भर्खरै :

माटो परीक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

माटो परीक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर, ५ मङ्सिर । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा माटो परीक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा सांसद सुवालले कृषि उत्पादन बढाई देश खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । माटोको गुणस्तर कायम राख्न समय–समयमा माटो परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नयाँ पुस्ताले पढाइसँगै कृषि कामलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । पहिले धान–गहुँ निर्यात गर्ने देश हाल खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुगेकोले सरकारले नयाँ नीति ल्याउनुपर्ने विचार राख्नुभयो ।
भ.न.पा. ३ का वडाध्यक्ष एवं कृषि समितिका संयोजक राजकृष्ण गोराले देशमा कृषि उत्पादन बढाउन समय–समयमा माटो परीक्षण गर्नुपर्ने र मलको सही मात्रा प्रयोग गर्नुपर्ने कुरा राख्नुभयो । खाद्यान्नमा देश परनिर्भर हुँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले जनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक अवस्था उकास्नुपर्ने, युवा पुस्ता विदेश जाने रोक्न स्वदेशमै रोजगारीको व्यवस्था सरकारले गर्नुपर्ने धारणा राख्नुभयो । अमेरिकी हतियारको सहयोगमा इजरायलले प्यालेस्टिनी जनतामाथि गरेको युद्ध रोक्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
कृषि विशेषज्ञ रवि ख्याजुले भ.न.पा.का विभिन्न वडामा १३० वटा नमुना सङ्कलन गरी माटो परीक्षण गर्दा माटोमा अधिकांश क्षेत्रमा कृषि चुनको मात्रा कम भएको पाइएको कुरा राख्नुभयो । माटोमा १६ थरीका खाद्य तत्व हुने र समय–समयमा माटो परीक्षण गरी पोषक तत्व कायम गरी राख्नसके माटो प्रदूषण हुनबाट बच्न सकिने उहाँले बताउनुभयो ।
भनपा ६ न. का वडाध्यक्ष हरिराम सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा खेत बाँझो राख्न नहुने, युवा पुस्तालाई देशमै कृषि तालिम दिएर कृषिप्रति आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा ६ न. का वडा सचिव बुद्धिप्रसाद दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *