भर्खरै :

त्राहीत्राही

त्राहीत्राही

अहिले म कतारको दोहा सहरमा छु । अल जजीरा अरबी सेवाको स्टुडियोमा छु । गाजा सहरको प्रत्यक्ष प्रसारण हेर्दै छु । उत्तरी गाजामा रहेका अल जजीराका संवाददाता इजरायलको भारी बमबारीका कारण दक्षिण गाजा जान बाध्य भए । उनले आफ्नो क्यामरा पछाडि नै छोडे । अल–शिफा अस्पताल गाजाकै सबैभन्दा ठूलो अस्पताल हो । त्यहाँका केही व्यक्तिलाई क्यामरा चलाउने तालिम दिएर उनी दक्षिण लागे । रात परेको छ । इजरायली ट्याङ्कहरूले सिधै अल–शिफा अस्पतालपरिसरमा भटाभट गोलाबारी गर्दै छन् । आगोको लामो तेस्रो लप्का सल्किन्छ । अस्पतालमा नियोजित हमला हुन्छ । योजनाबद्ध युद्ध अपराध हुन्छ । अस्पतालमा बसेका असहाय सर्वसाधारणको योजनाबद्ध हत्या हुन्छ । अस्पतालमा सिकिस्त बिरामी र नवजात शिशुहरू पनि छन् । यत्तिकैमा प्रसारण रोकिन्छ ।
हामी कम्प्युटरको पर्दासामु छौँ । मौन छौँ । प्रसारण बन्द हुनुको अर्थ थाहा छ हामीलाई । विद्युत् आपूर्ति छैन । पानी छैन । इन्टरनेट छैन । औषधिको आपूर्ति छैन । इन्क्युबेटरमा राखिएका सबै नवजात शिशु मर्नेछन् । डायलाइसिस चलिरहेका सबै बिरामी मर्नेछन् । सघन कक्षमा रहेका सबै–सबै मर्नेछन् । अक्सिजन चाहिने सबै बिरामी मर्नेछन् । आकस्मिक सर्जरी गर्नुपर्ने सबैजना मर्नेछन् । अविराम बमबारीका कारण घरबार छोडेर अस्पतालको प्राङ्गणमा आश्रय लिइरहेका शरणार्थीहरूको स्थिति के होला ? यसको उत्तर पनि थाहा छ हामीलाई । अरुजस्तै तिनीहरूमध्ये धेरैजना मर्नेछन् ।
हामी जे देखिरहेछौँ, त्यसलाई बयान गर्ने शब्द नै छैनन् । पाँच हप्ताको त्रासदीबीच यो त्रासदीको पराकाष्ठा हो । टुलुटुलु हेरिरहेको युरोपको उदासिनता उत्तिकै घातक छ । संरा अमेरिकाको सक्रिय सहयोग बुझिनसक्नु छ । कुनै पनि बहानाबाजीले यसलाई सही ठह¥याउन सकिन्न । कसैगरी सकिन्न । जो बाइडेन इतिहासमा नरसंहारका मतियारका नामले कलङ्कित हुनेछन् । उनको सहयोगमा मारिएका हजारौँ बालबालिकाको भूतले उनलाई बाँकी जीवनभरि चैनले सुत्न नदिऊन् !
इजरायल र संरा अमेरिकाले बाँकी विश्वलाई धम्कीपूर्ण सन्देश पठाइरहेका छन् । जेनेभा अभिसन्धिलगायत अन्तर्राष्ट्रिय र मानवअधिकारका कानुनहरू कागजका खोस्टामा परिणत भएका छन् । इराकमा यी कागजले केही गरेनन् । गाजामा पनि यिनको केही काम भएन । हामी तिमीहरूका टोलछिमेक र सहरलाई बम र मिसाइलले धुलोपिठो पार्छौँ । तिमीहरूका छोरीचेली, बालबच्चा, बुढापाका र बिरामीहरूलाई मनलाग्दी मार्छौँ । भोकभोकै मार्न नाकाबन्दी लगाउँछौँ† संक्रामक रोग फैलाउँछौँ । तिमीहरू पृथ्वीका ‘निम्छरा जन्तुहरू’ मरेर केही फरक पर्दैन । तिमीहरू त साँप हौ† तिमीहरूलाई सखाप पार्नैपर्छ । हामीसित सबथोक छ । यसबाट अलिकति पनि खोस्न खोज्यौ र खोस्यौ भने तिमीहरूलाई मार्नेछौँ । यसको लागि हामीलाई कसैले छुन सक्नेछैन ।

मूल्यमान्यता छैन
हाम्रा मूल्यमान्यता देखेर कसैले हामीलाई घृणा गर्दैन । हाम्रो कुनै मूल्यमान्यता नै छैन । त्यसैले हामीलाई घृणा गरिन्छ । हामी अरुमाथि थोपर्नका लागि नियम बनाउँछौँ । आफू कहिल्यै नियममा बस्दैनौँ । त्यसैले हामीलाई घृणा गरिन्छ । आफैलाई अरुको नृशंस हत्या गर्ने अधिकार दिएर हामी मैमत्त भएका छौँ । त्यसैले हामीलाई घृणा गरिन्छ । हामी हृदयहीन र क्रूर छौँ । त्यसैले हामीलाई घृणा गरिन्छ । हामी पाखण्डी छौँ; गाजामा प्रतिदिन सरदर १६० बालबालिकासहित सयौँ प्यालेस्टिनीको ज्यान लिँदै गर्दा हामी सर्वसाधारणको सुरक्षा गर्ने गफ हाँक्छौँ, विधिको शासन र मानव अधिकारको कुरा गर्छौँ । त्यसैले हामीलाई घृणा गरिन्छ ।
गाजाको अल–अली अरब क्रिस्तान अस्पतालमाथि बमबारी गरेको र सयौँको ज्यान लिएको आरोप लागेपछि इजरायल रिसले आगो भयो र नैतिकताको ध्वाँस दियो । त्यो बमबारी प्यालेस्टिनी जिहादी समूहको उपद्रयाहा रकेटबाट प्रहार भएको इजरायलले दाबी ग¥यो । सत्य के हो भने त्यो अस्पतालमा ठोक्किएको मिसाइलले जत्तिकै विष्फोट गर्न सक्ने हतियार हमास वा इस्लामी जिहादीहरूको हतियारखानामा छैन ।

इजरायली सेना र सरकार झूट बोल्छन्
गाजाबारे समाचार लेखेका हामीमध्ये धेरैले इजरायली सेनाको यस्तो हास्यास्पद तर्क धेरैचोटि सुनिसकेका छौँ । तिनीहरू आफूले गरेका युद्ध अपराध लुकाउन जहिल्यै हमास र प्यालेस्टिनीहरूलाई दोष दिन्छन् । अहिले तिनीहरू अस्पताल हमासको मुख्यालय हुन् र त्यसैले त्यहाँ बमबारी गर्नुलाई जायज भन्दै छन् । तिनीहरूले कहिल्यै प्रमाण दिन सक्दैनन् । मान्छेले सास फेरेझैँ इजरायली सेना र सरकारले झूट बोल्दै आएका छन् ।
‘सीमाविहीन डाक्टरहरू’ नामक संस्थाका केही डाक्टरले अल–शिफा अस्पतालमा काम गर्दै छन् । सो संस्थाले एउटा वक्तव्य जारी ग¥यो । वक्तव्यमा ‘आगो दन्किरहेको हुनाले अस्पतालहरूमा’ बिरामी, डाक्टर र नर्सहरू थुनिएको लेखिएको छ । संस्थाले ‘गाजाको स्वास्थ्य प्रणालीमाथि भइरहेको जथाभावी हमला रोक्न इजरायल सरकारसँग’ माग गरेको छ । वक्तव्य भन्छ – “बितेका २४ घन्टामा गाजाका अस्पतालहरूमाथि लगातार बमबारी भइरहेको छ । गाजाकै सबैभन्दा ठूलो स्वास्थ्य सेवा दिइरहेको अल–शिफा अस्पतालको भवनमा हाम्रा स्टाफहरू अझै पनि क्रियाशील छन् । अस्पतालमा धेरैचोटि गोलीबारी भइसकेको छ । प्रसुतिगृह र बहिरङ्ग सेवा दिने विभागहरूमाथि पनि हमला भएको छ । यसले गर्दा धेरै मानिसहरू मरेका र घाइते छन् ।”
अस्पतालवरपर हिंसात्मक घटना रोकिएको छैन । ‘सीमाविहीन डाक्टरहरू’ को समूह र सयौँ बिरामीहरू अझै पनि अल–शिफा अस्पतालभित्रै छन् । ‘डाक्टरहरू’ ले अस्पतालमा प्रहार नगर्न, तत्काल युद्धविराम गर्न तथा मेडिकल पूर्वाधार, स्टाफ र बिरामीहरूको सुरक्षा सुनिश्चित गर्न पटक–पटक आग्रह गरिसकेका छन्।
उत्तरी गाजा र गाजा सहरका अन्य तीन अस्पताललाई इजरायली पल्टन र ट्याङ्कहरूले घेराबन्दीमा राखेका छन् । अल जजीरालाई घेराउबारे बताउँदै त्यहाँका डाक्टरले ‘अस्पतालहरूविरुद्ध दिनभरिको युद्ध’ भने । इन्डोनेसियाली अस्पतालमा पनि विद्युत् आपूर्ति नभएको खबर आइरहेको छ । राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले जनाए अनुसार गाजाका २० देखि ३६ अस्पतालहरूले अहिले काम गर्न छोडेका छन् ।
इजरायल र वासिङ्टनको आत्मरति कहालिलाग्दो छ । दुवैको नियतमा कुनै भिन्नता छैन । वासिङ्टन इजरायलले छिट्टै काम खत्तम गरे हुन्थ्यो भन्ने मनस्थितिमा देखिन्छ । मानवीय सडक ? अलिबेर बमबारी रोक्नुपर्ने ? संरा अमेरिका यिनै कुरा गरेर उत्तरी गाजाबाट सबैलाई खेद्ने बाटो खन्दै छ । इजिप्टसँग जोडिएको राफा नाका खोलेर दुइचार राहतका ट्रक पठाउने ? यो कर्मकाण्डी देखावा मात्र हो । यी सबैको एउटै उद्देश्य छ – मार, मार र मारिराख; जतिसक्दो छिटो काम तमाम गर । इजरायलले गाजालाई भष्म पारेर छोडेपछि के गर्ने ? बाइडेन सरकारका सम्पूर्ण अधिकारीहरू यसै विषयमा कुरा गर्छन् । इजरायलले दक्षिणी भेगमा बसोबास गर्ने सम्पूर्ण गाजाबासीहरू बेघर भई आकाशमुनि नबसेसम्म वा खाना–पानी–औषधि–उपचारको अभावले छटपटिएर नमरेसम्म इजरायलले नरहत्या रोक्नेछैन भन्ने अमेरिकी अधिकारीहरूलाई थाहा छ ।
इजरायलको बमबारीभन्दा पहिले गाजा पृथ्वीकै सबैभन्दा बढी जनघनत्व भएको सहर थियो । उत्तरका ११ लाख गाजाबासीहरू दक्षिणका १० लाख गाजाबासीसँगै बस्न थाले के होला ? एकछिन कल्पना गरौँ । यस्तो स्थितिमा हैजा जस्तो सरुवा रोग त्यहाँ फैलिए के होला ? तिनीहरू भोकभोकै पिल्सिएर मर्नुपरे के होला ? कल्पना गरौँ । त्यो अवस्थामा केही न केही गर्नुपर्ने दबाब आइलाग्नेछ । त्यतिखेर इजरायलले प्यालेस्टिनीहरूलाई इजिप्टको साइनाइ क्षेत्रतिर धकेल्ने सोच बनाएको छ । एकचोटि देशको सरहद छोडेर बाहिर गएपछि तिनीहरू कहिल्यै फर्किन पाउनेछैनन् । गाजाबाट प्यालेस्टिनी जातिलाई देशनिकाला गर्ने इजरायलको चाहना पूरा हुनेछ । त्यसपछि पश्चिम किनाराको सफाया सुरु हुनेछ । इजरायलको बौलठ्ठीपूर्ण सपना त्यही हो । त्यसलाई साकार पार्न तिनीहरूले गाजालाई बसोबास गर्नै नमिल्ने तुल्याउनेछन् ।
मानौँ, तपाइँ गाजामा बसिरहेको प्यालेस्टिनी हुनुभयो र तपाइँले हतियार पाए के गर्नुहुन्थ्यो ? इजरायलले तपाइँको परिवार मा¥यो, जवाफमा तपाइँ के गर्नुहुन्थ्यो ? अन्तर्राष्ट्रिय वा मानव अधिकारका कानुनहरू उत्पीडकलाई भन्दा पनि उत्पीडितहरूलाई मात्र लागू हुने अवस्थामा तपाइँ त्यसलाई मानिरहनुहुन्थ्यो कि ? इजरायलले आतंकको भाषा मात्र प्रयोग गर्छ र त्यही भाषा मात्र बुझिरहेको देखिन्छ भने के तपाइँले त्यही भाषा बोल्नुहुन्थेन ?
इजरायलको रगतपिपासु रवैयाले हमासलाई कदापि दबाउन सक्नेछैन । हमास एउटा विचार बनिसकेको छ । त्यो विचारले शहीदहरूको रगतको आहुति पाइसकेको छ । इजरायलले त्यस विचारलाई यथेस्ट रगत दिइरहेको छ ।
(क्रिस हेजेज वरिष्ठ पत्रकार एवम् लेखक हुन् ।)

 

स्रोत : एमआर अनलाइन

सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *