भर्खरै :

आत्मनिर्भरतालाई जोड दिएर अगाडि बढ्नु विकासको उचित विकल्प

आत्मनिर्भरतालाई जोड दिएर अगाडि बढ्नु विकासको उचित विकल्प

ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपालकै उत्कृष्ट कलेजहरू हुन् । यी कलेजहरूले भक्तपुर नगरपालिकाको व्यवस्थापनमा सस्तो र गुणस्तरीय प्राविधिकहरू तयार गरिरहेका छन् भने असल र देशभक्त नागरिक तयार गर्ने कोसिस पनि गरिरहेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने क्षमतावान र योग्य प्राविधिकहरू तयार गर्ने पनि यी कलेजहरूको उद्देश्य हो । पूर्वाञ्चल विश्वविद्यालयबाट २०५८ सालमा सम्बन्धन लिई ख्वप इन्जिनियरिङ कलेज र त्रिभुवन विश्वविद्यालयबाट २०६५ सालमा सम्बन्धन लिई ख्वप कलेज अफ इन्जिनियरिङको स्थापना गरिएको हो । यी दुवै कलेजबाट हरेक वर्ष विभिन्न विषयका ४३२ जना दक्ष इन्जिनियरहरूको उत्पादन हुँदै आएको छ ।
भक्तपुर नगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ । प्राविधिक शिक्षाले युवाहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्छ । प्राविधिक क्षेत्रमा अगाडि बढेको देश नै संसारमा आर्थिक र भौतिक विकासमा पनि अगाडि बढेको देखिन्छ । राम्रा राम्रा प्राविधिकहरू देश विकासका एक महत्वपूर्ण आधार हुन् । भक्तपुर नगरपालिकाले यही कुरालाई ध्यानमा राखेर २ वटा इन्जिनियरिङ कलेज र ख्वप बहु प्राविधिक अध्ययन संस्थान गरी ३ वटा प्राविधिक शिक्षालयहरू सञ्चालन गर्दै आएको छ । ख्वप बहु प्राविधिक अध्ययन संस्थानबाट स्टाफ नर्स र सब इन्जिनियरहरू उत्पादन भइरहेको छ ।
शैक्षिक क्षेत्रमा सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरू विदेश पढ्न जाने क्रम बढ्दो छ । गत आ.व. २०७९/८० मा १ लाख १० हजार विद्यार्थीहरूले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएर विदेश पढ्न गएको कहालीलाग्दो तस्बिर हाम्रोसामु छ । हरेक महिना १० हजारभन्दा बढी विद्यार्थी विदेश पढ्न गएको तथ्याङ्कले हाम्रो शिक्षा नीतिमाथि नै गम्भीर प्रश्न उठेको छ । नेपालमा प्राविधिक शिक्षामात्रै होइन अन्य धेरै विषयहरू अध्यापन हुने कलेजहरू बन्द हुने क्रम जारी छ । १२ कक्षासम्म नेपालमा पढ्ने र त्यसपछि विदेशमा पढ्ने भन्ने सोच स–साना विद्यार्थी भाइबहिनीहरूमा कसले ल्यायो ? यो खोज अध्ययनको विषय हो । नेपालमा हाल सञ्चालनमा रहेका १४४० कलेजहरूमध्ये विद्यार्थी सङ्ख्याको कमीको कारण यो वर्ष ५०० वटाभन्दा बढी कलेजहरू बन्द हुने अवस्थामा पुगेको समाचार प्रकाशमा आइरहेको छ ।
बौद्धिक व्यक्तित्वहरू नेपाल सरकार र विश्वविद्यालयहरू नै विद्यार्थी विदेश पलायन हुनुमा मुख्य जिम्मेवार भनिरहेका छन् । समयमा परीक्षा नहुनु, परीक्षाफल ढिलो प्रकाशित हुनु र प्राध्यापक तथा कर्मचारीहरू राजनैतिक भागबन्डामा नियुक्त हुनु नै विश्वविद्यालयहरूमा राम्रो व्यवस्थापन हुन नसक्नुका कारणहरू हुन् । त्यसले नेपालका कलेज र विश्वविद्यालयहरूप्रति विद्यार्थीहरूको आकर्षण घट्दै गएको छ । विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा समेत बारम्बार बन्द, हडताल र तोडफोड, आगजनीजस्ता अराजनैतिक गतिविधि हुनाले पनि विद्यार्थीहरूलाई निराश बनाएका छन् । राम्रो अध्ययन गर्न चाहने विद्यार्थीहरू घरखेत बेचेरै भए पनि विदेश पढ्न जान बाध्य छन् ।
चिकित्सा शिक्षाको अवस्था झनै कहालीलाग्दो छ । चिकित्सा शिक्षा सञ्चालन गर्न १०० शøयाको आफ्नै अस्पताल हुनुपर्ने कानुनी प्रावधानको कारण यो वर्ष स्टाफ नर्स, बीएससी नर्सिङ, एचएलगायत अध्यापन हुने २२८ वटा कलेजहरू बन्द हुने अवस्थामा पुगे । ४० जना स्टाफ नर्स पढाउन अरबौँ रूपैयाँ खर्च गरेर १०० शøयाको अस्पताल बनाउनुपर्ने प्रावधान विद्यार्थीको हितविपरीत छ । सरकारको गलत नीतिको कारण अहिले हजारौँ विद्यार्थीहरू नेपाल–भारत सिमानामा भारतले खोलेका कलेजहरूमा गएर पढिरहेका छन् । त्यसको कारण नेपालको अरबौँ रूपैयाँ विदेश गइरहेको छ ।
हामीले हाम्रा कलेजहरूमा नयाँ नयाँ विषयहरू थप्ने निरन्तर प्रयास गर्दै छौँ । तर, त्रिवि कहिल्यै हामीप्रति सकारात्मक भएन । यही सिलसिलामा केही समयअगाडि त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटासँग भेट्यौँ । उहाँसँग विषय थपको लागि निवेदनसाथ आग्रह गर्याँै । उहाँले आफूले केही गर्न नसक्ने लाचारी व्यक्त गर्दै भन्नुभयो, “संस्थालाई राम्रो गर्ने भन्ने मान्छे भेट्दैनौँ । प्राध्यापकहरू भागबन्डामा नियुक्त हुन्छन् । क्लासमा गएर पढाउन नसक्ने पनि प्राध्यापकहरू छन् । अनि कसरी राम्रो पढाइ हुन्छ ? विश्वविद्यालयबाट भन्दा बढी कन्सल्टेसीबाट तलब बुझ्ने प्राध्यापकहरू छन् । सबै निजी क्षेत्रले बिगारेका हुन् ।” उहाँले केही समयअघि अवकाश पाउनुभयो । त्यसपछि पनि भन्नुभयो, “मेरो एकतिहाइ पदावधि बन्द हडतालमा बित्यो ।” यही हो हाम्रो विश्वविद्यालयहरूको सजीव चित्र ।
उहाँले हामीलाई नयाँ विषय थपको स्वीकृति दिएमा अन्य निजी विश्वविद्यालयकाहरू आएर विश्वविद्यालय घेराउ गर्न सक्ने बताउँदै आङ्गिक क्याम्पसबाहेकका क्याम्पसहरूमा नयाँ विषयको स्वीकृति दिन नसक्ने स्पष्ट पार्नुभयो । देशको शिक्षाको जिम्मेवारी लिएर बसेका महत्वपूर्ण पदाधिकारीहरूबाट समेत यस्तो निराशाजनक कुरा सुन्नु परेको छ । यस्तो अवस्थामा शैक्षिक क्षेत्रको प्रगति कसरी हुन्छ ?
अहिले रोजगारीको निम्ति पनि दैनिक हजारौँ युवाहरू विदेश गइरहेका छन् । गत आ.व. २०७९/८० मा आठ लाखभन्दा बढी युवाहरू विदेश गएको तथ्याङ्क छ । युवा, विद्यार्थीहरू र बुद्धिजीवीहरू पनि विदेश गएपछि नेपालको विकास र समृद्धि कसरी सम्भव हुन्छ ? सरकारमा बसेर राम्रा राम्रा नारा भट्याएर देशको विकास हुने होइन ।
नेपाली युवाहरू विदेश पठाउने नीति ल्याउने तत्कालीन अर्थमन्त्री रामशरण महत हुन् । उनले प्रत्येक निर्वाचन क्षेत्रबाट २ सय युवाहरू विदेश पठाउने नीति ल्याए । त्यसको निकै विरोध पनि भएको थियो । आज त्यही गलत नीतिको परिणाम देश युवाविहीन हुँदै छ । तराई र पहाडका खेतीयोग्य जमिनमा खेती गर्ने युवाहरू छैनन्, लास बोक्नसमेत युवाहरू नभेटिएर महिलाहरूले बोक्नुपर्ने अवस्था आउँदै छ । देशको यथार्थबारे हाम्रा कलेजका विद्यार्थीहरूले गम्भीर भएर सोच्ने आशा गर्छु ।
एकातिर हाम्रा किसानहरूले तयार गरेका तरकारी, दूध नबिकेर सडकमा फालिएको दृश्य देख्दै छौँ भने अर्कोतिर भारतबाट विषादीयुक्त तरकारीले निर्वाधरूपमा प्रवेश पाउँदै छ । यसबाट नेपालको कृषि अर्थतन्त्र ध्वस्त हुँदै छ । भारतले प्याज निर्यात नगर्दा एकै दिन त्यसको मूल्य दोब्बरले बढेको, चामल र गहुँ नपठाउँदा नेपाली नागरिकहरू भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको जिम्मेवार को हो ?
यही समयमा नेपाल सरकारले भारत सरकारको अनुकूल एउटा अर्को निर्णय गरेको सार्वजनिक भएको छ । काठमाडौँस्थित भारतीय दूतावासले सिधा वितरण गर्ने अनुदान रकम बढाएर २० करोड पु¥याइएको छ । त्यो रकम खर्च गर्न नेपाल सरकारको कुनै अनुमति आवश्यक छैन । सूर्यबहादुर थापाको पालामा सुरु भएको त्यो अनुदानको व्यवस्था बाबुराम भट्टराईको पालामा ५ करोड पु¥याइएको थियो ।
भारतले ठाउँ–ठाउँमा योग केन्द्र, बाल विकास केन्द्र, विद्यालय भवन, रक्त सञ्चार केन्द्र, कृषि तथा पूर्वाधार निर्माणमा सोझै खर्च गर्दै आएको छ । यो सिधै नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथिको हस्तक्षेप हो । कुनै पनि स्वतन्त्र र सार्वभौम देशले विदेशीलाई त्यसरी खर्च गर्ने छुट दिँदैन । त्यसरी विदेशी शक्तिलाई लगानीमा छुट दिनुको अर्थ सरकार त्यस शक्तिको कठपुतली बन्नु हो ।
ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा पढ्ने तमाम विद्यार्थीहरू हाम्रो लागि समान छन् । हामी तपाईँहरूको उज्ज्वल भविष्यको निम्ति पूर्णरूपमा सहयोग गर्छौँ । तपाईँहरूले आफ्नो पढाइका साथै देशको समसामयिक राजनीतिबारे पनि ध्यान दिएर अध्ययन गर्ने हाम्रो अपेक्षा हो । विदेश गएर यहाँका नेताहरूलाई सराप्दैमा नेपालको विकास हुने होइन । हामी सबैले आफ्नो ज्ञान र सीप आफ्नै देशमा प्रयोग गर्ने प्रण गर्न सक्यौँ भने देशले विकासमा गति लिनेछ ।
विदेशको सहयोगले मात्रै कुनै पनि देश समृद्ध हुनसक्दैन । आत्मनिर्भरतालाई जोड दिएर अगाडि बढ्नु विकासको लागि उचित विकल्प हो । भक्तपुर नगरपालिका र हाम्रो कलेजले आत्मनिर्भरताको बाटो रोजेको छ । त्यही नीतिले नै हामीलाई अहिलेको अवस्थामा पु¥याएको हो ।
(भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *