भर्खरै :

दुर्गा प्रसाई प्रवृत्ति र कम्युनिस्ट आन्दोलन

दुर्गा प्रसाई प्रवृत्ति र कम्युनिस्ट आन्दोलन

महादेवले भष्मासुरलाई बरदान दिएजस्तै एमाले र माओवादीले पुल्पुल्याएर पालेका दुर्गा प्रसाई आज उनीहरूलाई नै घाँडो भएका छन् । दुर्गा प्रसाईको मार्सी भात प्रचण्ड र ओलीको घाँटीमा अड्केर निल्नु न ओकल्नु भएको छ । स्वार्थको लागि हिजो प्रचण्ड र ओलीको जुठो थाल पालैपालो चाट्ने दुर्गा प्रसाई अचानक आजभोलि उनीहरूकै पोल खुल्दै छन् । विचएको राजनीति नगर्ने मान्छेलाई कथित कम्युनिस्ट नेताले अल्पकालीन फाइदाको लागि हतियार बनाएर प्रयोग गर्न खोज्दा उल्टै कम्युनिस्ट आन्दोलनले क्षति व्यहोर्नु परेको छ । उनको गलत महत्वाकाङ्क्षालाई पखेटा हालिदिने काममा प्रचण्ड र ओलीको योगदान छ । उनका वैध अवैध सबै धन्दालाई संरक्षण गर्ने कार्यमा सरकारमा गएका यी ठुला कम्युनिस्ट पार्टीहरू नै जिम्मेवार छन् ।
प्रचण्डले दुवईमा अर्बाँै लगानी गरेको र ओलीले कम्बोडियामा अर्बाँै लगानी गरेको आरोप झेल्ने कम्युनिस्टले आफ्नो सबै सम्पत्ति पार्टीलाई सुम्पेको नाटकको पटाक्षेप भएको छ । ‘सर्पको खुट्टा सर्पले मात्र देख्छ’ भनेजस्तै ओली र प्रचण्डसँग एउटै टेबलमा खाने र एउटै ओछ्यानमा सुत्नेलाई थाहा भएरै यति ठुलो आरोप लगाउन सकेको हो कि ? यो आरोपमा कतिको सत्यता छ यो त अनुसन्धानबाट थाहा हुने नै छ । यी दुई नेताकै कारण अहिले नेपालमा कम्युनिस्टलाई नै गाली गर्ने भएको छ । अर्को कुरा दुर्गा प्रसाईले लगाएका आरोप मिथ्या हुन् भने यिनलाई कारबाहीको दायरामा ल्याउन सक्ने बुता सत्तासीन र उनको विरुद्ध रहेको प्रतिपक्ष समेतमा किन नभएको होला ? ओली–प्रचण्ड चुकेको कारण कुनै दिन दुर्गा प्रसाईसँग यिनीहरू ठुलै मूल्यमा बिकेको अनुमान गर्न सकिन्छ ।
तर, दुर्गा प्रसाईले बोलिसकेपछि त्यो विषयको जरो र चुरोमा पुग्नुपर्छ । प्रमाणित गराएर छोड्नुपर्छ ¤ सर्वसाधारणलाई भ्रममा पारेर आफ्नो स्वार्थी खेल खेल्नु भएन । सर्वसाधारणले सत्य तथ्यको प्रतीक्षा गर्दै छन् । बहुदलको स्थापनालगत्तै केही व्यक्तिहरूले पम्फादेवीको नाममा स्वीजरल्यान्डमा अर्बाँै छ भनी हल्ला फैलाएका थिए । तर, त्यसको चुरो कुरो कहिल्यै जनमानसमा आएन । आफ्नो स्वार्थ र कमजोरीलाई जनताबाट ध्यान हटाउन नेताहरूबिच हुने आरोप प्रत्यारोप जनताले धेरै भोगे । यति हुँदाहुँदै पनि दुई ठूला कम्युनिस्ट नेतालाई एउटै टेबुलमा मार्सी भात खुवाएर २ वर्षभित्र माओवादीबाट एमाले, एमालेबाट राजावादी बनेर दुवैलाई चर्को गाली गर्ने यस्ता अवसरवादीले मङ्सिर ७ गते बोलाएको भेलामा ताली बजाउनेको भिड अझै ठुलै रहनेछ ।
ओली र प्रचण्डलाई थाङनामा सुताइसकेपछि दुर्गा प्रसाईले आफ्नो स्वार्थ सिद्धिको लागि ज्ञानेन्द्र शाहलाई बोक्न थालेका छन् । राजतन्त्र र धर्म उनको आस्था होइन बरु नितान्त अवैध धन जोगाउने अभिष्ट हो । आज ज्ञानेन्द्रको काखमा गुटमुटिएका छन् । यस्ता स्वार्थीले छिट्टै उनको काख पनि फोहर पार्दै ज्ञानेन्द्रलाई पनि प्रचण्ड र ओली बनाउनेछ । अरूलाई खाने बाघले आहारा नपाएको दिन पक्कै पनि आफूलाई खानेछ भन्ने भनाइ सबैले बुझ्नुपर्छ ।
दुर्गा प्रसाईको खास लक्ष्य कम्युनिस्ट नेताहरूको असफलता र अलोकप्रियताको अवसर छोपी राजतन्त्रको माग गरेर राजावादीहरूको सहानुभूति पाउने अनि ५ प्रतिशत ब्याज र २० लाखसम्मको ऋण मिनाहाको कुरा गरेर ऋण नतिर्ने लुच्चाहरूलाई झुक्याएर भिड जम्मा गर्ने हो । प्रचण्डले सिङ्गापुर र स्विजरल्यान्डको सपना र ओलीले पानीजहाजको सपना देखाएर जनतालाई उल्लु बनाएको सिको गरेर दुर्गा प्रसाईले बीस लाख ऋण मिनाहाको सपना देखाउँदै छन् ।
दुर्गा प्रसाईको आन्दोलन भनेको अराजकताको पराकाष्ठा हो । यसको उपलब्धि अन्ततः शून्य नै हो । बैङ्किङ प्रणाली भनेको अर्थतन्त्रको स्नायु प्रणाली हो । यस प्रणालीलाई अवरुद्ध पार्न खोज्नु भनेको समग्र अर्थतन्त्रमाथि नै धावा बोल्नुसरह हो । त्यसैले बैङ्कको ऋण तिर्दिन भन्नु जनताको पैसा तिर्दिन भन्नु हो । जनताको निक्षेपको रक्षा गर्नुपर्छ । धार्मिक हिसाबले पनि ऋण खाएर मर्नु नरकमा जानु हो ।
ऋण नतिर्ने गलत परिपाटीको विकास भएको छ । यसको सुरुवात बाबुराम भट्टराई अर्थमन्त्री हुँदादेखि हो । उनको पालामा रोजगार सिर्जना गर्ने भनेर बिनाधितो ऋणको नाममा आफ्ना कार्यकर्ताहरूलाई पैसा बाँडे । पछि उक्त ऋण मिनाहाको घोषणा गरे । त्यहीबाट सुरु भयो ऋण लिएर फिर्ता गर्नु नपर्ने मानसिकता । २० लाखको ऋण बैङ्कले मिनाहा दिने हो भने देशले ७ खर्ब भार व्यहोर्नुपर्छ । १० खर्ब पनि राजस्व नउठ्ने अर्थतन्त्र टिक्ला ? ‘बुढी मरेको भन्दा पनि बाघ पल्केको चिन्ता’ भनेजस्तै अहिले युवाहरू ऋण लिएर फिर्ता दिनु नपर्ने मानसिकता विकास हुँदा काम गरी खाने बानी हट्दै जान्छ जुन समग्र आर्थिक विकासको लागि अभिशाप ठहरिने छ ।

‘दुर्गाप्रसाई प्रवृत्ति’ बाट सिक्नुपर्ने पाठ 
दुर्गा प्रसाई प्रतिनिधि पात्रमात्र हुन् । यिनीजस्ता व्यवसायीहरू राजनैतिक प्राणी होइनन्् । कम्युनिस्ट त परको कुरा हो । आफ्नो फाइदा जता छ त्यतै हिँड्छन् उनीहरू । पर्दापछाडि यस्ता दुर्गा प्रसाई धेरै छन् जसले राजनीतिलाई व्यवसाय बनाइरहेका छन् । यस्ता व्यक्तिलाई कम्युनिस्ट पार्टीमा भित्याएर कम्युनिस्ट आन्दोलनलाई क्षति पु¥याउने कथित कम्युनिस्ट नेताहरूलाई पनि जनताले चिन्नुपर्छ । एक दुई जनाकै कारण समग्र कम्युनिस्ट आन्दोलनमाथि गाली गर्नु पनि भएन । अर्कोतिर कम्युनिस्ट आन्दोलनमा यस्ता विकृति हटाउन कम्युनिस्ट पार्टीमा आबद्ध नेताहरू आर्थिक अनुशासनमा दृढ रहेर यस्ता नीच व्यवसायीहरूबाट टाढा रहनुपर्छ । चन्दाको लोभमा व्यवसायीहरूसँग मोलमोलाइ गरेर उनीहरूको शर्त मान्नु भएन । यस अर्थमा कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भको रूपमा देखिएको नेपाल मजदुर किसान पार्टीबाट धेरै सिक्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *