भर्खरै :

विदेशी स्वार्थको लागि जनतामाथि दमन गर्नु गलत

विदेशी स्वार्थको लागि जनतामाथि दमन गर्नु गलत

नेपाली भूमि नेपाली जनताको हो । सिद्धान्ततः भूमि राज्यको हुने भए पनि बहुमत जनताको हितविपरीत अधिग्रहण गर्नु गलत हुन्छ । तर, नेपालका सरकारहरूले न जनहितको कार्य उल्लेख्यमात्रामा गर्न सकेका छन् न त जनताको न्यायोचित आवाजको सुनुवाइ गरिरहेका छन् । एमसीसी परियोजनाको प्रशारणलाइन जहरसिंह पौवा हुँदै नुवाकोटको रातोमाटे लैजाने योजना रहेको छ । जहरसिंह पौवाका स्थानीय जनताले बस्तीबिचबाट प्रसारण लैजान नहुने र सवस्टेसन बनाउन नहुने भन्दै सो स्थानबाट आयोजना अन्यत्र सार्न माग गर्दै आन्दोलन गरिरहेका छन् । शनिबार पनि आयोजना स्थलमा स्थानीयले विरोध प्रदर्शन गरेका थिए । ऐतिहासिक बस्तीका जनताको न्यायोचित आवाज सुन्नुको साटो नेपाल सरकारले उक्त स्थानमा एक्कासि सशस्त्र प्रहरीको क्याम्प स्थापना ग¥यो† जनताको घरघरमा प्रहरी पठाएर प्रदर्शनकारी जनतालाई पक्राउ ग¥यो ।
सब–स्टेसन निर्माण अघि बढाउनेबारे बिहीबार नेपाल विद्युत् प्राधिकरण, शंखरापुर नगरपालिका, इलाका प्रशासन कार्यालय साँखु, स्थानीयवासी लगायतबिच छलफल भएको थियो । सबै पक्षको साझा सहमति बनाएर अघि बढ्ने कुरा भए पनि आयोजनास्थलमा एक्कासि सशस्त्र प्रहरीको क्याम्प राख्न गएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् । राज्यको दमनविरुद्ध सुरु भएको कथित जनयुद्धको नेतृत्व गरेर आएको दाबी गर्ने पुष्पकमल दाहाल प्रधानमन्त्री र सोही पार्टीका नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेको बेला न्यायोचित आवाज उठाएका जनतामाथि दमन हुन्छ भने तिनीहरूको ‘जनयुद्ध’ केका लागि थियो र उनीहरू कसका लागि काम गरिरहेका छन् भनी धेरै कोट्याइरहन नपर्ला ।
केही अमेरिकी सहयोग रकम र बाँकी नेपालकै बजेटबाट कार्यान्वयन हुने एमसीसी परियोजनाको वास्तविक उपयोग नेपाल र नेपाली जनताको लागि होइन, बरु भारतमा स्थापना भएका र हुने अमेरिकी लगानीसहितका भारतीय उद्योगहरूलाई नेपालको सस्तो बिजुली पु¥याउनको लागि हो भनी प्रस्ट भइसकेको छ । त्यसमाथि एमसीसी सम्झौताका कतिपय प्रावधानहरूले देशको सार्वभौमिकता नै गुम्ने वा कमजोर हुने तथ्य सत्य बोल्न नडराउने सबै बुद्धिजीवीहरूले सम्झौताको सप्रसङ्ग व्याख्यामार्फत छर्लङ्ग पारिसकेकै छन् । यसरी विदेशीको हितको लागि बन्न लागेको परियोजनाका लागि देशको ऐतिहासिक बस्तीहरू नै धरापमा पर्ने र जनताको उठीबास हुने निर्णय गर्नु कुनै हालतमा पनि सही कदम होइन ।
कसैले आफूलाई कम्युनिस्ट हुँ भन्दैमा, हँसिया हथौडा अङ्कित रातो झन्डा लिएर आउँदैमा र पार्टी कार्यालय तथा बैठक कोठामा माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओ त्सेतुङको तस्बिर झुन्डयाउँदैमा ऊ कम्युनिस्ट हुने गर्दैन । नाममा कम्युनिस्ट राख्ने र नीति तथा व्यवहारमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सेवा गर्ने र गरिब नेपाली जनतामाथि दमन र उत्पीडन गर्ने माओवादी केन्द्र विदेशी घोडाबाहेक अरु साबित हुँदैन । व्यापक जनताको विरोध छलेर एमसीसी सम्झौता र नागरिकता विधेयक पारित गराउन त्यस पार्टीले गरेको नाटक र खेलेको भूमिकाले यही साबित गर्छ । यस मामिलामा सत्तामा रहेका र पटकपटक सत्ताको नेतृत्व गरेको एमाले पनि एकै कित्तामा पर्न आउँछन् । ती पार्टीका नाम, साइन बोर्ड र चुनाव चिह्नमात्र फरक हुन्, नीति र व्यवहार एकै रहेको छ । तर, विदेशी स्वार्थका लागि जनतामाथि दमन गर्नेहरूले ढिलो चाँडो त्यसको मूल्य चुकाउनैपर्छ । विश्वका सबै देशका इतिहासले यही देखाउँछ, नेपालमात्र अपवाद हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *