भर्खरै :

नक्कली प्रमाणपत्र राखेर दर्ता नभएको सहकारीद्वारा ठगी

नक्कली प्रमाणपत्र राखेर दर्ता नभएको सहकारीद्वारा ठगी

काठमाडौँ, २८ मङ्सिर । सहकारी सञ्चालन गर्ने नाममा नक्कली प्रमाणपत्र राखेर सर्वसाधारण ठगी गर्ने छट्टुहरू सल्बलाउँदै छन् । ०७८ माघको पहिलो सातादेखि ‘दरबार बहुउद्देश्यीय सहकारी संस्था लि.’ को नाममा मध्यपुर थिमि ६, बहाखा बजार पुरानो थिमि भक्तपुरमा सञ्चालित रहेको सहकारीका सञ्चालकहरू सर्वसाधारणको बचत ठगेर फरार भए । उक्त सहकारीले कुनै निकायको स्वीकृति नलिई सञ्चालन गरिएको पीडितहरूले पछि जानकारी पाए । सहकारीको प्रमाणपत्रमा नक्कली दर्ता नं १२८७/०७९/०८० राखिएको रहेछ ।
सहकारीका सञ्चालक रामेछाप जिल्ला गोश्वारा गाविस वडा नं २ घर भएका चतुरसिं तामाङको नाति माइलो तामाङको छोरा वर्ष २३ का सन्देश घिसिङ हुन् । ०८० असार २८ गते ठाउँ सार्ने भन्दै बिदाको सूचना टाँसेर फर्निचरलगायतका सामग्री बेचेर बचतकर्ताको रकम लिई निज घिसिङ फरार भए । सञ्चालक भागेपछि सहकारीमा काम गर्ने कर्मचारीहरूले पनि कार्यालयमा बाँकी रहेको सोफा कम्प्युटरलगायतका भौतिक सामग्री लिएर गए । अहिले सहकारीको सम्पूर्ण काम बन्द छ । सञ्चालक फरार भएपछि बचतकर्ता आफ्नो बचत डुब्ने चिन्तामा छन् ।
आफ्नो बचत डुब्ने अवस्था देखेपछि पीडितले मध्यपुर नपाको सहकारी शाखामा उजुरी दिए । तर, नपाको सहकारी शाखाले उजुरी लिन मानेन । नपाका प्रमुख उपप्रमुखले हामी खोज्छौँ, कारबाही गर्छौँ भनेर आश्वासनमात्र दिएको पीडितहरूको गुनासो छ । मध्यपुर थिमी नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका यस्ता सहकारीहरूमा अनुगमन नगरेको र स्थानीय जनताले कतै दर्ता नगरी गैरकानुनी ढङ्गले सञ्चालन गरिरहेको जानकारी गराउँदासमेत नपाले वास्ता नगरेको जनताको गुनासो छ ।
ठगीका सम्बन्धमा पीडितहरूले प्रहरीमा उजुरी दर्ता गर्न गए पनि प्रहरीले दर्ता नभएको सहकारी, फोन सम्पर्क नभएको भनेर उजुरी लिन नमानेको सहकारीका एक बचतकर्ता मथिनपा वडा नं ६ बस्ने पृथ्वीराज श्रेष्ठले बताए । श्रेष्ठले आफ्नो २ लाख ५० हजार रकम डुबेको र अन्य धेरै बचतकर्ताहरूको पनि करोडौँ रकम डुबेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *