भर्खरै :

कमिसनमा पल्केर देश समृद्ध नहुने

कमिसनमा पल्केर देश समृद्ध नहुने

शासक दलका नेताहरूको प्रतिस्पर्धा देश विकासको निम्ति हुनुपर्ने हो† जनताको सुख सुविधाको निम्ति हुनुपर्ने हो । अनि पो नेपाल र नेपाली जनतालाई लज्जाबोध हुँदैन । अहिले शासक दलका नेता, मन्त्री र सांसदहरूको कुकार्यको कारण नेपाली जनता लज्जित छन् । विकास गाउँबाटै सुरु हुन्छ भन्ने शासक दलका नेताहरू राजधानी छिरेर मन्त्री र सांसदको निम्ति तँछाडमछाड गरेको देख्दा कुन न्यायप्रेमी जनतालाई लज्जाबोध नहोला ? डिल्ली र बम्बैका कोठीमा बेचिएर सडेको जीवन बिताउन विवश चेलीबेटीको कथा सुन्दा र देशलाई बन्धकीमा राख्ने पूर्वाभ्यास हेर्दा कुन देशभक्त नेपालीको मनमा असर नपर्ला ? विकास, प्रजातन्त्र, स्वतन्त्रता र सुशासनको बखान गर्ने शासक, मन्त्री र सांसदहरू राजस्व ढाँटेर, कमिसन डकारेर, तस्करी जमाएर, घोटाला गरेर, चिल्ला कार चढेर विदेशी ह्विस्की र ब्रान्डीमा मात्तिएपछि देश कसरी समृद्ध हुन्छ ? जो कमिसनमा पल्केर डलर कमाउँछन् ती नै मन्त्री र सांसदहरू संसद्मा भ्रष्टाचारको विरोधमा कड्केर बोल्छन् । यही हो देशको प्रजातन्त्र र स्वतन्त्रता ! कोही तस्करी गरेर कमाएको पैसा मठमन्दिरमा केही रकम खन्याएर धर्मात्मा बन्छन् त कोही हुनसम्मको बेइमानी काम गरेर खुबै इमानदारी र नैतिकताको भाषण छाँट्छन् ।
पञ्चायतको पालादेखि सुरु हुँदै आएको सुन र डलरको तस्करी यो गणतन्त्रसम्म पनि चालु रह्यो । यसरी नै तस्करी गरेर यहाँका शासकहरू अकुत सम्पत्ति कमाउँछन् अनि ती नै नेताहरू हामी भ्रष्टाचार गर्दैनौँ, गर्न दिनेछैनौँ भनी खोक्छन् । सुन र डलर तस्करी बारम्बार भइरहेको छ । यसबाट शासकहरूको स्वार्थ के रहेछ भन्ने थाहा हुँदैन ? ती नै शासकहरू तस्करी रोकेर गरिबी हटाउँछु भनी चिच्याउँछन् र आफूलाई गर्वको अनुभूति गर्छन् । घुस्याहा, भ्रष्टाचारी, तस्करी बढेपछि गरिब जनताको जीवनस्तर कसरी अघि बढ्छ ? धाक, धम्कीको राजनीति सच्चा राजनीति कसरी हुन्छ ? निर्वाचनताका देशबाट भ्रष्टाचार, गरिबी, महँगी, बेरोजगारी, अशिक्षा आदि हटाउने वाचा गरेका नेताहरूको कुरा सुनेर दङ्ग भएका सर्वसाधारण जनताले मतदान पनि गरे । तर, यहाँ भ्रष्टाचार, महँगी र गरिबी घटेको छैन । एक समयका त्यागी बलिदानी भावना बोकेर सरकारमा पसेका उहिलेका ख्याउटे, दुब्ला नेता आज सांसद, मन्त्री भए । उनीहरू मोटाघाटा भए, चिल्ला गाडी चढेर ‘प्रजातान्त्रिक’ नेता भए । तर, देशको मुहार फेरिएन ।
यहाँ त शासकहरू दायाँबायाँ मिलाएर, सत्ताको चाकरी गरेर पुगेपछि अकुत सम्पत्ति कुम्ल्याउनेहरू नभएका होइनन् । उनीहरुले यहाँ गुलियो चाटेर कर्तव्य भुलेका छन्, देश भुलेका छन्, मानवता भुलेका छन् । आर्थिक सहयोग र विकासमा भुलेर या फसेर देशघाती काम भएको छ, जनविरोधी काम भएको छ । सिद्धान्त र विचार भुलेर देशको स्रोत र साधन बन्धक राख्ने काम भएको छ । शासकहरूको यस्तै यस्तै कदमले देशभक्त नेपालीलाई लज्जित बनाएको हो । विकास गरेर, जनतालाई राहत दिएर देशको मान मर्यादा, इज्जत, प्रतिष्ठाको उचाइ बढाउनुपर्ने सरकारले उल्टो बदनामी पाइरहेको छ । देश बदनाम हुने काम गरेर के शासकहरूको इज्जत बढ्छ ? धेरैपटक ठूला दलका नेताहरू सरकारमा पुगे, सरकारको नेतृत्व गरे र हुनसम्मको हसुर्ने काम गरे । देशको राजस्वमा सत्तासीन दलका नेता र मन्त्रीहरूलाई रजाइँ गरिरहेकै कारण, भ्रष्टाचार र अनियमितता भएकै कारण देशमा आर्थिक समस्या देखिएको हो; कर्मचारीलाई पारिश्रमिक खुवाउन धौ धौ भएको हो । के सरकारको काम भएको आम्दानीमा रजाइँ गर्ने हो ? देशको आम्दानी बढाएर विकासको मुहान फुटाउनुपर्दैन ? विज्ञान र प्रविधिमा विकास गरेर नयाँ नयाँ कुरा आविष्कार गरेर नेपाललाई विश्वसामु चिनाउनुपर्दैन ? देशलाई राम्रो काम गरेर चिनाउने कि गलत काम गरेर चिनाउने ? सरकारको नेतृत्व गर्ने तर जिम्मेवारी भुल्ने दलका नेताहरू प्रजातन्त्र र स्वतन्त्रताको भजन गाएर त्यसैको खिल्ली उडाउँदै छन् । यसले देश माथि उठ्दैन, जनताको जीवनस्तर माथि उठ्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *