भर्खरै :

सामुदायिक सहकारी संस्थाले गरिब जनताको सेवा गर्नुपर्छ

सामुदायिक सहकारी संस्थाले गरिब जनताको सेवा गर्नुपर्छ

भक्तपुर, ३० असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले सहकारी संस्थाहरूले आफ्ना गतिविधिमार्फत गरिब जनताको सेवा गर्नुपर्ने बताउनुभएको छ ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को क्षेत्रगत २९ औँ वार्षिक साधारणसभाको प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष बिजुक्छेँले सहकारीको अवधारणा गरिब मजदुर र किसानहरूको हितका निम्ति सुरुआत भएको र सहकारी संस्थाहरू त्यस अवधारणाबाट अलग्ग हुन नहुने बताउनुभयो ।
सहकारी ऐनले जनताको सेवा गर्न रोक लगाउँछ भने त्यस्ता गलत ऐनको विरोधमा सङ्घर्ष गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले सहकारीको नेतृत्व इमानदार हुनुपर्ने बताउँदै जसरी मन्त्री बनेर भ्रष्टाचार गर्नु गलत हुन्छ सहकारीको सञ्चालक समितिमा बसेर आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थ हेर्नु पनि गलत हुने बताउनुभयो ।
सहकारीहरूले हस्तकलाका विभिन्न तालिम दिनुका साथै कलकारखाना र पसलहरू सञ्चालन गर्नुपर्ने बताउँदै उहाँले आदर निकेतन र बालबालिका हेरचाह केन्द्र सञ्चालन गर्नु पनि सामाजिक गतिविधिअन्तर्गत पर्ने बताउनुभयो । उहाँले सहकारीहरूले आयव्यय मात्र नगरी सामाजिक कल्याणमा जोड दिनुपर्छ भन्नुभयो ।
नक्कली सहकारी चलाएर ठग्नेहरूलाई शासक राजनीतिक पार्टीहरूको संरक्षण मिलेको र कारबाही हुने स्थिति देखिएपछि विदेश भगाइएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले ठग सहकारीबारे सहकारीहरूले आफ्ना सदस्यहरूलाई बुझाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले सिद्धि गणेश साकोसलगायत सहकारीहरूले नमुना कार्य गरेर देखाउनुपर्नेमा जोड दिँदै सरकार जिम्मेवार नभएको देशमा समाजको निम्ति सहकारी सरकारको विकल्प बन्नुपर्छ भन्नुभयो ।
उहाँले व्यक्तिवादी प्रवृत्ति सहकारीको निम्ति घातक रहेको बताउँदै त्यस्ता व्यक्तिहरूलाई सहकारीको नेतृत्वमा ल्याउन नहुने बताउनुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले जनतालाई ठगीबाट बचाउन भनपाले सहकारी संस्थाहरूको नियमित निरीक्षण, अनुगमन, धरौती रोक्का आदि गतिविधि गर्दै आएको बताउनुभयो ।
साबिक भनपा ६ का पूर्ववडाध्यक्ष कृष्णगोविन्द खाइजुले समुदायमा आधारित सहकारीमात्र साँचो सहकारी हुने र नक्कली सहकारीहरूबाट ठगिनबाट बच्नुपर्ने बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले सिद्धि गणेश साकोसको सफलताले गरिबहरूले बचत गर्न सक्दैनन् भन्ने धारणालाई चिर्न सफल भएको बताउनुभयो ।
संस्था सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण लाखाको सभापतित्वमा भएको सभामा मित्र सहकारीहरूको तर्फबाट सुकुन्दा साकोसका कोषाध्यक्ष राजभाइ माकजु र सिद्धि कृषि सहकारी संस्था. लि.का अध्यक्ष पुण्यराम दुमरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सभामा स्वागत मन्तव्य संस्थाका सञ्चालक सदस्य राजन लाखाजु, संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिवको तर्फबाट सदस्य रत्नेश्वरी चवाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष जयराम गोर्खाली र लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक रामप्रसाद लाखाजुले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा असल बचतकर्ता र असल ऋणी तथा उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार र कदरपत्रका साथ सम्मान गरिएको थियो ।
देशको अर्थतन्त्र विदेशी पुँजीको हातमा !
सिद्धि गणेश साकोसको क्षेत्र नं. १ र २ को सभा कालांचा, सूर्यविनायकमा भयो ।
उक्त भेलामा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भन्नुभयो, “अर्थतन्त्र जसको हातमा हुन्छ राजनीति उसैले कब्जा गर्छ । ३४ वर्षयताको नेपालको यो पुँजीवादी गणतन्त्रको विदेशी पुँजीका दलालहरूले अर्थतन्त्र कब्जा गरेको हुँदा नेपालका मजदुर, किसान र कामदार वर्गको हित नभएको हो ।”
सांसद सुवालले भन्नुभयो, “नेपालका १०–१५ ओटा निजी बैङ्कहरूमा विदेशी पुँजी रहेको छ भने कतिपय सञ्चालकहरूसँग दुई देशको नागरिकता छ, राज्यको स्वामित्वमा उत्पादन र वितरण हुने समाजवादी व्यवस्थामा मात्र सम्पूर्ण नेपाली जनताको हित हुनेछ ।”
उहाँले सहकारी संस्थाले उत्पादनमूलक काम गर्नु जरुरी रहेको उल्लेख गर्दै वित्तीय संस्था र बैङ्कले जस्तै बचत उठाउने र ऋण दिने काममा सहकारी संस्था सीमित हुन नहुने बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “जनआन्दोलनबाट शासन व्यवस्था परिवर्तन भयो, सहकारी संस्थासम्बन्धी ऐन संशोधन गराउन सङ्घर्ष गर्नु जरुरी छ, यो विषयमा सबै सहकारी सञ्चालकहरूबिच छलफल गर्नु जरुरी छ ।”


“सहकारी संस्थाले ज्येष्ठ नागरिकको राम्रो आदर निकेतन, शिशुशालालगायत सञ्चालन गरेर समाजसेवाको काम गर्नु जरुरी छ । कुटीर उद्योग र यान्त्रिक वस्तुसम्बन्धी सीपमूलक तालिम दिनु जरुरी छ । पर्यटन उद्योगसमेत गरेर देखाउनु आवश्यक छ ।” उहाँले भन्नुभयो ।
सहकारीलाई समाज सेवामा लगाउनु जरुरी रहेको उल्लेख गर्दै उहाँले संविधानमा देशको अर्थतन्त्र, सरकारी, सहकारी, निजीअन्तर्गत अगाडि बढाउने लेखिए पनि शासक दलहरूले सार्वजनिक संस्थानहरू एक एक गरी सस्तोमा निजीकरण गरिरहेको बताउनुभयो ।
“प्यालेस्टाइनी जनताको भूमि कब्जा गरी बसाइएका यहुदीहरूको देश इजरायल युद्ध क्षेत्र भएको थाहा भए पनि सरकारहरूले नेपाली विद्यार्थी र युवाहरूलाई इजरालयमा विद्यार्थी र युवालाई रोजगारीमा पठाउने काम देशद्रोही हो”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँस्थित बाल मन्दिर सार्वजनिक जग्गामा केही व्यक्तिहरूले निजी भवन बनाएर रजाइँ गर्दै छन् भने त्यो ठाउँ लिच्छवीकालीन कैलाशकुट भवन र मानगृह भएको हो । हाँडीगाउँ, लिच्छवीकालीन राजधानी थियो, त्यहाँ अहिले क्याम्पियन कलेज सञ्चालित छ । त्यो ठाउँमा मध्यम राजकुल दरबारको अवशेष छ ।
कार्यक्रममा वाग्मती प्रदेश सांसद सृजना सैंजुले सहकारी समुदाय र जीवन पिछडिएका जनतासँग जोडिएको हुनुपर्दछ भन्दै नीजि क्षेत्रलाई प्राथमिकता दिनुहुँदैन भन्नुभयो । सहकारी देशको महत्वपूर्ण आधार स्तम्भ भए तापनि कतिपय सहकारीले ठगी गरेको कारणले सहकारीको बदनाम भएको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “परिवारको लागि शिक्षा, आमा बुबाको लागि स्वास्थ्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्छ÷गर्दैन भन्ने हिसाब दिनु पर्ने देखिन्छ । उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ । नयाँ पुस्तालाई हुर्काउने जिम्मेवारी दिनुपर्ने देखिन्छ । देशको अर्थतन्त्र विदेशीहरूको हातमा रहेको छ । शिक्षाको लागि १ खर्ब ४२ करोड रकम विदेसिएको छ । ५९ वटा उपत्यकाको क्याम्पस बन्द हुने अवस्थामा छ ।”
कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले संस्थाले सामुदायिक कार्य गरेको देखिन्छ भन्दै अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने बताउनुभयो । उहाँले भक्तपुर नपाले घरदैलो नसिङ सेवा प्रदान गरिरहेको चर्चा गर्दै नगरवासीहरूलाई रगत र अक्सिजन निःशुल्क प्रदान गरिरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं सञ्चालक समितिका उपाध्यक्ष विष्णुराम दुमरुले कार्यक्रममा सहभागिता हुनुपर्ने र संस्थाको नीति नियम सञ्चालकद्वारा पाउने सेवा सुविधाबारे ध्यान दिनुपर्ने बताउनुभयो ।
संस्थामा पारदर्शिता र इमानदारिता आवश्यक
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको २९ औँ वार्षिक साधारणसभा (क्षेत्र नं. ५ र ६ को संयुक्त क्षेत्रगत) को उद्घाटन सत्र मङ्गलबार एक भव्य समारोहबिच मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले पारदर्शिता, इमानदारिता र जिम्मेवारीपूर्वक संस्था सञ्चालन गर्नु नै सदस्यहरूको विश्वास जित्ने आधारहरू भएको बताउनुभयो ।
संस्थालाई व्यक्तिगत पहलमा भन्दा सामूहिक नेतृत्वमा चलाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले भक्तपुरलाई सुन्दर र आकर्षक नगरको रूपमा विकास गर्न नगरवासीहरूको पनि साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
सङ्कटको समयमा भक्तपुरका सहकारी संस्थालगायत विभिन्न सङ्घ संस्थाहरूले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र आइसोलेसन केन्द्र स्थापना गर्न आर्थिक सहयोग गरेको स्मरण गर्दै उहाँले जनताको साथ र सहयोग रहेकै कारण शिक्षा, सरसफाइ र सामाजिक क्षेत्रमा भक्तपुरले धेरै उपलब्धि हासिल गरेको बताउनुभयो ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुरका सहकारीहरूमध्ये पहिलोपटक आदर निकेतन सञ्चालन गरी सराहनीय कार्य गरेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजबाट देशको लागि आवश्यक धेरै दक्ष इन्जिनियरहरू उत्पादन गरिसकेको बताउँदै कर्मचारीहरूले आफ्नो पेसा सँगसँगै समाजलाई राम्रो बनाउन काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारी संस्थाहरू आर्थिक लेनदेनमा मात्र सीमित हुन नहुने र जनताको राजनैतिक चेतनास्तर उकास्न विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।


भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले सहकारी संस्थाहरूले जनताको विश्वासलाई आत्मसात गर्दै संस्था विकासको लागि जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै सदस्यहरूको रकम लिएर भागेका सञ्चालकहरूलाई कानुनको घेरामा ल्याइ कानुनी सजाय दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले कृषकहरूलाई लक्षित गर्दै लिबालीमा चिस्यान केन्द्रको निर्माण गरिरहेको बताउँदै बढ्दो सहरीकरणका कारण कम जमिनमा बढी उत्पादन गर्ने प्रविधितर्फ किसानहरूउन्मुख हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला बचत सङ्घका अध्यक्ष एवम् सिद्धि गणेश साकोसका सञ्चालक कृष्णगोविन्द लाखाजूले सिद्धि गणेश साकोस भक्तपुरका जनताको जनविश्वास प्राप्त संस्थाको रूपमा स्थापनाकालदेखि अगाडि बढिरहेको बताउँदै यस संस्थाले सहकारी मूल्यमान्यता र सिद्धान्तअनुसार सदस्यहरूको सेवामा निरन्तर काम गर्दै आइरहेको बताउनुभयो ।
उहाँले संस्थाको आर्थिक अवस्थाबारे सदस्यहरूलाई अवगत गराउने उद्देश्यले सहकारीहरूले वार्षिक साधारणसभा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
मित्र सहकारीका प्रतिनिधिको तर्फबाट महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का विवेक कुस्मा, नेफ्स्कुन भक्तपुर जिल्लाका कल्पना पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने लेखा सुुपरीवेक्षण समितिका सदस्य हेरा ख्याजुले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, सञ्चालक तुल्सीदास दुमरुले आ.व. २०७९÷८० को प्रगति तथा आ.व. २०८०।८१ को प्रस्तावित कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रम संस्थाका सचिव विष्णुप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक सदस्य रमेश दुमरुले पनि बोल्नुभएको थियो । अतिथि प्रजापतिले सोही अवसरमा असल बचतकर्ता, असल ऋणी र गोलाप्रथामा प्रथम, द्वितीय र तृतीय भएकालाई कदरपत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *