भर्खरै :

रुसको “अग्नि परीक्षा” – २

रुसको “अग्नि परीक्षा” – २

जारिस्टिन (Tsaristyn) भन्ने ठाउँको लडाइँमा टेलेजिनको नेतृत्वमा रहेको टुकडी र दासा कार्यरत टुकडी दुश्मनविरुद्ध सँगसँगै लड्छ । तर, टेलेजिन र दासाको भेट हुँदैन । लडाइँकै क्रममा घाइते भएको टेलेजिनलाई उपचार शिविर पु¥याउँदा मात्र दासा उसलाई भेट्छे । तर, टेलेजिनको आँखामा लागेको चोटको कारण पट्टी लगाएको हुँदा टेलेजिनले दासालाई देख्दैन । ऊ पूर्णरूपमा स्वस्थ भएपछि मात्र नाटकीयरूपमा उनीहरूको भेट हुन्छ ।
काट्याको खोजीमा निस्केको रस्चिन अझै काट्यालाई भेटाउन सक्दैन । त्यही क्रममा उसले रुसी कुलीन र पुँजीवादीहरू देशको त्यस्तो विषम परिस्थितिमा पनि निस्फिक्री मोजमस्ती र लम्पत जीवनमा लिप्त भएको देख्छ । यस्तै व्यक्ति र उनीहरूको ठाँटका लागि श्वेत सेना र आफू रुसी जनतासँग लडेको कुराले उनको मनमा आँधी ल्याउँछ । ऊ यी सब विसङ्गतिको पक्षमा नलड्ने सोच बनाउँछ र श्वेत सेनामा नफर्कन ठहर गर्छ । आफ्ना कागजपत्र र सैनिक पोशाकमा लागेका फुलीहरू च्यातेर फाल्छ र श्वेत सेनाबाट आफूलाई अलग पार्छ ।
आफ्नी पत्नी अराजकतावादीहरूको माझ रहेको सूचना एक जर्मन सैनिकबाट पाएपछि रस्चिन गुल्याइ–पोल्ये (Gulyai-Polye) तिर लाग्छ । माख्नोको अराजकतावादी सेना रहेको सो स्थानमा पुग्दा उसलाई माख्नोका मानिसहरूले बन्दी बनाउँछन् । अराजकतावादीहरूलाई सहयोग गर्ने सर्तमा मात्र ऊ मुक्त हुन्छ ।
काट्या आश्रित रहेको क्रासिल्निकोभको परिवार पुग्ने सम्पत्ति थुपारेर रस्चिन गुल्याई–पोल्ये पुग्नुअगावै अराजकतावादीहरूको समूह छोडेर आफ्नो गाउँ गइसकेको हुन्छ । यसरी रस्चिन र काट्याको फेरि पनि भेट हुँदैन ।
श्वेत सेनासँगको लडाइँमा लालसेनालाई सहयोग चाहिन्छ र उनीहरू माख्नोको अराजकतावादी सेनासँग सम्झौतामा पुग्छन् । इकाटेरिनोस्लाभमा लालसेनाको विजय हुन्छ । यस लडाइँमा रस्चिन पहिलोपटक लालसेनाको तर्फबाट लड्छ । सो लडाइँमा ऊ पहिलो मोर्चामा वीरतापूर्वक लड्छ र लडाइँपछि उसको मनमा एक किसिमको शान्तिको अनुभूति हुन्छ । विजय उन्मादले मात्तिएका माख्नोका सिपाहीँहरू लुटपाटमा व्यस्त रहँदा पछि हट्दै रहेको श्वेत सेनाको प्रहारबाट उनीहरू भाग्न विवश हुन्छन् ।
त्यसपछि रस्चिन सोभियत सेनामा आबद्ध हुन्छ । दासा र टेलेजिन सँगै रहन्छन् । लडाइँका बिचका शान्त समयमा दासा, कुज्मा र अरू केही लाल सिपाहीँहरू मिलेर सो टुकडीमा नाटक प्रदर्शन गर्छन् । एवंरीत दासा क्षयरोगले ग्रस्त हुन्छे । आफ्नो रणनीतिक स्थिति बलियो नभएको थाहा पाएका टेलिजिनले दासालाई त्यहाँ राखिरहनु ठीक ठान्दैन र कुज्मा कुज्मिचका साथ दासा र अर्की एक लडाकु महिला एनिस्या (Anisya) लाई सुरक्षित क्षेत्रतिर पठाउँछ ।
काट्याले क्रासिल्निकोभसँग विवाह गर्न मान्दिन । गाउँमा क्रासिल्निकोभको प्रतिक्रियावादी कार्यले गाउँलेहरू रुस्ट हुन्छन् । त्यस गाउँमा सोभियत सेना आइपुगेको थाहा पाएपछि ऊ काट्यालाई लिएर भाग्न खोज्छ तर काट्या मान्दिन । ऊ काट्यामाथि हातपात गर्न खोज्छ तर उसकी भाइबुहारी म्याट्रोनाले काट्यालाई बचाउँछ र क्रासिल्निकोभ भाग्छ । त्यसपछि काट्या त्यहाँ एक शिक्षिका भएर केटाकेटीहरूलाई पढाउन थाल्छे ।
क्रासिल्निकोभ अर्को अराजकतावादी जत्थामा जान्छ र पछि त्यही गाउँमा आउँछ । म्याट्रोनाले काट्यालाई भगाउँछे । ऊ र उसको समूहले गाउँमा आगो लगाउँछ । त्यसपछि त्यहाँ रस्चिनसहित लालसेना पुग्छ । रस्चिनले क्रासिल्निकोभलाई मार्छ तर फेरि यहाँ पनि उसको काट्यासँग भेट हुँदैन ।
टेलेजिन र रस्चिन एउटै सोभियत सेनाको टुकडीमा रहेर लड्छन् । टेलेजिनको नेतृत्वको सो ब्रिगेड श्वेत सेनासँग पराजित हुन्छ र टेलेजिन र रस्चिन अर्को सोभियत बिग्रेडमा पुग्छन् ।
एवंरीतले लडाइँको माझ कामकै सिलसिलामा मस्को आएको रस्चिन र मस्कोमा शिक्षिका भई काम गर्दै गरेकी काट्याको भेट हुन्छ ।
दासा पनि बिमारीबाट ठीक भएपछि सोभियत सेनामा नर्स भई काम गर्छे ।
सोभियत सेनाले चारैतिर विजय पाउँदै जान्छ । लेनिन, स्टालिन र अरू नेताहरू उपस्थित एउटा कार्यक्रममा एक इन्जिनियर सम्पूर्ण सोभियत सङ्घलाई बिजुली आपूर्ति गर्ने कुरा कार्यान्वयन गर्न अवलम्बन गर्नुपर्ने कामहरूबारे व्याख्या गरिरहँदा दासा, टेलेजिन, रस्चिन र काट्या सँगै हुन्छन् ।
सुनौलो भविष्य र उज्ज्वल सोभियत सङ्घको सङ्केत गर्दै ‘अग्नि परीक्षा’ उपन्यास टुङ्गिन्छ  ।
उपन्यासमा समेटिएका विषयहरू
निकै वर्ष लगाएर लेखिएको यो ठूलो उपन्यासमा लेखकले धेरै पात्रहरूको सिर्जना गर्नुका साथै थुप्रै विषयवस्तुलाई समेटेका छन् ।
तत्कालीन रुस, रुसी समाज र त्यहाँको जनजीवनको चित्रण यसमा छ । उपन्यासको पहिलो भाग एक साधारण उपन्यासजस्तो छ । तर, दोस्रो भाग हुँदै तेस्रो भागसम्म आइपुग्दा उपन्यास कुनै ऐतिहासिक उपन्यासझैँ लाग्छ । यसका पात्रहरू काल्पनिक नभई इतिहासका साँचा पात्रहरूझैँ लाग्छन् ।
प्रथम विश्वयुद्धअघिको पिटसवर्गमा व्याप्त व्यभिचार, मोजमस्ती र मादक पदार्थमा डुबेका रङ्गीन रातहरूको उल्लेख पहिलो भागमा छ । युद्ध सुरु भएपछि गाउँ–गाउँ खाली गरी साधारण किसान र मजदुरहरूलाई युद्धमा मर्न पठाइएको वर्णन छ । युद्धको वर्णन त उपन्यास भरि गरिएको छ प्रत्यक्ष प्रसारणजस्तै । युद्धको अवधिमा रुसमा लागेको अनिकाल, दैनिक उपभोग्य वस्तुको हाहाकार र यस्तो मौकामा खाद्य पदार्थ लुकाएर बढी पैसा असुल्ने काला–बजारियाहरूको पनि उल्लेख गरिएको छ ।
घरका लोग्ने मान्छे लडाइँमा गएपछि आइमाईहरूको मनमा उत्पन्न हुने डर, एक्लोपना पनि यसमा चित्रण गर्ने काम लेखकबाट भएको छ । अनिकालका कारण चोरी, डकैती र हिंसा बढेपछि अस्तव्यस्त बनेको रुसी समाज र जनतामा फैलिएको असन्तोषको अनुभूति पाठकले गर्नसक्छ । फेब्रुवरी क्रान्तिपछि मोर्चामा रहेका सैनिकहरू लडाइँ छाडी घर फर्कन्छन् र लडाइँ जारी राख्नुपर्छ भनी भन्ने व्यक्तिहरूप्रति उनीहरूको रोष पनि यसमा देखिन्छ । काट्याका श्रीमान् निकोलाई लडाइँ जारी राख्नुपर्छ भनेर सैनिकहरूलाई निर्देशन दिँदा सिपाहीँबाट मारिन्छ । अव्यवस्था र अराजकताको स्थिति क्रान्ति अघि जस्तो थियो, क्रान्तिपछि पनि केही परिवर्तन नभएको र ‘केही बदलिएन’ भन्ने भाव दिई पहिलो भाग समाप्त हुन्छ । फेब्रुवरीको पुँजीवादी क्रान्तिपछि पनि डकैती, चोरी र असुरक्षा बढेको, देशमा विदेशी आक्रमण भइरहँदा पनि मोर्चा छोडेर सिपाहीँहरू घर फर्केको आदि कारणले त्यहाँ जनतामा पुँजीवादी क्रान्तिले परिवर्तन नआएको भाव उत्पन्न हुन्छ । पहिलो भागको अन्त्यमा अर्को परिवर्तनका सङ्केतहरू देखा पर्छन् ।
उपन्यासको दोस्रो भाग १९१७ को अक्टोबर क्रान्तिपछिको समयबाट सुरु हुन्छ । शीर्षक ‘१९१८’ भएको यो भाग त्यही एक वर्षको घटनाक्रम हो ।
यसमा पनि अव्यवस्था र अराजकताको चित्रण छ । बोल्सेभिकहरूले मस्को कब्जा गरे पनि त्यहाँ अव्यवस्था व्याप्त रहन्छ । सोभियत सेना वा लालसेना मूलतः मजदुरहरूले बनेको थियो र यसको पकडमा मस्को र आसपासका केही क्षेत्रमात्र थियो । रुसको ठूलो भू–भाग श्वेत स्वयंसेवक सेनाको नियन्त्रणमा थियो । थुप्रै क्षेत्रहरू कहिले लालसेनाको कब्जामा त कहिले श्वेत सेनाका कब्जामा पुग्थ्यो । अराजकतावादी र डकैती गर्ने जत्थाहरू प्रत्येक ठाउँमा थिए । रुसी जनता थुप्रै गुट–उपगुटमा बाँडिएका थिए । तर, समाजवादी क्रान्तिका विरोधीहरू सोभियत सेनाको विरोधमा श्वेत सेनालाई सहयोग गर्थे । प्रतिक्रियावादी सेना गाउँ कब्जा गरेपछि सोभियत समर्थक र निर्दोष गाउँलेहरूलाई यातना दिने, मार्ने र गाउँमा आगो लगाइदिने काम गर्थे । जताततै लुटपाट, आगजनी, अशान्ति, लडाइँ व्याप्त थियो । सुचारुरूपले केही चलेको थिएन । एक ठाउँबाट अर्को ठाउँमा जाने रेलहरूमा थुप्रै पटक डकैती र आक्रमण हुन्थ्यो – कहिले श्वेत सेनाबाट, कहिले डाँकाहरूबाट, कहिले अराजकतावादीहरूबाट त कहिले लालसेनाबाट । दुश्मनका मान्छे बोकेर ल्याएकी आशङ्कामा रेलमाथि विभिन्न गुटबाट बारम्बार आक्रमण हुन्थ्यो । तर, यस्तो अवस्थामा पनि रेल सेवा रोकिएन । आफ्ना मान्छे र सामान ओसार्न सबै गुटलाई रेल आवश्यक परेकोले रेलसेवा रोकिदैनथ्यो ।
ग्रामीण रुसी समाजको यसमा राम्ररी चित्रित छ । मजदुरहरू सङ्गठित थिए र क्रान्तिका लागि ज्यान सुम्पन्न तयार थिए । तर, बहुमत किसानहरू सङ्गठित थिएनन् । उनीहरू जमिनका लागि लड्थे । लालसेनाले गाउँका जमिनदार र पुँजीपतिहरूलाई लखेटेर उनीहरूको जमिन किसानहरूलाई बाँडिदिन्थे । यसरी जमिन पाउने भएकाले उनीहरू लालसेनाको साथ दिन्थे ।
उसको उदाहरण क्रासिल्निकोभ हो । उसको भाइ सेम्योन (Semyon) लाल जहानी सैनिक थियो । ऊ क्रान्तिको लागि लड्दै हुन्छ । घाइते भएको सेम्योनलाई उसको दाइले घर ल्याउँछ तर निको भएपछि ऊ फेरि लडाइँमै जान्छ । उसको दाइ एक किसान थियो र उसलाई क्रान्तिभन्दा पनि जमिन र सम्पत्तिको मतलब थियो । त्यसैले, ऊ अराजकतावादीहरूको गुटमा सामेल हुन्छ र लुटपाट गरी सम्पत्ति जम्मा गर्न थाल्छ ।
पहिलो विश्वयुद्धमा रुसका ठाउँठाउँमा भएका लडाइँहरूको वर्णन यो उपन्यासमा छ ।
कालो सागर (Black Sea) मा रहेको लालसेनाका लडाकु जहाजहरू डुबाइएको घटना पनि यसमा उल्लेख छ । त्यस क्षेत्रमा लालसेना कमजोर थियो । उता जर्मनी ठूलो सेना लिएर रुस हान्न पुग्यो । ती जहाजहरू जर्मनी समक्ष आत्मसमर्पण गर्न या युद्ध झेल्न जर्मनीले धम्कीपूर्ण पत्र लेख्छ । जलसैनिकहरू जहाज सुपुर्द गर्नुभन्दा लडेर मर्न तयार हुन्छन् । तर जर्मनीलाई जित्न नसक्ने र अन्तिमसम्म लडेर मरेर पनि जहाजहरू जर्मनीको हात लाग्ने देखेर तिनीहरू दोधारमा पर्छन् । यो कुरा मस्को पुग्छ र त्यहाँबाट ती जहाजहरूलाई समुद्रमा डुबाइदिने आदेश आउँछ । निकै वादविवादपछि आफ्ना जहाज विदेशीको हातमा दिनुभन्दा त्यसलाई नस्ट गर्न ठीक सम्झेर ती जहाजहरू नस्ट गरिन्छन् । तर, एकाध जहाजका कप्तानहरू भने जहाजसहित जर्मन सेनाकहाँ लाग्छ ।
त्यस समयमा आफूले काम गरी आएको, आफ्नो पहिचान बनिसकेको जहाज डुबाउनु पर्दाको जलसैनिकहरूको पीडा यसमा चित्रित छ ।
सेनाभित्र शत्रु छिर्ने वा घुसेको घटना पनि हरेक लडाइँमा हुन्छ । लालसेनाका माथिल्ला कमान्डरहरूका प्रमुख कर्मचारीहरू घुसेका व्यक्ति भएको र उसले गलत सल्लाह कमान्डरलाई दिएको कुरा पनि टोल्स्टोयले उल्लेख गरेका छन् ।
त्यस्तै विस्तारै सोभियत सेनामा माथिल्ला वर्गका मानिसहरूको पनि उपस्थिति बढ्दै गएको यो उपन्यासमा पाइन्छ । सङ्गठित मजदुर कार्यकर्ताबाट सुरु भएको क्रान्तिले विशाल सोभियत सेना बनाएको तथ्य चित्रित छ ।
‘म सोभियत सेनाको लागि ज्यान दिन्छु तर मलाई यिनीहरू कहिल्यै कम्युनिस्ट बनाउन सक्दैन’ – टेलेजिनका एक मित्र भन्छन् । यसरी सिद्धान्तका कारण नभई अर्कै कारणहरूले लालसेनामा आएका व्यक्तिको चित्रण गरिएको छ ।
टोल्स्टोयले मास्लोभ (Maslov) भन्ने एक पात्रको उल्लेख गरेका छन् जो आफू पार्टीमा सामेल भए पनि सोभियत सैनिकहरूको मनोबल कम गर्ने काम गर्छ । लालसेना चारैतिर हार्दै गरेको र चाँडै युद्ध हार्ने कुरा सुनाएर ऊ सोभियत सैनिकहरूको मनोबल गिराउने काम गर्छ ।
त्यस्तै एक ठाउँमा टेलेजिन र रस्चिनको भेट हुन्छ । त्यतिबेला रस्चिन श्वेत सेनामै कार्यरत हुन्छ । रेलको स्टेसनमा विश्राम गरिरहेका टेलेजिनलाई उठाएर रस्चिन न उसलाई अंगाल्न सक्छ न श्वेत सेनालाई खबर गरी उसलाई पक्राउ गराउन सक्छ । पछि टेलेजिन उठेर गएपछि रस्चिन ऊसँग नबोली गएकोमा पछुताउँछ । लडाइँको समयमा आफन्तहरू एक अर्कासँग लड्नुपर्ने पीडा पनि पाठकहरूले अनुभव गर्नसक्छन् ।
मानिसले गलत काम गरेपछि त्यो कुराले उसलाई पछिसम्म पिरोल्छ भन्ने कुरा दासामा लागू हुन्छ । प्रतिक्रियावादी गुटमा रहँदा उसले जवाहिरातले भरिएको ब्रिफकेश हात पार्छे । उसले ती पत्थरहरूलाई लुगामा सिएर लुकाउँछे । बिर्सिसकेको त्यो कुरा ऊ बिरामी हुँदा अर्थवेहोसीमा बर्बराउँदै भन्छे र ती पत्थरहरूलाई खोलामा फ्याँक्न अनुरोध गरिरहन्छे । विनापरिश्रम पाएको धनले मानिसको मनलाई शान्ति नदिने कुरा छर्लङ्गग्याइएको छ ।
मानिसहरूमा व्याप्त अन्धविश्वास सहजै नहट्ने उदाहरण पनि उपन्यासमा छ । सोभियत सेनाले कब्जा गरेको गाउँका पादरीहरू गिर्जाघर छोडेर भाग्छन् । त्यहाँ ग्राम सोभियत स्थापना हुन्छ । जमिनदारबाट मुक्ति पाएपछि मानिसहरू खुसी हुन्छन् । तर, पछि गाउँमा विवाह आदि कर्म गर्नका लागि उनीहरू सोभियत सेनासमक्ष लाल पुरोहितको माग गर्छन् । नत्र, सोभियत सेनालाई सहयोग नगर्ने कुरा भन्छन् । गाउँघरका पुरुषहरूलाई मतलब नभए पनि गाउँका महिलाहरू यो कुरा चर्कै गरी उठाउँछन् । सोभियत सेनाका कमिसारले अनेक जुक्ति लगाई कुज्मा कुज्मिचलाई लाल पुरोहित बनाई गाउँ पठाउँछ । उसले आफ्नो वाक्पटुताले गाउँलेहरूलाई प्रभावित गरी उनीहरूका कर्मकान्डरहरू सम्पन्न गरिदिन्छ र सोभियत सेनालाई हरतरिकाले सहयोग गर्न मनाउँछ ।
तीनवटै भाग गरेर एक हजारभन्दा बढी पृष्ठ र दुई सयभन्दा बढी पात्रहरू रहेको यो ठूलो उपन्यासले साँच्चै रुसको अग्नि परीक्षालाई व्याख्या गरेको छ । चलिआएको एउटा व्यवस्था परिवर्तन भएपछि देश राम्ररी बाटोमा आउँदा यस्ता अस्तव्यस्तता देखिन्छ भन्ने कुरा इतिहासले देखाएको छ । यो उपन्यासमा उतारिएको चित्र झण्डैझण्डै हालको नेपालको अवस्थासँग मिल्न आउँछ । तर रुसमा त्यसबेला आएको समाजवादी क्रान्ति नेपालमा आउनै बाँकी छ । त्यसको निम्ति नेपाली जनताले अझ धेरै दिन यात्रा गर्न बाँकी छ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *