मोदी समस्यामा !
- आश्विन ३०, २०८३
नेपाल क्रान्तिकारी किसान सङ्घले प्रकाशित गरेको ‘किसान सङ्घर्ष नेपाल मजदुर किसान पार्टीका श्रध्देय नेता एवम् पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा विमोचित कार्यक्रममा अतिथिहरूले नेपाल एसियाको सबभन्दा गरिब देशको दर्जामा पुगेको बताए । पटक–पटक सरकारमा गएका शासक दलहरू नै यसका दोषी हुन् । प्रचण्ड सरकारले दसैँको अवसरमा नेपाली जनतालाई बाँडेको शुभ सन्देशमा नेपालको सार्वजनिक ऋण २३ खर्ब ५४ अर्ब पु¥याएको कुरा बाँडे । पुँजीवादी व्यवस्थाको चरित्र नै जनता झन्झन् गरिब हुँदै केही मुठीभर मान्छे धनी हुँदै जाने हो । तर, समाजवादी व्यवस्थामा यसको ठीक उल्टो हुन्छ । समाजवादी व्यवस्थामा सरकार देश र जनताप्रति समर्पित हुन्छ । त्यहाँ सरकारले जनतालाई योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गरेको हुन्छ । देशको मुख्य मुख्य सम्पत्ति सामाजिकीकरण गरिएको हुन्छ । सबै सम्पदा र स्रोत राज्यको हुन्छ । शासक दलका नेताहरूको कारण देश आज एसियाकै सबभन्दा गरिब देशमा परेको छ ।
शासक दलका नेता र कार्यकर्ताहरू इमानदार र देशभक्त नहुँदा, विदेशीबाट निर्देशित एवम् आत्मसमर्पणवादी देखिएको हुँदा देश र जनताको अवस्था बेहाल हुँदै गएको छ । उनीहरू देशभक्त, दूरदर्शी, स्वाधीन नभएको हुँदा, विदेशीको भरमा बस्दा, देशको स्थिति भयावह र दयनीय भएको हो । देशको विकास हामी आफैँले गर्ने हो । विकास आफँै आउँदैन । हामीले नै रगत पसिना बगाएर गर्ने हो । पहिला हाम्रा पुर्खाहरूले देशको विकास गरे । विदेशीसँग हात थापेन । हिजो हाम्रा पुर्खाले आफ्नै पौरखमा देश बनाए । आज हाम्रो अगाडि चीन, उत्तर कोरिया, भियतनाम, क्युवालगायतका देशहरू छन् । त्यहाँको सरकार, नेता, अनि जनता मेहनती छन्, देशभक्त छन् । त्यसैले ती देशहरू बने, तर हाम्रो देश बनेनन्, शासक दलका नेताहरू करोडपति, अरबपति भए । सत्तामा गएर उनीहरूले देश र जनता ठगे । उनीहरूले विदेशीको दलाली गरे र आत्मसमर्पण गरे । सबै विदेशीको हातमा सुम्पे ।
विदेशीहरू स्वच्छ मन त्यागी मनले विकास गर्न सहयोग गर्न आउँदैनन् । उनीहरू हाम्रो देशको, जनताको गुप्तचरी गर्न आएका हुन्छन् । उनीहरू जात, क्षेत्र, भाषा, लिङ्ग, प्रजातन्त्र, मानव अधिकारको नाममा झगडा लगाउन, एक आपसमा भिडाउन आएका हौँ भन्दैनन् । हामी तिमीहरूलाई प्रभाव र दबाबमा पारेर कठपुतली बनाउन उपनिवेश बनाउन, यहाँको प्राकृतिक स्रोत साधन लुट्न छिमेकीमाथि आँखा लगाउन आएका हौँ भन्दैनन् । जनताले देशघाती, देशद्रोही, भ्रष्टाचारी, कठपुतली, दलाल, अपहरणकारी हुन् भन्ने थाहा पाउँदा पाउँदै पैसा, जाँड, रक्सी, सारी, कुर्ता, ग्यास आदि आर्थिक लोभ र झूटा आश्वासनमा परेर जनताले उनीहरूलाई चुनावमा जिताउँदाको फल हो यो ।
हो, नेपालको अवस्था बेहाल बनाउन, सङ्कट निम्ट्याउन विदेशीले यहाँ जापानको हिरोसिमा र नागासाकीमा जस्तो एटम बम हानेको छैन, गोला बारुद हानेको छैन । सिधै आधुनिक हतियारले सुसूचित सेनाको फौज आएर लडाइँ गर्न आएको छैन । तर, विदेशीले नेपाललाई सजिलो र खतरनाक हतियार प्रयोग गरेर एसियाको सबभन्दा गरिब देशमा पु¥याइदियो । त्यो हतियार भनेको विनावर्दीको सेना, एनजीओ र आइएनजीओ हुन् । त्यसैको सिकार आज नेपाल भएको छ । हिजो विदेशीहरू, साम्राज्यवादीहरू, उपनिवेशवादीहरू, पुँजीवादीहरूले यही औजार, हतियार प्रयोग गरेर रुसलाई सिध्याए† युगोस्लाभियालाई सिध्याए† स्लोभोदान मिलोसेभिच सद्दाम अनि गद्दाफीलगायतलाई सिध्याए । त्यस्तै, ल्याटिन अमेरिका, अफ्रिका, मध्यपूर्वी युरोपलाई सिध्याइयो । त्यसैले, सबै विदेशी सहयोग, एनजीओ, आइएनजीओदेखि सतर्क र सावधानी हुनुपर्छ ।
देशको ६०/७० प्रतिशत जनता अझै कृषिमा निर्भर छन् । हिजो विदेशमा कृषि उत्पादन निर्यात गर्ने देशको रूपमा नेपाल परिचित देश हो । आज कृषि उत्पादन विदेशबाट आयात गर्ने देश बनेको छ । नेपाल कृषिप्रधान देश भएर पनि कृषि उपज विदेशबाट आयात हुन्छ । आज शासक दलका नेताहरूले कृषिलाई आत्मनिर्भर बनाउने, जुझारु युवा तथा किसानलाई जबरजस्ती घरखेत कौडीको मोलमा बेच्न र विदेसिन बाध्य पारेका छन् । गाउँघरमा युवाहरू भेटाउन कठीन भएको छ । देश झन्झन् गरिब र परनिर्भर हुँदै गएको छ ।
नेपालमा आयात हुने कुल कृषि उत्पादनमध्ये ६०–७० प्रतिशत भारतबाट आयात हुन्छ भने बाँकी अरू देशबाट आयात हुन्छ । गहुँ, चामल, धान, माछा, मासु, तरकारी, फलफुललगायत वर्षको २–३ खर्बको कृषि उपज भारतबाट मात्र आयात हुन्छ । कृषिमा हामी पूर्णतया भारतमा निर्भर हुँदै छौँ । विगतमा भारतले गहुँ नपाउँदा नेपालमा सबै मैदा मिल, पाउरोटी, बिस्कुट, चाउचाउलगायतको कारखाना, उद्योगहरू बन्द भएका थिए । केही समयअगाडि चामल रोक्यो । आज चिनीको अवस्था त्यस्तै छ । मलको अभाव त असारको समयमा कति भयो कति । नेपालमा चामल र चिनीको अभाव भयो । त्यसको महँगीले आकाशियो । उसले विभिन्न बहानामा गहुँ, चामल, चिनी, तरकारीलगायतका कृषि उपज रोकिएमा नेपालको अवस्था अझ बिजोक हुनेमा शङ्का छैन । नेपालले मित्र भनिएको, असल छिमेकी भनिएको भारतबाट ४–५ वटा अमानवीय नाकाबन्दी ब्यहोरिसकेको छ । जुन नेपाली जनताले कहिल्यै बिर्सने छैनन् ।
नेपालको उद्योगधन्दा, कलकारखाना, व्यापार चौपट भयो । मित्र देशहरूले बनाइदिएको भृकुटी कागज कारखाना, हिमाल सिमेन्ट, बाँसबारी छालाजुत्ता, हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना, विराटनगर जुट मिल, गोरखकाली टायर उद्योग, भक्तपुर इँटा टायल, हरिसिद्धि इँटा टायल, ट्रलिबस सेवा आदि उद्योग, कारखानाहरू बेचेर सरकारले स्वाहा पा¥यो । व्यापार, निर्यात प्रायः ठप्प छन् । देशमा रु. २–४ खर्बको मात्रको निर्यात हुन्छ भने वर्षको २०–२५ खर्बको सामान आयात भइरहेको छ । सरकारले लाज पचाएर भारतलाई वर्षको १०–१५ अर्बको विद्युत् बेचेर आम्दानी गरिरहेको ध्वाङ फुकिरहेको छ । तर, महँगोमा भारतसँग विद्युत् किनिरहेको विषयमा चुइँक्क बोल्दैन ।
कृषिप्रधान देशको खेत हराभरा पार्ने ७०–८० लाख युवाहरूलाई शासकहरूले सस्तो ज्यामीको रूपमा विदेश पठाएका छन् । अझ जाने क्रम बढ्दो छ । नेपालको उर्वर भूमि बाँझो भएको छ । भारतीय शासक दलको डरको कारण आजसम्म नेपाल सरकारले कृषिप्रधान देशमा मल कारखाना खोल्न आँट गर्नसकेको छैन । भारतले वर्षको पचासौँ अर्बको मल भारतबाट किन्न बाध्य पारिरहेको छ । त्यो पनि कमसल र म्याद नाघेको मल पठाइरहेको छ । यसले नेपालको कृषि उत्पादनमा ¥हास आउँछ । शैक्षिक जनशक्ति विदेसिरहेको छ । वर्षको लाखौँ विद्यार्थीहरू पढ्ने नाउँमा विदेसिरहेका छन् । त्यसैले, नेपाल एसियामा सबभन्दा गरिब देश हुन पुगेको हो । यसका दोषी शासक दलका नेताहरू नै हुन् । देशलाई यो अवस्थामा पु¥याउने ती दल र नेताहरूलाई समयमै दण्ड दिइनेछ । उनीहरूमा चाँडै सद्बुद्धि पलाओस्, घैँटोमा घाम लागोस् । यसैमा नेपाल र नेपाली जनताको कल्याण र हित हुनेछ ।
Leave a Reply