नेपाल क्रान्तिकारी महिला सङ्घलाई धन्यवाद !
- मंसिर १७, २०८०
चितवन कवाडी व्यवसायी सङ्घ र सरसफाइ तथा पुनः उपयोगी वस्तु व्यवसायी सङ्घ चितवनको संयुक्त आन्दोलनले यति बेला कवाडी वस्तु तथा सामानहरूको कारोबार बन्द भएको छ । दुई महिनाअघि यो आन्दोलन भरतपुर महानगरकेन्द्रित थियो । महानगरले कवाडीजन्य वस्तुमा लाग्ने करमा ठेक्का आह्वान गरेपश्चात् यी दुई व्यवसायी सङ्घ आन्दोलनमा उत्रेका हुन् । दोहोरो कर तिर्नुपर्ने र महानगरले बिचौलियामार्फत जबरजस्ती कर असुल्न खोजेको भन्दै आन्दोलनमा उत्रनु परेको कवाडी व्यवसायीहरूको गुनासो छ ।
कवाडी व्यवसायले कवाडी वस्तुहरू किनबेच ठप्प पार्दा कवाडी सामानहरू सङ्कलन गरेर भोक, प्यास मेट्नेहरू भने मागेर खानुपर्ने अवस्था बनेको छ । फलामका टुक्रा, कागज, कार्टुन, प्लास्टिक बोटललगायत कवाडीजन्य सामानहरू सङ्कलन गरेरै भए पनि कवाडी व्यवसायलाई बेचेर सडकका धेरै मानिसहरू जेनतेन जीवनयापन गर्दै आएका हुन्थे । यही कवाडी सामानहरू पनि बिक्री नहुँदा यतिबेला सडकका मानिसहरूले थप कष्ट भोग्नुपरेको हो ।
ठेकेदारमार्फत भन्दा पनि सिधै महानगरको राजस्व शाखामा गएर कर बुझाउन व्यवसायीहरू तयार रहेको कवाडी व्यवसायी सङ्घको कुरा छ । ठेकेदारमार्फत डर, धम्कीको आडमा दोहोरो कर तिर्न नसक्ने भन्दै आन्दोलनमा उत्रिनु परेको उनीहरूको कुरा छ । भरतपुर महानगरले आम्दानीमा वृद्धि गर्न करको दायरा बढाउँदै गर्दा सामान्य जनजीवनमा पर्ने प्रभावको बारेमा पनि सोच्नुपर्ने अर्को थरीको बुझाइ रहेको छ । सबै काम कुरा ठेक्का प्रणालीबाट मात्र राम्रो, उचित नहुने महानगरवासीहरूको गुनासो छ । जसरी पनि आम्दानी बढाउनेतर्फ ध्यान दिनुभन्दा सम्पूर्ण नगरवासीको हित हुने सोच महानगरमा आउनु आवश्यक छ ।
Leave a Reply