नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
प्रोफेसर येशायाहु लेबोविज बित्नुभयो । उहाँले सन् १९८० को दशकमा ‘यहुदीवादी नाजीहरू’ (जुडियो–नाजी) भन्ने शब्दवाली प्रयोग गर्नुभएको थियो । सर्वोच्च अदालतका पूर्वमहान्यायाधीश मेइर लेन्डाउलाई उहाँले ‘यहुदीवादी नाजी’ भन्नुभएको थियो । लेन्डाउले क्रूर यातनालाई वैधता दिएका थिए । प्रोफेसर लेबोविजले भन्नुभएको थियो, “इजरायल राज्य अन्धकारमय छ । त्यहाँ सर्वोच्च अदालतको मान्छेजस्तो देखिने अध्यक्षले नै राज्यको हितमा यातनालाई मान्यता दिन्छ ।”
सुरुमा मलाई प्रोफेसरको कुरा नैतिक बढाइचढाइ हो भन्ने लागेको थियो । केही खराब प्यालेस्टिनीहरूलाई व्यवस्थित यातना दिइएको कुरा मलाई थाहा थियो । तर, नाजीहरूले गरेको जातिसंहारसँग त्यसलाई दाँजिहाल्नु अतिशयोक्ति हो भन्ने मलाई त्यतिबेला लाग्यो ।
तर, आज म बेग्लै महसुस गरिरहेछु । केही दिनअघि जेरुसेलमका उपमेयर आरिया किङले एउटा फोटो ट्वीट गरे । फोटोमा सयजना जति प्यालेस्टिनीहरूलाई नाङ्गो पारेर बसालिएको थियो । तिनीहरूलाई इजरायली सेनाले गाजाबाट अपहरण गरेका थिए । सबैका हातमा हत्कडी थियो । नाङ्गै बालुवामा बसेका थिए । वरपर इजरायली सेनाको पहरा थियो । किङले लेखे, “इजरायली सेनाले गाजाका नाजी मुसलमानहरूलाई नष्ट गर्दै छ” र “हामीले यसको रफ्तार बढाउनुपर्छ ।” त्यसपछाडि उनले लेखे, “मेरो हातमा हुन्थ्यो भने मैले चारवटा डी–९ बुलडोजर लिन्थेँ र यिनीहरूलाई बालुवाको थुम्कोपछाडि राखेर यी सबका सब नाजीहरूलाई बालुवाले पुर्ने आदेश दिने थिएँ । यिनीहरू मान्छे होइनन्, मान्छेको सक्कलमा पशु हुन्, अर्धमानव हुन्, त्यसैले यिनीहरूसित यस्तै व्यवहार गर्नुपर्छ ।” ट्वीटको अन्त्यमा उनले अमालेकको प्रसङ्ग कोट्याएका छन् । अमालेक बाइबलमा उल्लेख एउटा घुमन्ते जाति थियो । इजरायल युद्धको आरम्भमा इजरायली प्रधानमन्त्री नेतन्याहुले अमालेकको उदाहरण दिँदै सेनालाई सम्पूर्ण प्यालेस्टिनीहरूलाई एकै चिहान बनाउन आदेश दिएका थिए । उपमेयर किङ लेख्छन्, “अमालेकको स्मृति नामेट पार । हामीले यो कुरा कहिल्यै भुल्ने छैनौँ ।”
प्यालेस्टिनी व्यक्ति र बालकहरूलाई नाङ्गै पारेर इजरायलले ‘हमासलाई पक्रेको’ बतायो । वास्तवमा ती व्यक्तिहरू डाक्टर, पत्रकार, व्यवसायी र अन्य सर्वसाधारण थिए र पक्राउ पर्नेमा एकजना १३ वर्षका बालक पनि छन् । उनीहरू बेइत लाहिया सहरमा रहेको राष्ट्रसङ्घको उन्रा पाठशालामा शरण लिइरहेको अवस्थामा पक्राउ परेका थिए । तिनीहरूलाई मनपरी अपहरण गरेर तिनको परिवारबाट अलग्ग गरिएको थियो ।
उपमेयर किङको ट्वीटलाई मिडल इस्ट मोनिटरले पनि पुनः पोस्ट गरेको थियो । त्यसैले यो चर्चाको विषय बन्यो । नत्र यसलाई सेवाप्रदायक सञ्जालले हटाएको थियो । पढ्न पाइन भनेर चिन्ता गर्नुपर्दैन । केही दिनपछि एक बिहान किङले फेरि अर्को ट्वीट लेखे । फोटो उही थियो । केही नयाँ फोटो पनि राखिएको थियो । नयाँ फोटोमा नाङ्गै पारिएका केही प्यालेस्टिनी केटा र युवाहरू ट्रकमा बसिरहेको देखिन्छ । यसपालि आफ्नो ट्वीटलाई किङले बाइबलका हरफहरूबाट सुरु गरे । इन्टरनेटको अलगोरिदमलाई झुक्याउन उनले अमालेकको सन्दर्भ उप्काउँछन् । बाइबलको उद्वरण (ड्युटरोनोमी २५ः१९) अघि सार्दै उनी लेख्छन्, “परमेश्वरले तिमीलाई सबै शत्रुबाट टाढा विरासतमा पाएको भूमिमा आराम दिइरहेको बेला तिमीले यो पातालबाट अमालेकको नामनिसान मेटाउनेछौ । यो कुरा नबिर्स !”

त्यसपछि कुरा अस्पष्ट होला भनेर किङ जोड दिँदै लेख्छन्, “एक अमालेकका सन्तानहरूलाई, मुसलमान नाजीहरूलाई अब के गर्नुपर्छ, बुझ्नुभयो होला नि ?”
हामी नाजी युगमा छौँ भन्नेमा अब दुईमत छैन । यहाँनिर नाजी यातनागृह वा होलोकस्टको कुरा आउँछ । नाजी अत्याचार र कुकार्यको झल्को दिने उदाहरणहरू अहिले जताततै देखिन्छ । पत्रकार यिनन मागल यहुदीघर पार्टीका तर्फदेखि सांसद थिए । पछि उनले रेडियो कार्यक्रम चलाउन थाले । केही दिनअघि कार्यक्रम प्रस्तोता मागलले तिनै बन्दीहरूको तस्बिर राखेर सन् १९६७ ताका बन्दी बनाइएका प्यालेस्टिनी बन्दीहरूसँग दाँजे । (त्यसबेलाका बन्दीहरूलाई लुगा खोल्न लगाइएको थिएन ।) पत्रकार मागलले लेखे, “इतिहास दोहोरिन्छ” । उनले अहिलेको तस्बिरलाई सन् १९४८ को नक्बा (विनाशलीला) र नाजी यातनागृहका तस्बिरसँग दाँजेको भए पनि फरक खान्थेन । मागलले अलि स्पष्ट लेखेनन् । खासमा “इतिहास पटकपटक दोहोरिन्छ ।”
भर्खरैमात्र मागलले बेइत लाहियाको उजाड सडकमा नाङ्गै बसालिएका केटा र युवाहरूको फोटो राखेर पुनः ट्वीट गरे । मागलको प्रश्न थियो, “यसमा महिलाको तस्बिर किन छैन ?”
मागलले एउटा भिडियो पनि साझा गरेका छन् । भिडियोमा गाजामा केही इजरायली सैनिकहरूले गीत गाउँदै नाचिरहेका छन् । मागलले जातिसंहारको स्तुति–गीत अनुमोदन गर्दै लेखे :
“आएको म गाजा कब्जा गर्न
हेजबल्लाको टाउकोमा हान्न
एउटै काम हो मेरो
अमालेकको जरो उखेल्ने
घर छोडेर आएँ म
नजितेसम्म फर्किन्न
जगजाहेर छ नारा हाम्रो
अन्जान कोही छैन ।”
यो कुनै गाउँले केटाकेटीको गीत होइन । यिनीहरू गाजामा सक्रिय इजरायली सैनिक हुन् । यिनीहरूमध्ये केहीले हाम्रो आँखै अगाडि आततायी जातिसंहार गरे । यिनीहरूले हाकाहाकी गरेको जातिसंहारको वाहवाही गर्नेहरूमा दक्षिणपन्थी अतिवादीहरू मात्र छैनन् । यो भावना सर्वत्र व्याप्त छ ।
यी घटनाक्रम केलाउन असमर्थ केही अभियन्ताहरूसँग म कुराकानी गर्दै छु । त्रासदी र आतङ्कको बाढी लागेको छ । मृतक सङ्ख्या सम्झिसाध्य छैन । राष्ट्रसङ्घका अधिकारीहरू इजरायली आक्रमण चालु गतिमा जनवरीको अन्त्यसम्म जारी रहने बताउँछन् । त्यसपछि इजरायलले ‘मन्दगतिमा, अझ स्थानीय शैली’ मा युद्ध जारी राख्ने उनीहरूको आकलन छ ।
सारा संसारले प्यालेस्टिनलाई नजिकबाट नियालिरहेको बेला यो जमाना पनि कसरी यति ठुलो आकारमा जातिसंहार हुनसक्छ ? सबैले आफूसित यो प्रश्न गर्दै छन् । यसको उत्तर पनि सबैले थाहा पाएका छन् । सारा संसारले युद्ध रोक्नलाई केही गर्नुभन्दा पनि हात बाँधेर हेरिरहेका छन् । त्यसैले जातिसंहार जातिसंहार चालु छ । यो नरसंहार कहिले रोकिएला ? उत्तर हामीसँगै छ ।
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply