भर्खरै :

सी र बाइडेनको दोस्रो भेट : एक टिप्पणी

सी र बाइडेनको दोस्रो भेट : एक टिप्पणी

सामान्यतः दुई देशका राष्टप्रमुखबिचको भेटघाट स्वाभाविक कूटनीतिक अभ्यास हो । त्यस्ता भेटघाटले सम्बन्धित दुई देशको सम्बन्धमा सकारात्मक वा नकारात्मक प्रभाव पारेको हुन्छ । तर, जब कुरा दुई प्रमुख देशका राष्ट्र प्रमुखबिचको भेटघाट हुन्छ, तब त्यस्ता भेटघाटबाट आउने निष्कर्ष संसारका अन्य देशका आगामी दिनसँग पनि जोडिन पुग्छ ।
चीनका राष्टपति सी चिनफिङ एसिया प्रशान्त आर्थिक क्षेत्र (एपेक) का आर्थिक अगुवाहरूको तीसौँ सम्मेलनमा भाग लिन नोभेम्बरको दोस्रो साता संरा अमेरिकाको सान फ्रान्सिस्को जाँदै छन् । त्यहाँ उनको संरा अमेरिकाका राष्टपति जो बाइडेनसँग पाश्र्ववर्ती बैठक हुने निश्चित प्रायः भएको छ । बदलिँदो विश्व परिस्थितिमा दुई प्रमुख शक्ति देशका नेताहरूबिचको बैठकका सम्भावित बहुआयामलाई गहिराइमा नियाल्ने प्रयास स्वाभाविक हो किनभने यो भेटघाटको प्रभाव चीन संरा अमेरिका सम्बन्धमा मात्र सीमित रहनेछैन । बरु यसका सकारात्मक र नकारात्मक निष्कर्षले आउँदा दिनमा केही न केही प्रभाव अन्तर्राष्ट्रियरूपमा पार्नेछ ।
त्यसो त अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विश्लेषकहरूले सी र बाइडेनबिचको भेटलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट विश्लेषण गर्ने प्रयास गरेका छन् । तर, अधिकांश वस्तुवादी विश्लेषकहरू यसबाट निकै ठुलो अपेक्षा गर्न नमिल्नेमा एकमत छन् । तथापि, दुई नेताबिच भेटघाट तय गर्नुपूर्व भएका पूर्वतयारीको क्रममा देखिएका केही सकारात्मक सङ्केतले दुई नेताबिचको भेटघाटबाट झिनै भए पनि सकारात्मक गति लिने अपेक्षा गरिएको छ ।
गाजामाथि इजरायलको भीषण हमलालाई यसअघि खुलेर समर्थन गरिरहेको संरा अमेरिकी सरकारले सीसँगको सम्भावित भ्रमणको तयारीकै क्रममा मानवीय कारण हमला विश्राम गर्न इजरायल सरकारलाई आग्रह गर्यो । सोहीअनुसार इजरायलले अनकनाउँदै भए पनि गाजामाथि हमलामा दैनिक केही विश्रामको घोषणा गरेको छ । तथापि, इजरायलको यो निष्कर्ष गाजाका जनताले झेलिरहेका कठिन समयको समाधान भने पक्कै होइन । इजरायल प्यालेस्टाइन द्वन्द्वमा चीन सुरुदेखि नै प्यालेस्टाइनी जनताको पक्षमा उभिँदै आएको छ ।
गाजामाथि इजरायली हमलाप्रति संरा अमेरिकी सरकारको समर्थनको कारण बाइडेन आफ्नै जनताबाट निकै आलोचित छन् । मध्यपूर्वमा संरा अमेरिका अझ बढी बदनाम भएको छ । यसले आगामी वर्ष हुने संरा अमेरिकी निर्वाचनमा संरा अमेरिकाका युद्धविरोधी जनताको मत गुम्ने भयले अमेरिकी डेमोक्रेटिकहरू त्रस्त छन् । यस परिस्थितिमा इजरायलमाथि समर्थनले निम्त्याएको बदनामी पखाल्न संरा अमेरिका तत्काललाई गाजा हमलाको समस्या समाधान खोजिरहेको देखिन्छ । संरा अमेरिका आफँै एउटा पक्षमा खुलेर लागिसकेको अवस्थामा यो समस्यामा मध्यस्थ भूमिका खेल्न सक्दैन । त्यसकारण, उसलाई यतिबेला चीनको खाँचो परेको छ । विगतमा भियतनाममा फसेको अमेरिकालाई उद्धार गर्न जसरी माओसँग निक्सनको भेट आवश्यक भएको थियो, अहिले इजरायली कलङ्कमा मुछिएको बाइडेनलाई उद्धार गर्न सी चिनफिङसँगको भेट आवश्यक भएको छ ।
दुई नेताबिचकोे भेटघाटमा हुन सक्ने अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय महत्वको विषय संरा अमेरिका र चीनबिचको व्यापार सम्बन्ध हो । विशेषतः डोनाल्ड ट्रम्प सरकारदेखि चीन र संरा अमेरिकाबिचको व्यापार सम्बन्ध तिक्त बन्दै आएको छ । संरा अमेरिकाले सैद्धान्तिकरूपमा आर्थिक उदारीकरणको पक्ष लिए पनि चिनियाँ उत्पादनमाथि निषेधको नीति अपनाउँदै आएको छ । चीनले भने अमेरिकाले आर्थिक संरक्षणवादको पक्षपोषण गरेर व्यापारमा सम्बन्धविच्छेद (डीकपलिङ) को खोटो नीति लिएको भन्दै वाशिङ्टनको आलोचना गरिरहेको छ ।
संरा अमेरिकाले अझै पनि आजको विश्वमा आफ्नो आर्थिक र राजनीतिक शक्ति क्षीण बन्दै गएको वास्तविकतालाई स्वीकार्न सकिरहेको छैन । उसलाई अझै पनि आफू दोस्रो विश्वयुद्ध पछि उदयीमान शक्तिशाली देश भएको भ्रम छ । त्यसकारण, उसले कुनै पनि अर्को दोस्रो देश शक्तिशाली, समृद्ध र विकसित भएको देख्न चाहेको छैन । अझ कम्तीमा आफ्नो हाराहारीमा आएको हेर्न चाहेको छैन । विशेषतः पछिल्ला केही दसकयता चीनको तीव्र आर्थिक विकासको बेगले यतिबेला संरा अमेरिकी नीति निर्माता र शासकको मथिंगल बेस्सरी हलाएको देखिन्छ । रोचक कुरा के हो भने उनीहरूले चीनको यो बेग अनुभव गरुञ्जेल चिनियाँ बेग उनीहरूले रोक्न नसकिने चरणमा पुगिसकेको थियो । तथापि, चीनको बेग रोक्ने प्रयास भने संरा अमेरिकाले छोडेको छैन । व्यापारमा निषेध र व्यापार युद्ध त्यसैको परिणाम हो । चीनको बिस्तारित विश्व व्यापारमाथि निषेध गर्न संरा अमेरिकाले चीनका कैयौँ व्यापारिक संस्था र व्यक्तिमाथि नाकाबन्दी लगाएको छ ।
अर्थतन्त्रमा देखिएको यो परिवर्तन राजनीतिमा पनि देखिने गरेको छ । संरा अमेरिका जब जब चीनसँगको आर्थिक सम्बन्ध तिक्त बन्दै जान्छ अथवा बनाउन चाहन्छ, संरा अमेरिकाले थाइवान र दक्षिण चीन सागरका मुद्दालाई उछाल्ने गर्दै आएको छ । थाइवान चीनको अभिन्न अङ्ग हो भन्ने विषयमा संरा अमेरिकाले पचास वर्षअघि नै सहमति जनाइसकेको थियो । तथापि, अझै पनि उसले थाइवानको विषयमा दोहोरो नीति अपनाउँदै आएको छ । एकातिर संरा अमेरिकाले थाइवानका शासकहरूलाई चीनविरुद्ध उक्साउने गर्छ भने अर्कोतिर चीनसँग एक चीन नीतिप्रति समर्थनको खेल खेल्ने गर्छ । चीनको आर्थिक र राजनीतिक शक्ति क्षीण बनाउन संरा अमेरिका फेरि पनि थाइवान कार्ड खेल्न बरोबर प्रयास गर्छ । दक्षिण चीन सागरमा सैनिक गतिविधि बढाएर चीनमा अस्थिरता लाद्ने प्रयास गर्ने गर्छ । केही विश्लेषकहरू बाइडेनको सीसँगको भेटघाट तय गर्नुपूर्व नै चीनले आफ्ना केही आधारभूत पूर्वशर्तमा सम्झौता वा प्रश्न नउठाउने पूर्वशर्तमा बैठक तय भएको हुन सक्ने अनुमान गरेका छन् ।
सी र बाइडेन भेटघाटमा यस्ता दुईपक्षीय सम्बन्धका विषयमा पनि चर्चा हुने भए पनि यी विषय तत्कालै एकै भेटमा समाधान हुने विषय भने होइनन् । तथापि, कम्तीमा यस्ता बैठकले गतिरोधको अवस्था चिर्न मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ ।
संरा अमेरिकी नेतृत्वसँग जबसम्म आफूभन्दा फरक विचारधारा अपनाएका देशका दृष्टिकोणलाई स्वीकार्ने सोचाइ विकास गर्न सकिन्न र जबसम्म आफूसँग फरक मत राख्नेलाई निषेध गर्ने सोच हावी रहन्छ तबसम्म मुखले जतिसुकै प्रजातन्त्रको बखान गरे पनि असल प्रजातान्त्रिक देशको रूपमा उसले आफूलाई प्रमाणित गर्न सक्दैन ।
सी चिनफिङको सान फ्रान्सिको भ्रमण यतिबेलाको स्वाभाविक दुईपक्षीय भ्रमण भए दुई देशबिचको तत्कालीन तिक्ततामा सहज र स्वाभाविक परिवर्तन ल्याउन मद्दत यसले भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *