालीबारे स्पष्ट हुन सकेको खण्डमा कानुनसम्मत तरिकाले उद्योग व्यवसाय सञ्चालन हुने बताउनुभयो ।
महासङ्घको कार्यकारिणी समिति सदस्य तथा महासङ्घअन्तर्गतको महिला उद्यमी विकास समितिको सभापति कमला श्रेष्ठ, सङ्घको वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव दिनेश गोसाईं, कार्यसमिति सदस्य श्रीया बल्ल, महासङ्घका सहायक निर्देशक लोकराज जोशीलगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
प्रशिक्षकहरूले तालिममा आयकर दाखिला, आयकर विवरण बुझाउने, टीडीएस कट्टी, बजेटमा भएका करसम्बन्धी परिवर्तन, आर्थिक ऐन तथा नीतिमा भएका करसम्बन्धी व्यवस्थालगायतका विषयमा जानकारी दिनुभएको थियो । तालिमपश्चात् प्रशिक्षार्थीहरूलाई सङ्घका अध्यक्ष मानन्धरले प्रमाणपत्र वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *