यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सामान्यतया कुलीन भन्नाले माथिल्लो सम्पन्न या उच्च कुलका मानिस भन्ने बुझिन्छ । उनीहरू राजा, महाराजाका सन्तान, आफन्त, नाताकुटुम्ब र आसेपासेका हुन्छन् । उनीहरू राजा महाराजाको वरिपरि माथिल्लो तहमा रहेर राजकाजमा सहयोग गरिरहेका हुन्छन् । उनीहरूले तल्लो वर्गको रैती, दास, प्रजा, किसान, मजदुरहरूलाई दबाएर शासन गरिरहेका हुन्छन् । उनीहरूको जीवन ऐसआराममा बितिरहेको हुन्छ । उनीहरूलाई अभाव, आवश्यकता, समाज र दुःख केही थाहा हुँदैन । उनीहरू जनतालाई दबाएर शोषण गरेर हुकुमी, अत्याचारी शासक बन्छन् । कुनै कुनै देशका शासक र कुलीन वर्ग पनि विद्रोही हुन्छन् भन्ने कुरा विश्वको इतिहासले पुष्टि गर्दै आएको छ । यसको उदाहरण रुसका कुलीन वर्गको विद्रोह हाम्रो अगाडि छ । लेखक भुलक्कडद्वारा लिखित नेपाल क्रान्तिकारी युवा सङ्घबाट प्रकाशित तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) द्वारा कार्तिक ३ गते विमोचित ‘रुसको डिसेम्बर विद्रोह’ पुस्तक हाम्रोसामु छ ।
युरोप हुँदै रुसमाथि हमला गर्न आएको नेपोलियन बोनापार्ट र उनका सेनाको फौजलाई भुदास र सिपाहीहरूको साथ र सहयोगमा सेनाको उच्च तहमा भएका कुलीन वर्गका विद्रोहीहरू नेपोलियन र उनका सैनिक फौजलाई प्रत्याक्रमण र परास्त गरी फ्रान्समा लखट्न सफल भए । उनीहरूले युरोपको औद्योगिक विकास, प्रजातन्त्र, समानता आदि हेर्ने र अनुभव गर्ने अवसर पाए । केही कुलीन वर्गका विद्रहीहरू रुसी कूटनीतिज्ञको रूपमा विदेशमा सेवारत आमाबुबासँगै युरोपमा हुर्केका र पेरिसका आधुनिक शिक्षालयहरूबाट प्रशिक्षित थिए । सन् १८१२ देखि १८१५ सम्म नेपोलियनविरुद्ध चलेको लडाइँमा सैनिक अफिसरको रूपमा कलिलो उमेरमा सहयोगी भएर पश्चिम युरोपको विभिन्न सहरको जीवन र विचार अनुभव गरेका थिए । युरोपको औद्योगिक कुस्ति र पश्चिम युरोपमा भइरहेको परिवर्तन, विकास र समानताको प्रभाव ती युवा अफिसरहरूमा पर्नु स्वाभाविक छ । ती युवाहरूले रुसको पछौटपनको प्रमुख कारण जारको तानाशाही शासन हो । भूदास प्रथा, मानवीय समानता र न्यायको मर्मविपरीत छ, भूदास प्रथा रहेसम्म रुसको तीव्र आर्थिक प्रगति सम्भव छैन । त्यसकारण, जारको तानाशाही र भूदास प्रथालाई जरैदेखि फाल्नुपर्छ भन्नेमा उनीहरू एकमत भए । उनीहरूमा राजा जारविरुद्धको विद्रोह गर्ने भावना बढ्नुको कारण हाम्रो देशलाई पश्चिम युरोपभन्दा अगाडि बढाउनुपर्छ भन्ने देशभक्त भावना बढ्नु पनि हो । यसको विरुद्ध लड्न, विद्रोह गर्न ती युवाहरूले ‘मुक्ति सङ्घ’ नामको गुप्त सङ्गठन गठन गर्दै गए । उनीहरू सन् १८२५ डिसेम्बर २६ मा जारको निकोलसको शीतल दरबारमाथि धावा बोलेर दरबार कब्जा गरी जार सम्राट निकोलसलाई सजिलै बन्दी बनाएर विद्रोह गर्न तीन हजार सैनिक फौजसहित जम्मा हुँदै थिए । तर, तोकिएको जिम्मा पाएका केही सैनिक नेताहरूले विश्वासघात गर्दा, आक्रमण गर्न कसैबाट स्पष्ट निर्देशन नहुँदा उल्टो जारको ९ हजार सैनिकबाट आक्रमण भयो । आम जनताको बिचमा विद्रोहको उद्देश्यबारे सङ्गठन र प्रचार थिएन । जनता रमिते बने । विद्रोह असफल भयो ।
विद्रोह असफल भएपछि जारका सैनिकहरूले विद्रोही सैनिकहरूलाई धमाधम पकिँ्रदै गए । पक्राउ परेका मध्ये केही गले र झुके । उनीहरूले गुप्त समाजको गतिविधि र त्यसका सदस्यहरूबारे प्रशासनलाई पोल खोलिदिए । थप विद्रोहीहरू पक्राउ परे । पक्राउ परेका ५८९ जना विद्रोहीहरूमध्ये १० जना क्रान्तिकारीको भेषमा सुराकी थिए । अधिकांश विद्रोहीहरूले जार र उनको अधिकारीसामु विद्रोहको कारण गौरव र निडरताका साथ बताए । जारले उनीहरू आफूसमक्ष झुक्छन्, माफी माग्छन् भन्ने सोचेका थिए तर यसको ठीकविपरीत ती विद्रोहीहरूले राजा जारसामु, उनका अधिकारीसामु माफी मागेनन् र आत्मसमर्पण गरेनन् । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती राज्य नै लागेर रचेको भक्तपुर काण्डमा पनि यस्तै अनुभव जनताले गरेका थिए ।
विद्रोह असफल भएपछि पक्राउ परेका ५८९ जना युवामध्ये १२१ जनालाई राज्यविरुद्ध अपराधमा मुद्दा चलाइयो । जारले पाँच जना डिसेम्बरवादी नेताहरूलाई घोडाले चारैतिर तानेर मार्ने सजाय सुनायो भने थप ३१ जना क्रान्तिकारीहरूलाई मृत्युदण्डको सजाय सुनायो । तर ती ३१ जना क्रान्तिकारी विद्रोहीहरूलाई राजा जारले आफूलाई जनतासामु दयालु देखाउन, पक्राउ परेका विद्रोहीको परिवारको सहानुभूति बदल्न मृत्युदण्ड खारेज गरेर १५ देखि २० वर्षको कैद र बाँकी जीवन साइबेरियामै निर्वासनमा बिताउनुपर्ने सजाय तोकिदिए । उनीहरूलाई सर्वस्वहरण गरेर सदाको लागि राजनीतिक अधिकारबाट बञ्चित गरेर साइवेरिया पठाइयो । ती अनकन्टार साइबेरियामा निर्वासनको कैद सजाय पाएका विद्रोहीहरू कुमार सेर्गेइ गुबेन्स्कोइ, कुमार येभगेनी ओब्लेन्स्की, कुमार सेर्गेइ भोल्कोन्स्की, निकिता मुराभ्योभ, मात्भेइ मुराभ्योम, अपोस्टोल, मिखाइल लुनिन, इमान याकुश्किन, अलेक्जान्डर मुराभ्योभ, इमान सुखिनोभ, निकोलाई प्यानोभलगायत ३१ जना थिए भने पाँच जना क्रान्तिकारीहरू सर्गेइ मुराभ्योभ, पाभेल पेस्तेल, कोन्द्रातीरिलेयेभा, प्योतरकाखोभ्स्की र मिखाइल बेस्तुजेभ रुमिनलाई भने सन् १८२६ जुलाई २५ को झिसमिसे बिहान फाँसीमा झुन्ड्याइयो ।
राजा जारका ती ३१ जनालाई अनकन्टार साइबेरिया निर्वासनमा पठाउने घोषणा गरेपछि त्यसमध्ये एकजना क्रान्तिकारीले कालो बादलको किनारामा चाँदीको घेरा हुन्छ भनेझैँ आत्मबल, आत्मविश्वास लिएर गर्वका साथ भने, “साइबेरियामा पनि सूर्य चम्किन्छ, हामीलाई लाख कठिन भए पनि जाडोले कठ्याङ्ग्रिने साइबेरियाको कैद र निर्वासनले हामी डिसेम्बरवादीहरूको समाज परिवर्तनप्रतिको विश्वास, चाहना, दृढतालाई जुनसुकै हठकन्डा प्रयोग गरे पनि गलाउन सक्दैन ।” उनीहरूमा आफ्नो विश्वास र विद्रोहप्रति कुनै ग्लानि, डर, पश्चाताप रत्तिभर छैन । बरु, उनीहरू आफ्नो विचार र अडानप्रति दृढ थिए । उनीहरूलाई थाहा हुँदो हो विद्रोह असफल भएपछि पाउने दण्ड भनेको जेलनेल, आजीवन कारावास र फाँसी या मृत्युदण्ड हो !
ती ३१ जना विद्रोहीहरूलाई जारको रुसी सरकारले साइबेरियाको सबभन्दा वरपरको पश्चिमी भाग बैकाल तालपारिको नेर्चिन्स्क नगर वरपरको धातुका खानीहरूमा कठोर श्रम सजाय दिन पठाए । यो पिटर्सवर्गबाट ७ हजार ५ सय किलोमिटर टाढा थियो । घोडाको बग्गीबाट जाँदा २ महिना लाग्थ्यो । त्यसमा सेनाको माथिल्लो तह वा वर्गका क्रान्तिकारीहरूलाई २ महिना लगाएर त्यहाँ पु¥याए भने तल्लो तहका क्रान्तिकारीहरूलाई धुलाम्य र हिलाम्य बाटोमा घिसार्दै हिँडाएर त्यहाँ पुग्दा वर्ष दिनभन्दा बढी लागेको थियो । उनीहरू नभागून् भनेर कडा निगरानीमा कसैलाई भेँडागोठ र घोडाको तबेलाहरूमा सफा गर्ने, कसैलाई बस्तीको बाटो बढार्ने, माटो खन्ने र अन्न कुट्ने मिलहरूमा काम लगाइयो । सम्पन्न र सुख सयलमा हुर्केका ती कुलीन वर्गका परिवारको कठ्याङ्ग्रिने चिसोमा अँध्यारा र ओसिलो कोठाहरूमा बस्नुपर्दा स्वास्थ्य बिग्रँदै गयो । केहीले त्यो कठीन अवस्था सहन नसकेर मानसिक सन्तुलन पनि गुमाए । तर, अधिकांश देशभक्त विद्रोहीहरू हार मानेनन् । ‘कालो बादलमा चाँदीको घेरा हुन्छ’ भनेझैँ आफ्नो देशलाई प्रजातन्त्र र विकासमा पश्चिम युरोपभन्दा अगाडि बढाउने सङ्कल्प, लिएर उनीहरू क्रान्तिकारी विचारप्रति अडिग रहे । साइबेरियामा पनि सूर्य हुन्छ भन्ने भावनाका साथ उनीहरूले आफ्ना गतिविधिलाई चालु राखे† निरास भएनन् । बरु, उनीहरूले आफूहरू बसेको ठाउँमा स्थानीय जनतासँग सम्पर्क गरे र सम्बन्ध बढाए । उनीहरूले स्थानीय जनताको शिक्षाको निम्ति स–साना पाठशालाहरू स्थापना गर्न थाले । उनीहरूको स्वास्थ्य केन्द्रहरू खोलेर साथ र सहयोग दिन थाले । जुन तानाशाही जारको राज्यको निम्ति टाउको दुखाइ भएको थियो ।
डिसेम्बर विद्रोहमा सरिक भएका युवाहरूमध्ये धेरै अविवाहित थिए । थोरैको मात्र जहान र बालबच्चा थिए । केही क्रान्तिकारी र विद्रोही महिलाहरूले जतिसुकै दुःख, कष्ट सहनु परे पनि साइबेरियामै पुगेर क्रान्तिकारी आफ्ना पतिहरूलाई साथ र सहयोग दिने साहसिलो निर्णय गरे । कुमार भुराभ्योभकी पत्नी अलेक्सान्द्रा भुराभ्योभ र कुमार सर्गेइ भोल्कोन्स्कीकी पत्नी मारिया भोल्कोन्स्कायालगायत ११ जना क्रान्तिकारी महिलाहरू आफ्ना पतिलाई साथ दिन साइबेरिया गइन् । अन्य ७ जना क्रान्तिकारीका आमा र दिदीबहिनीहरू पनि त्यहाँ गए । ती महिलाहरू अप्ठ्यारो सङ्कटको समयमा पनि क्रान्तिकारी परिवारको उत्साह बढाउन र अर्थपूर्ण जीवनलाई निरन्तरता दिन त्यो कठिन बाटो रोजेर त्यहाँ गएका थिए । त्यहाँ उनीहरूले निःस्वार्थ हृदयले सेवा गरे । जाडोको लुगा नभएका क्रान्तिकारीहरूलाई उनीहरूले न्यानो कपडा दिन्थे, तिनीहरूको लुगा धोएर सफा गरिदिन्थे, खाना बनाइदिन्थे । केही वर्षभित्र त्यहाँ साइबेरियामा निर्वासित परिवारको अलग्ग बस्ती नै बन्यो ।
ती महिलाहरूलाई कैद अवधिभर क्रान्तिकारीहरूसँग बस्ने अनुमति थिएन । हातामा २ पटक एकएक घण्टामात्र सुरक्षाकर्मीको निगरानीमा भेट्न दिइन्थ्यो । कैद गरिएका ती क्रान्तिकारीहरूलाई चिट्ठी लेख्न र पठाउने अनुमति थिएन । ती महिलाहरूले नै उनीहरू सबैको घरमा चिट्ठी लेखेर पठाइदिन्थे । ती महिलाहरूले स्थानीय अधिकारीलाई कैदी क्रान्तिकारी बन्दीहरूको सुविधा र रक्षाको लागि दबाब दिए । उनीहरूले पनि कैदी र रैथाने आदिवासीहरूको स्वास्थ्य उपचार गर्न स्वास्थ्य केन्द्र र पढ्न÷पढाउन पाठशालाहरू स्थापना गर्न सक्रिय भूमिका खेले । उनीहरूले ती क्रान्तिकारीहरूको निम्ति बाँच्ने भौतिक तथा नैतिक आडभरोसा, उत्साह र प्रेरणाको स्रोतको रूपमा काम गरे । यी कुलीन वर्गका क्रान्तिकारी युवा र महिलाहरूको योगदान, त्याग, सही कुरामा कसैसँग नझुक्ने अडान र परिवर्तन चाहने सबै युवा विद्यार्थी र जनताले मनन गर्नु आवश्यक छ ।
Leave a Reply