निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २० कार्तिक । नेपाल मजदुर किसान पार्टीले चुनावी तयारी तीव्र गरेको छ । सोमबार नेमकिपाले एक भेलाको आयोजना गरी भक्तपुर क्षेत्र न २ को प्रदेश १ चुनाव प्रचार समिति गरेको छ । भेलामा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले निर्वाचनलाई प्रतिक्रियावादीहरुलाई नंग्याउने अवसरको रुपमा लिने बताउनुभयो । उहाँले निर्वाचनलाई समाजवादी गणतन्त्र प्रचार अभियानको रुपमा लिने भन्दै निर्वाचनको माध्यमबाटै समाजवाद स्थापना गर्ने संशोधनवादीहरुविरुद्ध सैद्धान्तिक संघर्ष गर्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो । केन्द्रीय सदस्य प्रजापतिले निर्वाचनलाई क्रान्तिको परिस्थिति तयार पार्न उपयोग गर्ने भन्दै प्रतिक्रियावादी संघसंस्था भित्र गई जनताको सेवा गर्ने बिचार राख्नुभयो । कार्यक्रममा भक्तपुर क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार एवम् नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले प्रतिक्रियावादीहरुले नेमकिपाविरुद्ध भ्रामक प्रचारवाजी गर्नु उनीहरुको हार मानसिकता भएको बताउनुभयो । उहाँले नेमकिपाले शासक पार्टीहरुको सैद्धान्तिक खण्डन गर्न निर्वाचनमा भाग लिएको भन्दै कुनै पार्टीको कुनै व्यक्ति उठ्नु र नउठ्नुसँग कुनै सरोकार नहुने धारणा प्रष्ट पार्नुभयो । उहाँले नेमकिपाको विजय सुनिश्चित भएको भन्दै सबै कार्यकर्ता उत्तिक्कै सक्रिय भएर लाग्ने उल्लेख गर्नुभयो । भक्तपुर क्षेत्र नं २ प्रदेश नं १ का उम्मेदवार एवम् नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले प्रतिक्रियावादी पार्टीहरुले नेमकिपालाई विकासविरोधी पार्टी भनी भ्रम फैलाइरहेको भन्दै नेमकिपाले जस्तो पारदर्शी रुपमा विकासका काम गर्न शासक पार्टीहरुलाई चुनौती दिनुभयो । उहाँले नेमकिपा आफू जितेका ठाउँहरुमा शिक्षाको विकासमा उदाहरणीय काम गरेको दृश्तान्त प्रस्तुत गर्नुुभयो । उहाँले प्रतिक्रियावादीहरुले पैसाको बलमा चुनाव जित्न लागेको भन्दै भ्रष्टाचारीहरुलाई हराउन सबै सचेत हुने विश्वास व्यक्त गर्नुभयो । नेमकिपा क्षेत्र नं २ को निर्वाचन परिचालन समितिका संयाजक सुर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका समानुपातिक उम्मेदवार केदार खड्का र महेन्द्र बखुञ्छेले नेमकिपाको पक्षमा मतदान गर्न आह्वान गर्नुभयो । भेलाबाट महेन्द्र बखुञ्छेको संयोजकत्वमा क्षेत्र नं २ प्रदेश १ को चुनाव प्रचार समिति गठन गरिएको छ ।
Leave a Reply