भर्खरै :

चिनियाँ टुर अपरेटर र टुर लिडरहरूको टोली भक्तपुर भ्रमणमा

चिनियाँ टुर अपरेटर र टुर लिडरहरूको टोली भक्तपुर भ्रमणमा

भक्तपुर, ५ मङ्सिर । चिनियाँ टुर अपरेटर र टुर लिडरहरूको ६० जनाको टोली भक्तपुर नगरको अध्ययन भ्रमणमा पेइचिङ सेङ्गतु खेलकुद कम्पनीका महाप्रबन्धक ली चाओसिनको नेतृत्वमा आएको छ । भक्तपुरमा बढीभन्दा बढी चिनियाँ पर्यटकहरूको भ्रमण गराउने उद्देश्यले यहाँको कला संस्कृति र सम्पदाको अध्ययनका साथै सांस्कृतिक आदानप्रदान गर्ने भ्रमण टोलीको इच्छा रहेको महाप्रबन्धक लीले बताउनुभयो ।
काठमाडाँै उपत्यका शान्त र सफाका साथै सम्पदा संरक्षित सहरको रूपमा परिचित भएकोले भक्तपुर नगरको भ्रमणमा जोड दिएको उहाँले बताउनुभयो । महाप्रबन्धक लीको नेतृत्वको भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले परम्परागत सांस्कृतिक भैरव नाचबाट टौमढीमा स्वागत गरियो ।
स्वागत कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एवम् भक्तपुर नगरपालिका पर्यटन समितिका सदस्य योगन्द्रमान बिजुक्छेँले टुर लिडरहरूको नेतृत्व गर्नुभएका महाप्रबन्धक ली चाओसिन र टुर अपरेटरहरूको नेतृत्व गर्नुभएका अर्का महाप्रबन्धक श्रीमती ली पेइसिनलाई टौमढीमा स्वागत गर्नुभयो ।
वडाध्यक्ष बिजुक्छेँले सम्पूर्ण टोलीलाई सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्न पाउँदा खुसी भएको र नेपाल र चीनको सम्बन्ध भ्रमणबाट अझ प्रगाढ हुने बताउनुभयो ।
टोलीका नेताहरूलाई भक्तपुर नगरपालिकाको प्रकाशन प्रदान गरिएको सो कार्यक्रममा भक्तपुर नगरपालिका पर्यटक सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकाको कला संस्कृति र सम्पदा संरक्षण कार्यबारे बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *