भर्खरै :

इजरायलद्वारा भइरहेको प्यालेस्टिनी बालबालिकाको हत्या अन्त्य हुनुपर्छ

इजरायलद्वारा भइरहेको प्यालेस्टिनी बालबालिकाको हत्या अन्त्य हुनुपर्छ

घना जनसङ्ख्या भएको गाजापट्टीमा खसालिएको हरेक इजरायली बम सम्भावित युद्ध अपराध हो ।
नोभेम्बर ६ मा दिएको आफ्नो भाषणमा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले घोषणा गर्नुभएको थियो कि ‘गाजा बालबालिकाको चिहान बनिरहेको छ ।’ उहाँको टिप्पणीले तत्काल मिडियाको ध्यानाकर्षण गरे तापनि तिनीहरूले प्यालेस्टिनी बालबालिकाको वास्तविकतालाई भिन्नाभिन्नै अर्थमा बुझे ।
यतिखेर गाजामा इजरायली सेनाले प्यालेस्टिनी बालबालिकालाई पहिलेको अकल्पनीय दरमा मारिरहेको छ । गत ४० दिनमा, इजरायली सेनाले गाजामा ५ हजारभन्दा बढी बालबालिकाको हत्या गरेको छ । थप १८ सय बालबालिकाहरू भत्किएका भवनहरूको भग्नावशेषमुनि हराइरहेका छन् । तीमध्ये अधिकांशको मृत्यु भएको अनुमान गरिएको छ । यसको अर्थ ४० दिनको अवधिमा ६८०० भन्दा बढी प्यालेस्टिनी बालबालिका मारिएका छन् । त्यो भनेको हरेक दिन १७० भन्दा बढी बालबालिकाको ज्यान गइरहेकोे हो ।
डिफेन्स फर चिल्ड्रेन इन्टरनेसनल–प्यालेस्टाइन (DCIP) ले सङ्कलन गरेको कागजातअनुसार प्यालेस्टिनीको अर्को प्रान्त वेस्ट बैङ्कमा, इजरायली सेनाले अक्टोबर ७ देखियता ५२ जना प्यालेस्टिनी बालबालिकाको हत्या गरेको छ । यसमा अक्टोबरमा मात्रै मारिएका ३८ प्यालेस्टिनी बालबालिकाहरू समावेश छन्, सन् १९६७ मा वेस्ट बैङ्कमा इजरायलको सैन्य कब्जा सुरु भएदेखि एक महिनामा मारिएका प्यालेस्टिनी बालबालिकाको सबैभन्दा बढी सङ्ख्या हो ।
गाजामा अघिल्लो इजरायली सैन्य आक्रमणहरूमा जस्तै डीसीआइपी (DCIP) ले गरेको अनुसन्धानअनुसार इजरायली आक्रमणहरू अत्यधिक अविवेकी र असमानतापूर्ण थिए । इजरायली सेनाले व्यापक क्षेत्र–प्रभाव पर्ने विस्फोटक हतियारहरूको साथ घना जनसङ्ख्या भएको नागरिक क्षेत्रमा नागरिक र नागरिक पूर्वाधारलाई लक्षित गरेको छ । अर्को शब्दमा भन्नुपर्दा, इजरायली सेनाले गाजामा खसालेको हरेक बम सम्भावित युद्ध अपराध हो ।
यहाँ कुनै गल्ती नगर्नुहोस्, महासचिव गुटेर्रेसले खतराको घण्टी बजाउँदै हुनुहुन्थ्यो किनभने उहाँलाई थाहा छ कि प्यालेस्टिनी बच्चाहरू अतुलनीय कष्टप्रद क्षणमा बाँचिरहेका छन् र मरिरहेका छन् । संयुक्त राष्ट्र सङ्घका प्रमुखको आफ्नै वार्षिक प्रतिवेदनअनुसार, विगत दुई वर्षमा अन्य सशस्त्र द्वन्द्वमा राज्य र गैरराज्य पक्षले गरेको भन्दा इजरायली सेनाले युद्धको पहिलो महिनामा अति धेरै बालबालिकाको हत्या गरेको छ ।
गाजापट्टीमा बसोबास गर्ने २३ लाख प्यालेस्टिनीमध्ये झन्डै ५० प्रतिशत बालबालिका छन् । यो अविश्वसनीय युवा जनसङ्ख्याले १६ वर्षको इजरायली घेराबन्दीको अनुभव गरेको छ, जुन सामूहिक दण्डको ज्वलन्त उदाहरण हो । प्यालेस्टिनी बालबालिकाहरूले बारम्बार इजरायली सैन्य आक्रमणहरूको सामना गरेका छन् जहाँ नागरिकहरू र नागरिक पूर्वाधारहरूविरुद्ध आक्रमणमा परेका होइनन्, प्रणालीगत दण्डहीनताविरुद्धको प्रत्यक्ष, मनपरी र असमान आक्रमणहरूको सिकार बनेका छन् ।
इजरायली अधिकारीहरूले गाजामा प्यालेस्टिनीहरूलाई खाना, पानी, बिजुली, चिकित्सा आपूर्ति र इन्धनबाट बन्द गरेकाले मानवीय विपत्ति सृजना भई मृत्यु हुनेको सङ्ख्या नाटकीयरूपमा बढ्ने अनुमान गरिएको गुटेर्रेसलाई थाहा थियो, जसले एक बन्दी नागरिक जनताको निम्ति ‘दुःस्वप्न’ भनेर वर्णन गर्नुभएको थियो ।
गाजाको जनसङ्ख्यामध्ये अनुमानित ५० हजार गर्भवती महिलाहरू छन् । यसको अर्थ त्यहाँ औसतमा दैनिक १६० डेलिभरीहरू हुन्छन् ।
स्वास्थ्य सेवा प्रणाली धरासायी भएकोले गर्भवतीलाई अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच पाउन निकै समस्या भएको छ । इजरायली अधिकारीहरूले जीवन बचाउने उपकरणहरू चलाउनको लागि जेनेरेटरहरू चलाउन अत्यन्तै आवश्यक इन्धनको प्रवेशमा रोक लगाएका कारण प्रसवपछिको अवधिमा रहेका मानिसहरू र नवजात एकाइहरूमा रहेका बच्चाहरू खतरनाक इन्धन अभावका कारण गम्भीर जोखिममा छन् ।


इजरायली बमबारीबाट बाँचेकाहरूले बढ्दो खाद्य असुरक्षा र सफा पानीको अभावको सामना गर्छन्, जसले गर्भवती महिला र बालबालिकाहरूलाई विशेषगरी रोग, कुपोषण र स्वास्थ्य जटिलताहरूको जोखिममा पारेको छ ।
बेलायती मानवीय संस्था अक्सफामले घोषणा गरेको छ कि इजरायली अधिकारीहरूले मानवीय पहुँचलाई पूर्णरूपमा अस्वीकार गरेको कारण भोकमरीलाई गाजामा नागरिकहरूविरुद्ध युद्धको हतियारको रूपमा प्रयोग गरिरहेका छन् । प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सी (UNRWA) ले १४९ वटा शरणार्थी शिविरहरूमा आश्रय लिइरहेका ७,१७,००० भन्दा बढी आन्तरिकरूपमा विस्थापित मानिसहरूको लागि अवस्था अमानवीय र बिग्रँदै गएको उल्लेख गरेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायत इजरायली अधिकारीहरूले गाजामा युद्धविरामका लागि बढ्दो आह्वान र दबाबलाई बारम्बार अस्वीकार गरेका छन् । यसको सट्टा इजरायली सेनाहरूले आवासीय भवन र अस्पतालहरू, विद्यालयहरू, बेकरीहरू र सौर्य प्यानलहरूलगायत नागरिक पूर्वाधारहरूमाथि मनपरी र प्रत्यक्ष मिसाइल आक्रमणहरू तीव्र पारेका छन् ।
इजरायली अधिकारीहरूले गाजालाई खाली गर्ने र प्यालेस्टाइनको जनजीवनलाई समाप्त गर्ने अवस्था सिर्जना गर्ने प्रयासमा अडिग देखिन्छन्, विश्व नेताहरूले दिनदिनै भइरहेको बमबारी अन्त्य गर्ने साहसको अभाव देखाइरहेका छन् र उल्टो इजरायली आक्रमणलाई सक्रियरूपमा समर्थन गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले हालै इजरायलसँग संयुक्त राज्यको सटीक बमहरू खरिद गर्नको लागि ३२० मिलियन अमेरिकी डलरको सम्झौतालाई अनुमोदन गरेको छ र इजरायली अधिकारीहरूलाई कब्जा गरिएको वेस्ट बैङ्कमा बसोबास गर्न थालेका इजरायली नवबसोबासीहरूको हातमा पुग्न सक्ने चिन्ताको बाबजुद हजारौँ आक्रमण राइफलहरू बेच्न अनुमति दिएको छ । यो इजरायलका लागि अमेरिकी काङ्ग्रेसबाट अनुरोध गरिएको १४ अर्ब डलरको आपत्कालीन कोषबाहेकको सहयोग हो ।
यी हतियार बिक्री र कोषले वासिङ्टनलाई गाजामा इजरायली सेनाले गरिरहेको स्पष्ट सामूहिक अत्याचारमा अझ बढी संलग्नता पुष्टि गर्छ ।
दशकौँदेखि, अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टिनी जीवनको मूल्यमा इजरायली जनताको सुरक्षालाई प्राथमिकता दिँदै इजरायली युद्ध अपराध र प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारको इन्कारलाई समर्थन गर्दै आएको छ । प्यालेस्टिनी बालबालिकाले त्यो जटिलता र अन्तर्राष्ट्रिय कानुन, संरक्षण र जवाफदेहिता संयन्त्रको असफलताको मार भोगिरहेका छन् ।
गाजाका आवासीय भवनहरू र नागरिक पूर्वाधारहरूमा इजरायली सेनाको सघन बमबारीबाट हरेक दिन करिब ९ देखि १० कक्षाकोठाका विद्यार्थीहरू पृथ्वीबाट बिदा भइरहेका छन् भन्ने सोच्दा पक्षाघात हुन्छ ।
इजरायलका कार्यहरूको बिडेन प्रशासनको समर्थन र यसले दिएको नरसंहारको हरियो बत्तीको विरोध हुनुपर्छ । विश्व नेताहरूले तत्काल युद्धविरामको लागि संयुक्त राष्ट्र सङ्घका प्रमुखको आह्वानलाई ध्यान दिनुपर्छ र प्यालेस्टिनी बालबालिकाको हत्यालाई रोक्न मद्दत गर्न आवश्यक छ ।
(लेखक ब्राड पार्कर डिफेन्स फर चिल्ड्रेन इन्टरनेसनल – प्यालेस्टाइनका एक वकिल र वरिष्ठ नीति सल्लाहकार हुनुहुन्छ । उहाँ किशोरकिशोरीहरूप्रतिको न्याय तथा सशस्त्र द्वन्द्वको समयमा बालबालिकाविरुद्ध गम्भीर मानवअधिकार उल्लङ्घनका मुद्दाहरूका विशेषज्ञ हुनुहुन्छ । साथै प्यालेस्टिनी बालबालिकाको अधिकारमा DCIP को कानुनी र नीति वकालत प्रयासहरूको नेतृत्व गर्नुहुन्छ ।)
– ‘अलजजिरा’ बाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *