भर्खरै :

भनपा वडा नं. ९ मा कृषि बाली माटो परीक्षण शिविर

भनपा वडा नं. ९ मा कृषि बाली माटो परीक्षण शिविर

भक्तपुर, १ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. ९ वडा कार्यालयको आयोजनामा शुक्रबार दत्तात्रय चोकमा कृषि बाली माटो परीक्षण शिविर भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष एवम् कृषि नगर समितिका संयोजक राजकृष्ण गोराले कृषि बाली उत्पादन घट्दै गइरहेको कृषकहरूको सुझाव र कृषि प्राविधिकहरूको माटो बिग्रिँदै गएको सुझावअनुसार माटोको उपयोग गरेर बाली उत्पादन बढाउन माटो परीक्षण गरेको बताउनुभयो ।
बाली उत्पादन घटेसँगै खाद्यान्न अभाव भई महँगी बढ्ने र त्यसको असर सबैमा पर्ने हुँदा बाली राम्रो बनाउन माटो परीक्षण गर्नुपरेको विचार व्यक्त गर्दै उहाँले सरकारको बेवास्ताले देशमा आर्थिक सङ्कट देखिएको बताउनुभयो ।
देशको पैसा ठूलठूला खर्बपति, अर्बपतिको हातमा परेको र उनीहरूले विदेशमा लगानी गरिरहेको चर्चा गर्दै उहाँले शोषक सामन्तहरू नेताहरूको संरक्षणमा रहेको कारण देश परनिर्भर रहेको बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले मानिसको स्वास्थ्य परीक्षणझैँ बालीको परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै कम जग्गामा बढीभन्दा बढी उत्पादन गर्नेतर्फ हाम्रो ध्यान जानुपर्ने बताउनुभयो ।
शरीरको रोगअनुसार औषधि सेवन गरेझैँ माटोको गुणअनुसार मल प्रयोग गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ९ कृषि समितिका अध्यक्ष इन्द्रबहादुर प्याठको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृषि प्राविधिक रवि ख्याजुले मानव, बाली र माटोको परीक्षण बरोबर गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कृषि समितिका सदस्य एवम् वडा समितिका सदस्य छोरीमैयाँ सुजखुले आर्थिकरूपमा सबल बनाई आत्मनिर्भर बनाउन भनपाले समय सापेक्ष विभिन्न तालिम र शिविर सञ्चालन गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *