भर्खरै :

धुवाँ आक्रमणका कारण भारतीय संसद् अवरुद्ध : चार जना पक्राउ

धुवाँ आक्रमणका कारण भारतीय संसद् अवरुद्ध : चार जना पक्राउ

नयाँदिल्ली, २७ मङ्सिर (एएफपी) । भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पु¥याएका थिए ।
सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेका थिए । साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो । तीमध्ये एक जना ओभरहेड दर्शक दीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा हाम फालेका थिए ।
अधिवेशनको आधिकारिक फुटेजमा एउटा उपकरण बन्द गर्नुअघि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखाइएको थियो । उपकरण बन्द भएका कारण चेम्बरमा पहेँलो धुवाँ फैलिएको थियो ।
उक्त जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे स्पष्ट भएको छैन र नयाँदिल्ली प्रहरीले अझैसम्म उक्त घटनाबारे कुनै विवरण जारी गरेको छैन ।
केही समयको स्थगनपछि संसद् पुनः सुरु भयो । सभामुख ओम बिरलाले संसद् अवरुद्ध गर्ने चार जनालाई पक्राउ गरिएको सांसदहरूलाई जानकारी गराए उनले भने, “संसद्ले गहन अनुसन्धान गरिरहेको छ र दिल्ली प्रहरीलाई पनि आवश्यक निर्देशन दिइएको छ ।”
चिन्ता लिनुपर्ने केही छैन भन्दै उनले धुवाँ मानव स्वास्थ्यको लागि हानिकारक नभएको सांसदहरूलाई आश्वासन दिए ।
सांसद हनुमान बेनिवालले यसै वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भारतको नयाँ संसद्को सुरक्षामाथि यसले ‘धेरै गम्भीर प्रश्न’ उठाएको बताए । घटनाको समयमा सदनमा करिब एक सय ५० सांसद थिए भन्दै उनले सांसदहरूले घटनाको गहन अनुसन्धानको माग गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *