भर्खरै :

दुःख र पीडा भोगेको मान्छेले लेखेको साहित्य नै जनताको साहित्य हुन

दुःख र पीडा भोगेको मान्छेले लेखेको साहित्य नै जनताको साहित्य हुन

भक्तपुर, २५ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले प्राध्यापक कोमलवदन मल्ल (प्रधानाङ्ग) द्वारा लिखित ‘जीवन एक : सङ्घर्ष अनेक’ आत्मकथा पुस्तक एक विशेष समारोहबिच शनिबार लोकार्पण गर्नुभयो ।
उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ‘जीवन एक : सङ्घर्ष अनेक’ पुस्तकले नेपाली साहित्यको फाँटमा एउटा इँटा थप्ने काम गरेको चर्चा गर्दै आगामी दिनमा पनि त्यस्तै पुस्तक प्रकाशनमा निरन्तरता दिने आशा व्यक्त गर्नुभयो ।
दुःख र पीडा भोगेको मान्छेले लेखेको साहित्य नै जनताको साहित्य हुने उहाँले चर्चा गर्नुभयो ।
समाजमा अझै पुरानो संस्कार, अन्धविश्वास बाँकी रहेको औँल्याउँदै अध्यक्ष बिजुक्छेँले संस्कार र संस्कृति सिकेर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्धविश्वास र कुरीतिको बाटो छोड्नु नै नयाँ युगको सेवा गर्नु हो, नयाँ पुस्ताले यथास्थितिभन्दा परिवर्तनको बाटोमा जाने प्रयास गरिरहेको छ ।”
शैक्षिक किरण गाउँ–बस्तीमा पु¥याउन र देश र जनताको सेवाको निम्ति सडक आन्दोलन गर्नु परेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सङ्घर्षमय जीवन यात्रामा जानकी कायष्ठ र कोमलवदन मल्लले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो ।
दुई सिद्धान्त र दर्शनबारे वैचारिक बहस भइरहेको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “बल प्रयोग गरेर सत्य साबित हुँदैन ।”
भक्तपुरको सन्दर्भमा महिलाहरूको नेतृत्व विकास भइरहेको उल्लेख गर्दै उहाँले सत्य र तथ्यलाई विश्वास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रकाशित कृति भक्तपुर र जीवनलाई चिन्ने एउटा आँखी झ्याल हुने विचार व्यक्त गर्नुभयो ।
जीवन सङ्घर्षकै क्रममा समाजका नायक र नायिका चिन्ने मौका पाउने उल्लेख गर्दै उहाँले भक्तपुरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र प्रकाशित पुस्तकबारे अन्तरक्रिया भइरहेको अवगत गराउनुभयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा नेपाल बदनाम भइरहेको बेला भक्तपुरले शिक्षा, स्वास्थ्य, सम्पदा, संस्कृति, सरसफाइमा गरिरहेको उदाहरणीय कामले स्वदेशी र विदेशका नेता र जनप्रतिनिधिहरूको ध्यान भक्तपुरतर्फ गइरहेको उहाँले बताउनुभयो ।
सिद्धान्त र विचारको राजनीति गर्न र राजनीतिक संस्कार र संस्कृति सिकाएर अघि बढ्न भक्तपुरले प्रकाशस्तम्भको रूपमा काम गरिरहेको बताउनुभयो ।
भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष राजु जोशीले ज्ञान बाँड्दा झन् बढ्ने विश्वास व्यक्त गर्दै जीवनको यात्रा कठिन भए पनि असम्भव नहुने विचार व्यक्त गर्नुभयो । जीवनमा आइपर्ने कठिनाइसँग सामना गर्दै अघि बढेमा लक्ष्यमा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय पूर्वउपकुलपति केदारभक्त माथेमाले पहिले राजा महाराजाहरूको गुणगान हुन्थ्यो भने अहिले सङ्घर्षमा होमेर देश र जनताको सेवा गर्ने वीरहरूको गुणगान गरेर लेख्ने काम सुरू भएको बताउनुभयो ।
पूर्वप्राध्यापक नारायण जोशीले सङ्घर्षै सङ्घर्षले बितेको दिन नै जीवन हो, पुस्तक तयार गर्न उत्प्रेरणा दिने कार्यको प्रशंसा गर्नुभयो ।
प्रज्ञा प्रतिष्ठानका सदस्य नन्दु उप्रेतीले देशभित्र र बाहिर जहाँ बसे पनि कर्म गरेर संसार चिनाउनुपर्ने आवश्यकता आँैल्याउँदै पुस्तक प्रकाशन गर्न सङ्घर्ष र आँट गर्नुपर्ने हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “देश, समाज र जनताको सेवा गर्ने वीर विरङ्गनाहरूको देनबारे पुस्तक प्रकाशन जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “जनस्तरबाटै जनताको इतिहास उजागर गर्नुपर्छ ।”
साहित्यकार एवं समीक्षक सावित्री जङ्गमले सत्य र तथ्यमा आधारित पुस्तक नयाँ पुस्ताको निम्ति मार्गनिर्देश हुने विचार व्यक्त गर्नुभयो ।
कृतिका रचनाकार कोमलवदन मल्लले कृति लेख्नुपर्नाका पृष्ठभूमिबारे चर्चा गर्दै आफूले सत्य र तथ्यमा आधारित भएर जीवन यात्राको स्मरणमा पुस्तक लेखेको बताउनुभयो ।
स्वर्गीय श्रीमती कृष्णकुमारी मल्ल शिक्षा कोष परिवार भक्तपुरका अध्यक्ष सर्वज्ञभक्त मल्लको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद प्रेमभक्त महर्जन, डा. सविता मल्ल, शैलेस मल्ल र सानु अमात्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *