भर्खरै :

भ्रष्टाचारीलाई ठेगान नलगाएसम्म भ्रष्टाचार अन्त्य नहुने

विभिन्न देशमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो । नेपालमा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयोजनामा भ्रष्टाचारविरोधी दिवसको अवसरमा एक कार्यक्रम गरियो । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारणको लागि सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताए । सत्तासीन दलका नेता र मन्त्रीहरूले भ्रष्टाचारको कारण पहिचान गरी निवारणको निम्ति राज्यका सबै संयन्त्रलाई प्रचलित कानुनबमोजिम परिचालन गरिरहेको बताए पनि देशमा स्थानीय तहदेखि मन्त्रालयसम्म भइरहेको भ्रष्टाचार घटेको छैन । भ्रष्टाचार नहुने स्थानीय तह, मन्त्रालय र अन्य सरकारी निकाय कममात्रै हुन्छ । अधिकांश ठाउँमा भ्रष्टाचार भइरहेको लेखा परीक्षकको प्रतिवेदनबाट पनि प्रस्ट हुन्छ । यहीँ कारण ट्रान्सपरेन्सी इन्टरनेसनलको दृष्टिमा नेपाल बढी भ्रष्टाचार हुने देशमा परेको हो ।
भ्रष्टाचार गरी वा अन्य गैरकानुनी कार्यबाट आर्जन भएको सम्पत्ति विदेशमा लुकाउने, विदेशमा गैरकानुनीरूपमा लगानी गर्ने, अन्तर्राष्ट्रिय वा सङ्गठित अपराधमा प्रयोग गर्ने जस्ता कार्य भइरहेको छ । हरेक वर्ष ९ डिसेम्बरमा मनाइने अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको सन्दर्भमा एकचोटि भ्रष्टाचारविरोधी बखान गरेर भ्रष्टाचार नियन्त्रण हुनेछैन; भ्रष्टाचारीलाई ठेगान नलगाएसम्म भ्रष्टाचार अन्त्य सम्भव छैन । भ्रष्टाचार अन्त्य गर्नेतर्फ सत्तासीन दलहरू नलागेकै कारण देशमा न्यायको हत्या, आपराधिक गतिविधि, राजनीतिक अस्थिरता, कुशासन, दण्डहीनता, प्रजातन्त्रको मूल्य र मान्यतामा दाग लागिरहेको राजनीतिक विश्लेषकहरूको टिप्पणी गलत होइन ।
भागबन्डाको राजनीतिमा दौडधूप गर्न भ्याउने गठबन्धन सरकार भ्रष्टाचार अन्त्य गर्ने सन्दर्भमा कहिल्यै बैठक बस्दैन । बरु शासकहरू भ्रष्टाचार र बेथितिका सेवक भए । कारबाहीमा पर्नुपर्ने भ्रष्टाचारीहरू शासकहरूका संरक्षण भए । शासकहरूले जनताको सुख र देशको समृद्धिको कुरा खोकेर ठेकेदार, कालाबजारी, अपराधी, भ्रष्टाचारी, कमिसनखोर, जालीफटाहाजस्ता व्यक्तिलाई पार्टीमा हुल्याएर प्रोत्साहन दिए र पार्टी सही ठाउँमा रहेको बखान गरे । भ्रष्टाचार नगरीकन, सत्तामा नगईकन पार्टी टिकाउन गा¥हो मान्ने शासक र ठुला दलहरूले सिद्धान्त र विचारको राजनीति गर्न किन जरुरी ठान्छ ? सङ्घीय गणतन्त्रभित्र पसेर पदको दुरूपयोग गरेर अकुत सम्पत्ति कुम्ल्याउन पल्केका सत्तासीन नेता र मन्त्रीहरूको भ्रष्टाचार अन्त्य गर्नेतर्फ ध्यान जान्छ कसरी ? भ्रष्टाचारीहरूलाई छुट दिन्न, कारबाही गर्छु भन्ने कुरा लोकपत्यारको लागि जस्तो भइरहेको छ ।
सत्तारुढ दलहरू भ्रष्टाचार अन्त्य गर्न, भ्रष्टाचारी र अपराधीहरूमाथि कारबाही गर्न चाहन्छन् भने यहाँ धेरै हदसम्म भ्रष्टाचार अन्त्य हुन्छ । भ्रष्टाचार अन्त्य भएपछि देशको मुहार फेर्न गा¥हो छैन । सरकारी निकायसित आबद्ध सबै सङ्घ संस्था, निकायका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, कार्यकर्ता, कर्मचारी सबै इमानदार भए, इमानदार बनाउन सकेको भए, पदअनुसारको आचरण भए यहाँ भ्रष्टाचार, अनियमितता, कालाबजारी हुनेछैन । अतः हरेक राजनीतिक दल, सङ्घ संस्थाका जिम्मेवार व्यक्तिहरूले आफ्नो मातहतका व्यक्तिहरूलाई देश र जनताको निःस्वार्थ र इमानदारीपूर्वक सेवा गर्नुपर्छ भन्ने भावना जगाउनुपर्छ र सुसूचित पार्नुपर्छ । अनि नेपाल भ्रष्टाचारको सूचीमा पर्दैन र नेपालको छविमा दाग लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *