भर्खरै :

विदेशीको आडभरोसामा देश समृद्ध नहुने

कुनै देश धनी होस् या गरिब, सानो होस् या ठुलो, विकासशील होस् या विकसित स्वाधीन र सार्वभौम हुन्छन्, हुनुपर्छ । स्वाधीन र सार्वभौम देशहरु विदेशी शक्ति राष्ट्रको उठबस या इसारामा चल्दैनन्† आफ्नो देश र जनताको हितभन्दा विदेशी शक्ति राष्ट्रहरूको स्वार्थ पूरा गर्न अघि सर्दैनन् । विदेशी शक्ति राष्ट्रहरूको स्वार्थ पूरा गर्न लाग्ने देशले प्रगति गर्दैन; मुलुक समृद्ध बनाउँदैन । विस्तारवादी देश भारतको उठबसमा चलेको नेपाल सरकार केही दशकदेखि स्पष्टसँग साम्राज्यवादी देश अमेरिकाको पछि लागेर उसको स्वार्थ पूरा गर्न पनि अघि स¥यो । विगतमा विस्तारवादी देश भारतले नेपाल सरकारलाई कहिले आर्थिक सहयोग त कहिले विकास योजनाको लोभ देखाएर नेपालको नदीनाला हातमा लियो, नेपाली भूमि मिच्यो, नेपाली भूमि डुवानमा पर्ने गरी अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत एकतर्फीरूपमा बाँध तथा तटबन्ध बनायो । यसबाहेक नेपाल र नेपालीको अहितमा आफ्नो स्वार्थ पूरा गर्न भारत सरकारले नेपाल सरकारसँग अनेक असमान सन्धि सम्झौता ग¥यो । जहिलेसम्म देश साम्राज्यवादी र विस्तारवादी अदृश्य शक्तिको चङ्गुलमा फसिरहन्छ तहिलेसम्म नेपाल न स्वाधीन हुन्छ न त सार्वभौम नै हुन्छ ।
नेपालको संविधानमा लेखिएको छ, नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय मानिएको छ । राष्ट्रहित प्रतिकूलको आचरण र कार्य सङ्घीय कानुनबमोजिम दण्डनीय हुनेछ भनिएको छ । तर, सरकारले न सिमाना सुरक्षा गरेको छ न त देशको आर्थिक समुन्नति र समृद्धिको निम्ति राष्ट्रिय हितका आधारभूत काम नै गरेको छ । बरु सरकार आफैँले राष्ट्रहित प्रतिकूल काम गरेको छ । देशको सार्वभौमसत्ता नेपाली जनतामा निहित नभएको हुँदा राजनीति, प्रजातन्त्र, स्वतन्त्रता र स्वाभिमान निष्प्रभावी भएका छन् । कुनै देशले ल्याएको योजना, सन्धि सम्झौता आफ्नो देशको हितमा छ कि छैन हेर्दै नहेरी आर्थिक सहयोग, आर्थिक अनुदान या विकासको लोभमा नेपाल सरकार फस्नु हुँदैन । सत्तासीन दलका नेताहरू गम्भीर तथा दूरदर्शी भएनन् भने अरुले फसाउँछ, फसाइरहेको छ । सरकार, नेता र मन्त्रीहरूको अदूरदर्शिताले नेपाल फसिरहेको हो ।
देश विदेशी शक्ति राष्ट्रबाट सञ्चालन हुनुहुँदैन । देशको राजनीति अन्यत्रबाट सञ्चालित भयो या अदृश्य शक्तिबाट सञ्चालित भयो भने देशको लागि आवश्यक आधारभूत तत्व कसरी तयारी हुन्छ ? अरु देशको स्वार्थ पूरा गर्न अघि बढ्ने सरकार र सत्तासीन नेताहरूले कसरी देश विकास गर्लान् ? तर, विडम्बना ! सरकार या सत्तासीन दलका नेता र मन्त्रीहरू विदेशीहरूको स्वार्थ पूरा गर्न लागे । यसले विस्तारवादी र साम्राज्यवादी शक्ति राष्ट्रका नायकहरू खुसी भए पनि नेपाल परनिर्भर भइरह्यो र नेपाली जनताले दुःख पाइरहे । विदेशीको आडभरोसामा सत्तासीन दलहरू बसेकाले समृद्ध नेपाल बनाउने आधार कुनै पनि सरकारले बनाएन । फलतः नेपाल पछि प¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *